काठमाडौँ / नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वको टोलीले भारतको राजधानी नयाँ दिल्लीमा भारत सरकार, वाणिज्य विभागका सहसचिव विमल आनन्द र इन्जिनियरिङ्क एक्सपोर्ट प्रमोशन काउन्सिल अफ इण्डियाका (इइपिसी) राष्ट्रिय अध्यक्ष पंकज चड्डासँग छलफल गरेको छ । नेपाल र भारतको व्यापार सम्झौतालाई थप विस्तार र प्रभावकारी कसरी बनाउने भन्ने विषयमा शनिबार द्विपक्षीय छलफल भएको हो ।
अर्को चरणको छलफलको लागि दुबै पक्षले अर्को मिति तोकेर भारतको इइपिसीलाई नेपालमा निमन्त्रण गरिने छ । उक्त छलफलमा अटोमोवाइल कम्पोनेण्ट, अटोमोवाइल स्पेयर पार्टस र विद्युतिय सवारी साधनहरुका विषयमा छलफल गरिने छ ।
शुक्रबारदेखि मङ्गलबार (जनवरी १७ देखि २१)सम्म भारतको नयाँ दिल्लीमा आयोजना भईरहेको भारत मोविलिटी अन्तर्गत भइरहेको अटो प्रदर्शनीको सन्दर्भमा नाडा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरूको प्रतिनिधिमण्डल भारत भ्रमणमा रहेको छ ।
उक्त छलफलमा इन्जिनियरिङ्क एक्सपोर्ट प्रमोशन काउन्सिल अफ इण्डीयाका (इइपिसी) तर्फबाट पूर्व अध्यक्ष अरुण गारोडिया, सह निर्देशक पल्लवी साह, कार्यकारी निर्देशक तथा सचिव अधिप मित्रा र निर्देशक नीशिकान्त जुम्दा समेतको उपस्थिति रहेको थियो ।
त्यसैगरी नाडाकोतर्फबाट निवर्तमान अध्यक्ष डा. ध्रुव थापा, बरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, संस्थागत उपाध्यक्ष पुष्कर ओझा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल र सहकोषाध्यक्ष पंकज अग्रवाल समेतको उपस्थिति रहेको थियो ।