काठमाडौँ / नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा नारद लुईंटेल नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लुईंटेललाई नेप्सेको सिइओमा नियुक्त गरेको हो ।
सरकारले नेप्सेका प्रमुख कार्यकारी अधिकृतको पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्न तीन सदस्यीय समिति गठन गरेको थियो। उक्त पदको संक्षिप्त सूचीमा छानिएका ५ जनालाई चैत ६ गते बुधवार अन्तर्वार्ता र प्रस्तुतिका लागि बोलाइएको थियो।
सिइओका लागि आवेदन दिएका १० जनामध्ये संक्षिप्त सूचीमा ५ जना परेका हुन्। जसमा झापाका चुडामणि चापागाईं, सर्लाहीका नारद कुमार लुइँटेल, इलामका पूर्णबहादुर आचार्य, नुवाकोटका बद्रिप्रसाद प्याकुरेल र पाल्पाका हेमन्त बस्याल परेका थिए।
लुईंटेलले त्रिभुवन विश्वविद्यालयबाट वाणिज्य विषयमा स्नोतत्तर गरेका छन् । पर्यटन व्यवसाय र अध्यापनमा संलग्न उनी पछिल्लोपटक पर्यटन मन्त्रालयअन्तर्गतको तारागाउँ विकास समितिको अध्यक्षका रूपमा कार्यरत थिए ।