काठमाडौँ / राष्ट्रिय खोप कार्यक्रम तथा एच.पि.भी खोप अभियानका लागि अभिनेत्री मनिषा कोइरालालाई सद्भावना दूत घोषणा गरिएको छ ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमको आयोजना गर्दै कोइरालालाई सद्ववाना दूत घोषणा गरिएको हो ।
सोही क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले नेपालका महिलाहरू सबैभन्दा बढि पाठेघरको क्यान्सरले प्रभावित भएको भन्दै भावि पुस्तालाई यो समस्याबाट मुक्त बनाउनको लागि एच.पि.भी खोप उपलब्ध गराउने र देशव्यापी अभियानका रूपमा अगाडि लैजाने उद्देश्यले कार्यक्रमको सुरुवात गरेको बताए ।
उनले भने, “हामीले नेपाललाई सबै खाले क्यानसर मुक्त बनाउने अभियान कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर काम गरिरहेका छौँ । उपचारको क्षेत्रमा मात्र होईन रोकथामको क्षेत्रमा पनि काम गर्न जरुरी छ । नेपालका महिलाहरू सबैभन्दा बढि पाठेघरको क्यान्सरले प्रभावित भएको देखिन्छ । हाम्रो भावि पुस्ता यो समस्याबाट मुक्त होस् भनेर हामीले एच.पि.भी खोप उपलब्ध गराउने र देशव्यापी अभियानका रूपमा यसलाई अगाडि लानको लागि यो कार्यक्रमको सुरूवात गरेका हौँ ।”
यसको साथै, उनले नेपालमा ६ कक्षा देखि १० कक्षासम्ममा अध्ययनरत १६ लाख १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो खोप उपलब्ध गराउन लागेको पनि बताए ।
यस्तै, नायिका मनिषा कोइरालाले पनि आफै पनि क्यान्सरबाट निको भएको भन्दै क्यान्सरको रोकथाम गरेर ज्यान बचाउन सक्यौ भने एकदमै ठूलो काम हुने बताइन् ।
उनले भनिन्, “खोप किन आवश्यक हुन्छ र यसबाट के फाइदा हुन्छ भनेर भन्नको लागि म यसमा जोडिएको छु । किनभने म आफैँ पनि क्यान्सरबाट निको भएर आएको मान्छे हो । त्यसकारण स्वास्थ्य कति महत्त्वपूर्ण छ भन्ने कुरा मलाई थाहा छ । हामीले क्यान्सरको रोकथाम गरेर ज्यान बचाउन सक्यौँ भने यो एकदमै ठूलो कुरा हो ।”