images
images

कन्काई पुलः १३ वर्षमा पाँच पटक ठेक्काको म्याद थपियो, आधा काम

कन्काई पुलः १३ वर्षमा पाँच पटक ठेक्काको म्याद थपियो, आधा काम

शुक्रवार, माघ ४ २०८१
शुक्रवार, माघ ४ २०८१
  • कन्काई पुलः १३ वर्षमा पाँच पटक ठेक्काको म्याद थपियो, आधा काम
    images
    images

    झापा गाउँपालिका वडा नंं २ र गौरीगञ्ज गाउँपालिका वडा नं १ जोड्न कन्कार्ई पुलको निर्माण विगत १३ वर्षदेखि अलपत्र छ ।  हुलाकी राजमार्गको पूर्वी खण्ड झापा जिल्ला अन्तर्गत पर्ने उक्त पुल निर्माणका लागि पाँच पटक म्याद थपिसक्यो अझै कहिले निर्माण सम्पन्न हुने हो थाहा छैन ।  

    विसं २०६८ मा निर्माण सम्झौता भएको  थियो । पुल हालसम्म पनि नबन्दा यहाँका स्थानीय बासिन्दाले सास्ती बेहोर्न परेको छ । 

    यो पुल निर्माण सम्पन्न भएको भए झापा जिल्ला कोशी प्रदेश राजधानी विराटनगरबीचको यातायात सहज हुने थियो ।

    यो पुल निर्माण सम्पन्न नहुँदा यस क्षेत्रको व्यापार व्यवसाय तथा पर्यटन प्रवद्र्धनमा समेत असर परेको छ।  

    पाँच पटकसम्म ठेक्काको म्याद थप

    हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय इटहरीका अनुसार २०६८ जेठ ३० गते चार वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीलाई ठेक्का दिएको थियो । 

    २०७२ को जेठ २९ मा काम सक्नुपर्ने समयसीमा तोकिएको भए पनि, हालसम्म पुलको ५८ प्रतिशत भौतिक प्रगति भएको छ ।  

    पाँच पटकसम्म ठेक्काको म्याद थप गरिए पनि निर्माणमा गति आउन नसकेको कार्यालयका सूचना अधिकारी समेत रहनुभएका इञ्जिनियर प्रभात किरण राईले जानकारी दिए । उहाँका अनुसार पाँचौँ पटक थप भएको म्याद २०८० सालको असारमा सकिएको थियो ।  

     ठेकेदारको लापरवाही चरम

    पुल निर्माणको काममा प्राविधिक त्रुटि देखिएपछि कार्यालयको अनुरोधमा पुल्चोक इञ्जिनियरिङ क्याम्पसको विशेषज्ञ टोलीले अध्ययन गरी सुझावसहितको प्रतिवेदन बुझाएको छ । प्रतिवेदन अनुसार देखिएका समस्याको समाधान गरी काम अगाडि बढाउन पटक–पटक निर्देशन दिइए पनि निर्माण कम्पनी काम सुरुआत नगरेको इञ्जिनियर राईले बताए।


     उनका अनुसार अझै पनि काम सुरु गर्न आनाकानी गरिराख्ने हो भने ठेक्का रद्द गरी नयाँ प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ । 
    स्थानीय समस्यामा पटक–पटक मुख्यमन्त्री, निर्माण व्यवसायीलगायत सम्बन्धित क्षेत्रमा पहल गर्दा कुनै सुनुवाइ नभएको सोही क्षेत्रबाट कोशी प्रदेशसभा सदस्य लखीकुमारी गणेशले बताइन्।


     ठेक्का प्रक्रिाया रोकी पुनः ठेक्का प्रक्रिया


     “लागत अनुमान अनुसार पुल निर्माणको काम नभएकाले अहिले आएर काम रोकिएको भन्ने बुझिएको छ”, उनले भनिन्, “अहिलेको ठेक्का प्रक्रिाया रोकी पुनः ठेक्का प्रक्रिया अगाडि बढाउँदै अझै धेरै समय लाग्ने हुँदा पुरानोबाट नै लागत अनुमानअनुसार काम गराई पुल निर्माण सम्पन्न गर्नुपर्छ ।”
     
    विगत १३ वर्षमा थुप्रै सरकारका निर्माण भए, प्रधानमन्त्री भए, मन्त्री भए तर चार वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने पुल निर्माणको काम अझै पूरा हुन नसकेकोमा गौरीगञ्ज–१ का स्थानीय टङ्कप्रसाद श्रेष्ठले दुःख व्यक्त गरे। 

    पुल बन्दाबन्दै के कारण विगत एक वर्षदेखि रोकिएको हो थाहा जानकारी नै नभएको झापा गाउँपालिका वडा नंं २ का वडाध्यक्ष हिमालकुमार चाम्लागाईले बताए ।

     “यो पुल निर्माण सम्पन्न गर्न पटक–पटक सम्बन्धित निकायलाई अनुरोध गर्दा समेत सुुनुवाइ हुन सकेको छैन”, उनले भने, “दैनिक हजारौँले आवतजावत गर्ने हुलाकी सडकमा यो पुल छिटो बनेमा सेवाग्राही लाभाविन्वत हुनेछन् ।”
     
    लामो समयसम्म पनि कन्काई नदीमाथि पुल निर्माण सम्पन्न नभएपछि यहाँबाट आवतजावत गर्ने मानिसहरु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । 

    गौरीगञ्ज गाउँपालिकाले बर्खायाममा डुङ्गा सञ्चालनका लागि दुई लाख ३० हजारमा ठेक्का दिएको वडा नं १ का वडाध्यक्ष कार्तिकलाल राजवंशीले बताए। 

    उनका अनुसार उक्त ठेक्का लिने व्यक्तिले नै आफ्नै पहलमा हिउँद याममा बाँसको पुल निर्माण गरी मोटरसाइकल तथा पैदलयात्री तार्ने काम भइरहेको छ । 

    उक्त ठेक्का लिएका ईश्वर माझीका अनुसार कन्काई नदी तार्न बनाइएको उक्त पुल तार्न मोटरसाइकललाई एकतर्फी रु ५० र पैदल यात्रीलाई रु २० लाग्ने गरेको छ । 

    यात्रालाई सहज बनाउन पुल निर्माण गरी सेवा दिइरहेको माझीले बताए । यो बाटो भई यात्रा गर्ने पैदलयात्री तथा मोटरसाइकल यात्रीले शुल्क उठाउने विषयमा विरोध गर्दै आएका छन् । विरोध बढ्दै गएपछि गाउँपालिकाले वाँसको पुलमा यात्रा निःशुल्क गर्ने विषयमा संवाद भइरहेको गौरीगञ्ज–१ का अध्यक्ष राजवंशीले बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार