images
images

कर्णाली सरकारका उपलब्धि सार्वजनिक, डीपीआर खर्चमा हुने बेथिति रोक्न सफल भएको मुख्यमन्त्रीको दाबी

कर्णाली सरकारका उपलब्धि सार्वजनिक, डीपीआर खर्चमा हुने बेथिति रोक्न सफल भएको मुख्यमन्त्रीको दाबी

बिहिवार, चैत २८ २०८१
बिहिवार, चैत २८ २०८१
  • कर्णाली सरकारका उपलब्धि सार्वजनिक, डीपीआर खर्चमा हुने बेथिति रोक्न सफल भएको मुख्यमन्त्रीको दाबी
    images
    images
    images
    images

    सुर्खेत / कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले एक बर्षको आफ्नो सरकारका उपलब्धि सार्वजनिक गरेका छन् । कर्णाली प्रदेश सरकार गठन भएको एक बर्षको अवधिमा बिकास निर्माण, कानून निर्माण तथा सुशासनको क्षेत्रमा उल्लेख्य प्रगति गरेको मुख्यमन्त्री कँडेलले दावी गरे । 

    माओवादी केन्द्रको सहयोगमा २७ चैत २०८० मा मुख्यमन्त्री बनेका उनले २०८१ साउनमै सत्ता साझेदार दल फेर्नुपर्ने बाध्यता भए पनि अघिल्लै साझेदारसँगको बजेट कार्यान्वयन गरिरहेका छन् । कर्णालीमा योजनाको कमी नरहेपनि सोच र शैली बदल्न नसक्दा बेथिति बढेको उनी बारम्बार बताउँदै आएका थिए । 

    विकास माग्ने, खाने परिपाटीको अन्त्य गर्नुपर्ने भन्दै उनले आवश्यकताका आधार बजेट विनियोजनलाई जोड दिए । आफ्नो त्यही सोच र शैलीलाई स्थापित गर्न उनले केही कानुनी आधार तय गरेको दावी मुख्यमन्त्रीको छ । 

    आफ्नो नेतृत्वको सरकारले कानुन निर्माणलाई प्राथमिकतामा राखेको भन्दै मुख्यमन्त्री कँडेलले प्रदेश प्रहरी, प्रदेश निजामति सेवा, स्थानीय सेवा, प्रदेश सवारी तथा यातायात, दलित सशक्तिकरण, वित्तीय उत्तरदायित्व, विद्युत्, विषादी तथा बिउबिजनसम्बन्धी विधेयकहरू प्रदेशसभाबाट पारित गराउनु सरकारको उपलब्धि भएको बताए ।
     
    हचुवाको भरमा बजेट र योजना वितरण गर्ने प्रवृत्तिलाई रोकेर योजना बैंकको अवधारणामार्फत योजनाको प्राथमिकीकरण गर्दै योजना छनोटको काम सरकारले थालेको उनको दावी छ । मनलाग्दी कोटेशन वितरण, स्रोत सुनिश्चितता बिनै डीपीआर खर्चमा हुने बेथिति रोक्न सफल भएकोलगायतका कामलाई उनले सरकारको उपलब्धि बताएका छन् । 

    आफ्नो पालामा कर्णाली प्रदेश सरकार चौथो स्थानमा परेको भन्दै वित्त आयोगले गर्ने प्रदेश सरकारको कार्य सम्पादन मूल्याङ्कनमा कर्णाली प्रदेश अघिल्लो वर्ष छैटौँ स्थानमा भएको बताए । 

    लेखापरीक्षण, बेरुजु, पुँजीगत बजेट विनियोजन तथा खर्च, राजस्व संकलनको लक्ष्य तथा प्राप्ति, स्थानीय तहलाई अनुदान समयमा वितरण, आय–व्ययको हिसाब निर्धारित मितिमा अर्थ मन्त्रालयमा पेस, बजेट कार्यान्वयनको अवस्थाबारे वार्षिक समीक्षालगायत सूचकका आधारमा प्रदेशको कार्यसम्पादन कर्णालीको अवस्था सुधार भएको उनले बताएका छन् । 

