images
images

भाडा नबढाएसम्म बुकिङ नखुलाउने व्यवसायीको अडान, विकल्प खोज्ने पक्षमा सरकार

भाडा नबढाएसम्म बुकिङ नखुलाउने व्यवसायीको अडान, विकल्प खोज्ने पक्षमा सरकार

भाडा नबढाउने पक्षमा सरकार, तर नबढाएसम्म बुकिङ नखुलाउने व्यवसायीको अडान, सरकारको विकल्प कस्तो ?

बिहिवार, असोज १८ २०८०
बिहिवार, असोज १८ २०८०
  • भाडा नबढाएसम्म बुकिङ नखुलाउने व्यवसायीको अडान, विकल्प खोज्ने पक्षमा सरकार
    images
    images

    काठमाडौँ / नेपालीहरूको महान चाडपर्व दसैँ–तिहार र छठ नजिकिएसँगै सरकारले उपत्यकाबाट बाहिर जाने यात्रुलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ खुलाउने गर्दछ । तर यस बर्ष भने यातायात व्यवसायीहरुले चाडपर्वको मुखमा आएर सरकारसँग अग्रिम टिकट बुकिङ खुला गर्न अड्को थापेका छन् । 

    सरकार र व्यवसायीबीच भाडादर समायोजनको विषयमा सहमति जुट्न नसक्दा दसैँका लागि हुने सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्न सकेको छैन । घटस्थापना आउन अब १० दिन मात्रै बाँकी हुँदा पनि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला अन्योलमा परेको हो । यसपटकको दसैँको टीका कात्तिक ७ गते मंगलबार परेको छ भने, असोज २८ गते घटस्थापना छ । 

    सरकारले दशैं अगाडि भाडा वृद्धि नगरे अग्रिम टिकट नकाट्ने यातायात व्यवसायीहरुको अडान रहेको छ । देशभरका यात्रु घटस्थापनाबाट उपत्यका छाड्न थाल्छन् भने टिकापछि फेरी उपत्यका नै फर्किन सुरु गर्छन् । हरेक बर्षको दसैँमा करिब २० लाखभन्दा धेरैले उपत्यका छाड्ने गरेका छन् । 

    यस पटक सरकारले दसैँका लागि अग्रिम टिकट कहिलेबाट खोल्ने निधो नगर्दा सर्वसाधारण अलमलमा परेका छन् ।यता व्यवसायीहरूले सबै वस्तुको मूल्यवृद्धि भएको र सडकको अवस्था पनि नराम्रो भएको भन्दै दसैँमा सार्वजनिक गाडीको भाडा बढाउनुपर्ने अडान राखेका छन् । यस अघि सरकारले घटस्थापनाको १० दिनअघि अर्थात असोज तेस्रो साताबाट अग्रिम टिकट बुकिङ खुलाउने भनेको भएपनि आजसम्म पनि यसलाई टुंगोमा पुर्याउन भने सकेको छैन । 

    गत साताको शुक्रवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच भएको बैठकले अग्रिम टिकट बुकिङ खुलाउने भन्ने मिति तय गर्न सकेन । उक्त बैठकमा व्यवसायीले सडक मर्मत र भाडा समायोजनको मुख्य एजेन्डा राखेका थिए । यस्तै, उनीहरुले चैत मसान्तमा हुनुपर्ने सार्वजनिक यातायातको भाडा समायोजन अहिलेसम्म नभएको विषय बैठकको मुख्य एजेन्डा नै बनाएका थिए ।

    news.JPG

    भाडा बढाउन व्यवसायीको चर्को दबाब

    दशैँ नजिकिएसँगै शहरमा रहेका मानिसहरुले गाउँ फर्कने तरखर गरिरहेका छन् । तर, यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ खोल्न नमान्दा आजसम्म पनि अग्रिम टिकट बुकिङ खुल्न सकेको छैन ।

    यातायात व्यवसायीले भाडा बढाएपछि मात्रै दशैंका लागि अग्रिम बुकिङ खोल्नु पर्ने अडान राख्दै आएका छन् । यातायात व्यवस्था विभागसँग व्यवसायीहरुले अहिले बैंकको ब्याजदर बढेकोले भाडा पनि बढ्नु पर्ने र त्यसपछि मात्रै अग्रिम टिकट बुकिङ खोल्नु पर्ने बताइरहेका छन् ।

    प्रत्येक वर्ष चैतमा भाडा समायोजन गर्ने विषयमा सरकारले निर्णय गरे पनि त्यसलाई कार्यान्वयन नगरिएको व्यवसायीको भनाइ छ । अहिले सो विषय कार्यान्वयन गर्नु पर्ने माग उनीहरूको छ ।

    यता व्यवसायीहरूको अनुसार विगत दुई वर्षयता सार्वजनिक भाडाको दर समायोजन हुन सकेको छैन । हरेक वर्ष चैत मसान्तभित्र सार्वजनिक यातायातको भाडा समायोजन गर्नुपर्छ । तर, असार ०७८ यता त्योअनुसार भाडा समायोजन नभएको व्यवसायीहरूले गुनासो गरेका छन् । 

    यस्तै, यातायात व्यवस्था विभागका अनुसार पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशतभन्दा बढीले वृद्धि भए वा घटे वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार स्वचालित रूपमा भाडा बढ्ने–घट्ने व्यवस्था छ । यसअनुसार गत साउन ३१ मा अन्तरप्रदेश भाडा समायोजन भइसकेको छ ।

    सार्वजनिक यातायातको मात्र भर नपर्ने– सरकार

    यसपटक यातायातमन्त्री र विभाग दशैंतिहार अगाडि भाडा वृद्धि गर्ने पक्षमा छैनन् । सरकार सर्वसाधारणलाई मारमा पर्ने गरी चाडपर्वको मुखमा भाडा वृद्धि गर्न तयार नरहेको जनाएको छ । यता व्यवसायीहरु भने चडपर्वको मुखमै सरकारलाई अप्ठेरोमा पारेर भाडा बढाएरै छाड्ने पक्षमा छन् ।

    गत बुधबार बसेको पूर्वाधार विकास समितिको बैठकले चाडवाड विशेष सार्वजनिक यातायातलाई बढीभन्दा बढी भरपर्दो र सुरक्षित बनाउन सरकारका विभिन्न निकायमा रहेका सवारी साधनहरुलाई प्रयोग गर्न गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिने निर्णयसमेत गरेको छ ।

    उक्त बैठकमा यातायात मन्त्री प्रकाश ज्वालाले मुख्य चाडपर्वको मुखमा आएर सार्वजनिक यातायातको भाडा बढाउन नसकिने बताएका छन् । दशैं तिहारका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ला गर्नुपर्ने भए पनि यातायात व्यवसायीहरू भाडा बढाउन लागिपरेको बताउँदै मन्त्री ज्वालाले मुख्य चाडपर्वको मुखमा भाडा बढाउन नसकिने प्रष्ट पारेका हुन् । 

    उनले भने– ‘दसैं–तिहार, छठजस्ता मुख्य चाडपर्वमा गाउँघर जाने सर्वसाधारणका लागि कसरी सुरक्षित र भरपर्दो यात्रा गराउने भन्नेमा सरकार गम्भीर छ। सडक सुरक्षालाई नै लिएर मन्त्रालयले दसैंअघि नै मुख्य–मुख्य राजमार्ग मर्मत अघि बढाएको छ। सहज यात्राका लागि दसैं–तिहारको अग्रिम टिकट बुकिङका लागि समेत मन्त्रालयले यातायात व्यवस्था विभागसँगको समन्वयमा यातायात व्यवसायीसँग नियमित बैठक, तयारी गरिरहेको छ। तर, यातायात व्यवसायीले भाडा वृद्धि गर्नुपर्ने माग राखिरहेका छन्। हुँदैन भनेको छु’, ।

    दसैँ तिहारकै लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ला गर्न यातायात व्यवसायीसँग विभागले समन्वय गरिरहेको मन्त्री ज्वालाले बताए । यस्तै, बैठकमा यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले यातायात व्यवसायीले भाडा वृद्धिको माग राखेकाले अग्रिम टिकट बुकिङ खुला गर्न रोकिएको बताएका थिए । 

    उनले भने, ‘यातायात व्यवसायी चाडपर्वको बेलामै भाडा वृद्धि गर्नुपर्‍यो भनिरहनुभएको छ । तर, चाडपर्वको बेला कसरी भाडा वृद्धि गर्न सकिन्छ ? हामीले व्यवसायीलाई दशैंतिहारपछि माग सम्बोधन गरौंला भनिरहेका छौं । हामीले विद्यालय, कलेजको बसमा पनि यात्रुलाई दशैंमा घर पठाउन छलफल गरिरहेका छौं । एउटै रुट भएकाहरुलाई कलेज वा स्कुलको बसले पनि गाउँ पुर्‍याउन लगाउने विषयमा छलफल भइरहेको छ ।’

    सरकारले चाहेको खण्डमा आवश्यकताका आधारमा सेना, प्रहरी, निजामती कर्मचारीले प्रयोग गर्ने गाडीहरुसँगै स्कुल कलेजका सवारी साधनहरु समेत दसैँ–तिहारको यात्राका लागि प्रयोग गराउन सकिने उनको भनाइ छ ।

