हेटौँडा / पाँच दिनको अवलोकन भ्रमण सकेर घर फर्कदैँ गर्दा बस दुर्घटनामा परेर घाइते भएका भीमफेदी गाउँपालिकाका एक कर्मचारी घरमा मृत भेटिएका छन् ।
यही चैत २२ गते शुक्रबार धरान, धनकुटा, कन्यामलगायतका स्थानहरूको अवलोकनका लागि निस्किएको गाउँपालिकाको टोली भ्रमण गरेर बुधबार (हिजो) राति मकवानपुरको भीमफेदी फर्कने क्रममा धरान–चतरा सडकखण्डमा दुर्घटनामा परेको थियो ।
मकवानपुरको बकैया गाउँपालिका–३, चिसापानीमा आइपुगेपछि उक्त टोली सवार बागमती प्रदेश ०६–००१ ख ०२७० नम्बरको बस ओरालोमा चिप्लिएर दुर्घटना भएको थियो । बसमा सवार ३१ जनामध्ये २३ जना घाइते भएका थिए । तिनै घाइतेमध्येका एक थिए, भीमफेदी गाउँपालिकाको पशु विकास शाखाका प्राविधिक विमल ढुंगाना ।
विगत पाँच वर्षदेखि भीमफेदी गाउँपालिकाको पशु शाखा प्राविधिकको रूपमा कार्यरत ढुंगाना पनि गाउँपालिकाको अवलोकन भ्रमणमा निस्किएका थिए । पालिकाको कृषि तथा पशु शाखाको भ्रमण भएका कारण शाखाका कर्मचारी, किसानहरू र केही जनप्रतिनिधि पनि भ्रमणमा थिए । शुक्रबार बिहान गाउँपालिकाबाट निस्किएको टोली मंगलबार नै आइपुग्ने योजनामा थियो ।
तर, उनीहरू सवार बस बाटोमा बिग्रिने, टायर पञ्चर हुनेजस्ता समस्या देखिएपछि फर्कन एक दिन ढिलो भएको थियो । पशु शाखाको व्यवस्थापनमा आयोजना गरिएको अवलोकन भ्रमणको जिम्मा पशु शाखा प्रमुख सरोज ओझाको थियो । सवारीसम्बन्धी कुराहरू थाहा हुने भन्दै प्रमुख ओझाले विमललाई बस रिजर्भ गर्ने जिम्मेवारी थमाएका थिए ।
सोहीअनुरुप विमलले नै रिजर्भ गरेको बसमा पालिकाको टोली भ्रमणमा निकिस्यो । चार दिन कन्यामदेखि धनकुटासम्म घुमेका उनीहरू बुधबार दिउँसो २ बजे गाईघाट आइपुगेका थिए । भीमफेदी गाउँपालिका–२ का वडाध्यक्ष काशीराम बज्युका अनुसार दिउँसो गाईघाटमा खाना खाएपछि मकवानपुर फर्कनका लागि बाटो लागे । साँझ सिन्धुली आइपुगेपछि खाजा खाएर निस्किएका उनीहरू बीच बाटोमै दुर्घटनामा परे ।
दुर्घटनामा केही घाइतेको अवस्था गम्भीर रहेपनि धेरैको अवस्था मध्यमदेखि सामान्य छ । पशु प्राविधिक विमलको अवस्था पनि सामान्य नै थियो । दुर्घटनापछि उपचारका लागि हेटौंडा अस्पताल ल्याइएका उनी सामान्य उपचारपछि बिहीबार (आज) बिहान ३ बजेतिर डिस्चार्ज भए ।
हेटौंडा–१८, हर्नामाडी घर भएका उनी कहिले हर्नामाडी जाने भन्दै थिए त कहिले भीमफेदी नै जाने भन्दै दोमन गरिरहेका थिए । सँगै भ्रमणमा गएका सोही शाखामा कार्यरत रुविन घर्तीका अनुसार, विमलले भीमफेदी जाने भनेपछि सँगै डिस्चार्ज भएका कर्मचारीहरूले पनि सँगै जाने प्रस्ताव राखेका थिए ।
तर उनी कसैलाई नभनी निस्किएकोमा हेटौंडा–२ स्थित संगमचोकतिर हिँडिरहेको भन्ने खबर पाएपछि भीमफेदी गाउँपालिका–९ का वडासदस्य उदयप्रसाद कटुवालको घरमा गएर बस्न सुझाव दिएको रुविनले बताए ।