    प्रदेश सरकारको काम–कारबाही, स्थानीय तह, प्रदेश र संघीय निकायबीच हुनुपर्ने समझदारी एवं सहकार्यका विषयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका साथै जिल्ला–जिल्ला पुगेर सरोकारवालासँग छलफल, जिल्ला भ्रमणमा सर्वदलीय बैठक, कार्यालय प्रमुखहरूको बैठक, स्थानीय तहका जनप्रतिनिधिसँगको बेग्लाबेग्लै र सामूहिक बैठकमार्फत स्थानीय आवश्यकता र तीन तहका सरकारबीचको प्रभावकारी समन्वयलाई जोड दिएको उनले बताए । 

    विगतमा अलपत्र परेको मंगलगढी–लाटीकोइली सडक यसै वर्ष निर्माण सम्पन्न, बालुबा संग्रही खलंगा सडक, सल्लीबजार चौरजहारी सडक, बड्डीचौर खम्बा लगायत विगतमा अलपत्रका ७० प्रतिशत भन्दा बढी आयोजनाको काम सुचारु भएको तथा संघीय सरकारसँग समन्वय गरेर कर्णालीका ठूला आयोजनाहरू भेरी करिडोर र कर्णाली करिडोरमा आठ अर्बभन्दा बढी रकमको स्रोत सुनिश्चितता गर्नुका साथै हुम्लाको खार्पुनाथमा बेलिब्रिज निर्माणको कामलाई प्राथमिताका साथ थालिएको छ । 

    वीरेन्द्रनगरस्थित प्रदेश रंगशाला र आसपासको सडक निर्माण कार्य सम्पन्न, प्रदेश राजधानीमा सडक पूर्वाधारहरू बिस्तार, प्रदेश अस्पतालको स्तरोन्नति कार्य सकिएको  र एक वर्षको अवधिमा कर्णालीमा ९५ किमी कालोपत्रे, २०५ किमी ग्राभेल, २३ पक्की पुल, ४२ झोलुंगे पुल, ८ सार्वजनिक भवन निर्माण गरिएको मुख्यमन्त्रीले आफ्नो उपलब्धिमा राखेका छन् । 

    जनता आवास (संघतर्फ) ६६१, जनता आवास (प्रदेशतर्फ) २३१ र विपन्न घर १५६ वटा निर्माण गरिएका छन् । रणनीतिक महत्वका मूलपानी रानीघाट, ताल्चा रारा गमगढी, हुम्ला मानसरोवर प्रवेशद्वार, शेफोक्सोण्डो सडकको निर्माण कार्य सुरु गरिएको र गत बर्षको तुलनामा चालु आर्थिक बर्षमा बजेट कार्यान्वयन धेरै भएको उनको भनाई छ ।

    चालू आवको फागुन मसान्तसम्म १९ प्रतिशत विकास बजेट कार्यान्वयन भएको छ । जबकी अघिल्लो वर्ष यही अवधिमा १२ प्रतिशत पुँजीगत खर्च भएको थियो । ९० प्रतिशत योजना कार्यान्वयनमा गएकाले असार मसान्तसम्म अधिकांश आयोजनाले पूर्णता पाउने बताइएको छ ।

    जाजरकोट भूकम्पबाट प्रभावित जाजरकोट, रुकुमपश्चिम र सल्यानका विद्यालय र स्वास्थ्य चौकी पुनर्निर्माणको काम अघि बढेको, कर्णाली प्रदेशमा घर बिमा कार्यक्रम अन्तर्गत २० हजार घरधुरीको बिमा गर्न लागिएको उनले बताए । कर्णाली प्रदेशले दोस्रो पञ्चवर्षीय योजना निर्माणलगायतका कामहरू एक बर्षको उपलब्धी भएको मुख्यमन्त्रीले बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com