काठमाडौं/ नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पुरानो पार्टीहरु कमजोर हुदाँ राजावादी शक्तिहरुले टाउको उठाइरहेको बताएका छन् ।
बुधवार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले नयाँ युगको नयाँ कार्यभार ः वैकल्पिक राजनीतिको औचित्य र आधार विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले कांग्रेस, एमाले, माओवादी सत्तामा हुँदा सबै ठिक भन्ने प्रवृत्तिले गर्दा यसैको लाभ लिएर राजावादी शक्तिहरुले टाउको उठाइरहेको बताए ।
‘पुरानो शक्तिहरु यथास्थितीवादी भए खासगरी कांग्रेस, एमाले, माओवादी सबै सत्तामा भइरहदा सबै ठिक छ भन्ने त्यो त संसदीय खेल मात्र हो । उहाँहरुले अब समस्याहरु हल गरेर जान सक्नुहुन्न । यसैको लाभ लिएर राजावादी शक्तिहरुले टाउको उठाइरहेका छन्,’ उनले भने ।
उनले नेपालको राजनीतिक जटिल भएको भन्दै यस्तो समयमा छिमेकी मुलुकहरुले पनि आफ्नो प्रभुत्व देखाउन सक्ने बताए । उनले अब समयमा नै वैकल्पिक शिक्तिको निमार्ण गरेर देशलाई विकल्प दिनुपर्ने बताए ।
उनले भने, ‘युवाहरुमा बेरोजगारी बढेको छ असन्तुष्टी बढेको छ, दलहरु भष्ट्रचारमा चुर्लुम्भ डुबेर आशा जगाउन सकेका छैनन् । यस्तो असन्तुष्टीलाई प्रयोग गरेर आफ्नो स्वार्थ पूर्ती गर्ने शक्तिहरु क्रियाशिल छन् । हामीले राम्रो ढङगले वैकल्पिक शिक्तिको वेलैमा निर्माण गरेर देशलाई विकल्प दिन सकेनौ भने देश फेरी गम्भिर अवस्थामा जाने म खतरा देख्छु ।’
यस्तै, उक्त क्रार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले आर्थिक विकासको मोडालिटि नभएको बताए । उनले जनताले मौलिक अधिकार पनि नपाएको बताए ।
उनले भने, ‘आर्थिक प्रणालीको पुर्नसंरचना के गर्दा हुन्छ त्यो चाइएको छ हामीलाई । असन्तुष्टी यसै कारण छ हामीले संविधानमा लेखिसक्यौ हामीले स्वास्थ्य शिक्षा, रोजगार, खाद्य, आवासको अधिकार मौलिक अधिकार त्यो कुरा जनताले पाउनु पर्दैन । त्यो दिनको लागि आर्थिक विकास गर्नु पर्ने थियो । त्यो विकासको मोडालिटि खै ?’
उनले अहिले नेताहरु पुरानो ब्युरोकेसीमा चलेको बताए ।