    चाडपर्व लक्षित सडक मर्मतका लागि सरकारसँग बजेट अभाव छः मन्त्री ज्वाला

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले चाडपर्व लक्षित सडक मर्मत, सम्भारका लागि बजेटको अभाव रहेको बताएका छन् । बुधबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा उनले दसैंलगायतका चाडपर्व अघि नै सडक र यातायात क्षेत्रको उचित व्यवस्थापनका गर्नका लागि प्रक्रियागत झमेला समेत रहेको बताए ।

    news.JPG

    ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय चाडपर्व लक्षित यातायात व्यवस्था सहजीकरण र सडक मर्मत सम्भारका लागि गम्भीर छ । अब बजेटको अभाव छ । यहाँहरुलाई जानकारी छ । अब बजेटको अभावले भनेजस्तो नहुन पनि सक्छ’ उनले भने, ‘ प्रक्रियागत झमेलाहरु पनि छन् । तर भएका स्रोतलाई अत्याधिक प्रयोग गरेर सडक मर्मत गर्ने कुरा, खाल्डाखुल्डी व्यवस्थापन गर्ने कुरा र यातायात सहज गर्ने कुरामा मन्त्रालय गम्भीर छ । दसैंअगाडि चाहीँ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत पर्ने सडकहरुका खाल्डाखुल्डी हामीले व्यवस्थित गरिसक्छौं ।’

    उक्त बैठकमा मन्त्री ज्वालाले दसैंका लागि अग्रिम बुकिङ खुला गर्ने तथा जथाभावी भाडा लिएर यात्रुहरुलाई ठग्ने व्यवसायीमाथि कडा कारबाही गर्ने चेतावनी दिए ।यात्रुहरुलाई बस भाडामा ठगिन नदिने गरी तीनवटै तहको सरकारले सहकार्य गरेर अनुगमनको कामलाई सशक्त बनाउने उनको दाबी छ ।

    तीन वर्गमा छुट्याएर सडक मर्मत गरिने

    मन्त्री ज्वालाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागको मातहतमा रहेका सडक तीन वर्गमा वर्गीकरण गरेर प्राथमिकताका साथ मर्मत गरिने बताएका छन् ।

    दसैँ–तिहारको अवसरमा लाखौंलाख यात्रु उपत्यका बाहिरिने मुख्य मुख्य सडकमार्गका लामा रुटका राजमार्गलाई एउटा वर्गमा राखेर स्तरोन्नति गरिने, स्थानीय सडक सञ्जाल र उपत्यकासहित देशका मुख्य मुख्य सहरका सडकहरुको मर्मत गरिने उनले बताए । 

    राजमार्ग मर्मतका लागि बजेटको अभाव छ भनेर गैरजिम्मेवार बन्न हुदैन– सांसद गैरे

    प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले सरकारले चाडपर्वको मुखमा आएर राजमार्ग मर्मतका लागि बजेटको अभाव छ भनेर गैरजिम्मेवार बन्न नहुने बताए । उनले यात्रुहरुलाई सहज हुने गरी यातायातको आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराए ।

    सांसद गैरेले भने, ‘दशैंको मुखमा आएर राजमार्ग मर्मतका लागि पनि बजेटको अभाव देखाउने काम सरकारले गर्नुहुन्न । बजेटको बारेमा पहिले कुरा गर्दाखेरी छ भन्ने तर अहिले आएर बजेटकै कमी छ भन्न सरकारले पाउँदैन ।’

    सत्तारुढ माओवादी केन्द्रका सांसद माधव सापकोटाले पूर्वाधार विकासका लागि सरकारले पुँजी नै परिचालन गर्न नसकेको गुनासो गरे । उनले एउटै परियोजनामा अर्ब बजेट विनियोजन गर्ने तर त्यसको परिचालन नहुने कुराले मुलुकको अर्थतन्त्र चलायमान हुन नसक्ने भएकोले यसतर्फ गम्भीर बन्न पनि सरकारको ध्यानाकर्षण गराए ।

    ‘आज अर्थतन्त्र धरापमा छ । एउटै परियोजनामा अर्ब बजेट छ । ठेक्का लगाई हाल्ने हो भने पनि एक वर्षमा त्यो बजेट चालु गर्न सक्दैन नि । एउटा परियोजनामा गएर एक अर्ब पैसा छ । अर्को परियोजनामा २० लाख छ । त्यसको टेण्डर निकाल्ने कि ननिकाल्ने ? तपाईंहरु अन्यौलतामा हुनुहुन्छ’ उनले भने ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार