चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै १ खर्ब ४ अर्ब ७६ करोड मूल्य बराबरको बराबरको डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्वाइन फ्युल (एटिएफ), मट्टितेल आयात भएको छ ।
गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा ८४ करोड बढीको पेट्रोलियम पदार्थ आयात भएको हो।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आवको पछिल्ला महिनामा पेट्रोलियम पदार्थको आयात र राजस्व दुवैमा वृद्धि भएको बताए ।
गत आवको सात महिनाको अवधिमा भने १ खर्ब ३ अर्ब ९२ करोड रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थको आयात भएको थियो ।
कार्यालयका अनुसार चालु आवको सात महिनाको अवधिमा सबैखालका पेट्रोलियम पदार्थको आयातबाट ४३ अर्ब ११ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
जबकी गत आवको सोही अवधिमा सबैखालको पेट्रोलियम पदार्थको आयातबाट ३८ अर्ब ६५ करोड राजस्व सङ्कलन भएको थियो ।
चालु आवको सात महिनामा ५१ अर्ब ७९ करोड बराबरको ५ लाख ८१ ७९९ किलोलिटर डिजेल आयातबाट २३ अर्ब १० करोड राजस्व सङ्कलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
त्यस्तै चालु आवको ७ महिनामा २२ अर्ब १४ करोड मूल्य बराबरको २ लाख ५५ हजार ५४२ किलोलिटर पेट्रोल आयात हुँदा १४ अर्ब ४९ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
चालु आवको सात महिनाको अवधिमा २० अर्ब ९० करोड रुपैयाँ मूल्य बराबरको १८ करोड २९ लाख ९४ हजार ६२४ किलोग्राम एलपिजी आयात भएको छ ।
सो आयात हुँदा ३ अर्ब ९१ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।