आफूहरू भने बजारतिरै साथीको कोठामा सुतेको उनको भनाइ छ । वडासदस्य हटुवालले हेटौंडा–११, नवलपुरमा रहेको आफ्नो घरमा बिहानीपख विमललाई लिएर गएका थिए । बिहान अबेरसम्म पनि नउठेपछि थकाइ लागेर सुतिरहेका होलान् भन्ने लागेर घरका मान्छेले त्यति वास्ता गरेनन् । घरको दोस्रो तल्लामा छुट्टै कोठामा सुतेका विमल निकैबेरसम्म पनि नउठेपछि वडासदस्य कटुवालले ढोका ढकढक्याउँदै बोलाए। तर, भित्रबाट कुनै चालचुल भएन ।
भित्र सुनासान नै भएपछि उनले झ्यालबाट चिह्याएर विमल सुतेको कोठामा हेर्दा पंखामा झुण्डिएको अवस्थामा देखे । केहीबेरको हो–हल्लापछि प्रहरी घटनास्थल आइपुग्यो । उनी सुतेको कोठाको ढोका फुटाएर हेर्दा घाँटीमा पासो लगाएर आत्महत्या गरेको अवस्थामा विमल फेला परे । उनी सुतेको कोठामा रहेको कपडा राख्ने दराजबाट टाई र खादा लगायतका सामग्री निकालेर डोरी बनाएर झुण्डिएको मकवानपुर प्रहरीले जनाएको छ ।
घटनास्थलमा चुँडिएको अवस्थामा पेटीसमेत भेटिएको छ । उनले लगाएको पेटीले पासो लगाउने प्रयास गर्दा चुँडिएपछि खादा र टाई जोडेर डोरी बनाएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । दुर्घटनाबाट ज्यान जोगिएर नयाँ जीवन पाएका उनले किन आत्महत्या गरे होलान् ? परिवार र शुभचिन्तक सबैले अहिले प्रश्न गरिरहेका छन् ।
विमलका छिमेकीका अनुसार भ्रमणमा रिजर्भ गरेर लगिएको बस विमलकै थियो । उनले त्यो बस कहिले किने भन्ने यसभन्दा अघि थाहा नभए पनि घटनापछि उनकै बस रहेछ भन्ने थाहा पाएको उनका एक छिमेकीको भनाइ छ ।
उनले भने, ‘पहिला एउटा स्कारपियो गाडी थियो । सानो एउटा भ्यानजस्तो गाडी पनि थियो । उसले चढ्नेभन्दा पनि भाडामा लगाउँथ्यो क्या र । पछिल्लो समय स्कारपियो बेचेर बस किन्ने भनेको सुनेको थिएँ। किनिसकेका रहेछन् । अहिले दुर्घटना भएपछि पो थाहा भयो ।’
विमल सोही दुर्घटनाकै कारण आत्महत्या गर्ने स्थितिमा पुगेको हुनसक्ने आफन्तहरूले अनुमान गरेका छन् । आफ्नै सवारी क्षति भयो । घाइतेहरूको उपचार गराउनेदेखि मृत्यु भयो भने के गर्ने भन्ने चिन्ता सहन नसकेको हुन सक्ने हेटौँडा अस्पतालमा पोस्टमार्टम रिपोर्ट कुरेर बसिरहेका छिमेकीहरू बताउँछन् ।
यता, सँगै भ्रमणमा गएका साथीहरूले समेत विमलको बस हो भन्ने थाहा पाएका थिएनन् । ‘आफू सामान्य घाइते भए पनि बसमा सवार घाइतेहरूको अवस्थाले विक्षिप्त बनेका देखिनुहुन्थ्यो,’ सँगै भ्रमण गरेर फर्किएका सोही गाउँपालिकाका कृषि प्राविधिक सुदीप पराजुलीले भने, ‘उहाँ निकै अत्तालिएको अवस्था हुनुहन्थ्यो । हामी सबैजना डराएका थियौँ । त्यसैले पनि त्यति ख्याल गरिएन । आज यस्तो घटना सुनेपछि पो उहाँको बस रहेछ भन्ने थाहा पायौँ । त्यतिका दिन भ्रमणमा रहँदा पनि उहाँले कहिल्यै आफ्नो बस भन्नुभएन ।’
विश्वनाथ ढुंगाना र सत्यवती ढुंगानाका कान्छा छोरा हुन् विमल । उनी अविवाहित हुन् । उनका दाइ कामको सिलसिलामा जिल्ला बाहिर छन् । हाल उनको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।