काठमाडौँ / नेपाल व्यायाम मन्दिरले १७औँ धर्मश्री राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । यही चैत ७, ८ र ९ गते हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले जानकारी दिएका हुन् ।
धर्मश्री प्रतियोगितालाई निरन्तरता दिन धर्मश्री शारीरिक सुगठन, पूर्वमेयर पिएलसिंह मेन्स फिजिक्स एक सय ७० सिएम ओभर अन्डर राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिता तथा वुमेन्स वडिविल्डिङ ओपन र ५० वर्षभन्दा माथिका खुला मास्टर शारीरिक सुगठन प्रतियोगिता गर्न लागेको पनि आयोजकले जनाएको छ ।
प्रज्ञाभवन कमलादीमा हुने प्रतियोगितामा देशभरबाट ६०० जना खेलाडीको सहभागिता रहने छ । एक करोड रुपैयाँ लगानीमा सञ्चालन हुने प्रतियोगितामा विभिन्न विधाका खेलाडीलाई पुरस्कार राशी मात्र ५२ लाख रुपैयाँ राखिएको छ ।
प्रतियोगितालाई काठमाडौँ महानगरपालिकाले ५० लाख रुपैयाँ प्रायोजन सहयोग गरेको अध्यक्ष प्रधानले जानकारी दिए ।
फाइनल चरणको खेल चैत ९ गते हुनेछ । फाइनलमा धर्मश्री उपाधि विजेताले १२ लाख रुपियाँसहित ११ किलोको ट्रफी पुरस्कार प्राप्त गर्ने छ ।
यस्तै उपविजेतालाई ६ लाख र तेस्रो हुनेलाई तीन लाख रुपैयाँ प्रदान गरिने छ । प्रत्येक विधामा शीर्ष ६ मा रहने खेलाडीलाई आकर्षक नगद पुरस्कार राखिएको छ ।
शहीद धर्मभक्त माथेमाको स्मृतिमा २०४२ साल देखि सञ्चालन हुँदै आएको धर्मश्री नेपालकै प्रतिष्ठित र कठिन शारीरिक सुगठन प्रतियोगिता हो ।