images
images

नेपालीमा बढ्दै छ घुम्ने संस्कृति : बिदा आयो की ‘पदयात्रा’को योजना

नेपालीमा बढ्दै छ घुम्ने संस्कृति : बिदा आयो की ‘पदयात्रा’को योजना

सोमवार, कार्तिक १३ २०८०
सोमवार, कार्तिक १३ २०८०
  • images
    images
    नेपालीमा बढ्दै छ घुम्ने संस्कृति : बिदा आयो की ‘पदयात्रा’को योजना

    गण्डकी / अघिल्लो शरद याममा कास्कीको कोरी ‘ट्रेक’मा पदयात्रा गर्नुभएका निसान खड्काले यसपालिको दसैँ बिदामा कास्कीकै मर्दी हिमालको आधार शिविरलाई गन्तव्य बनाए।

    images
    images

    दसैँको भोलिपल्ट बागलुङबाट दुई साथीसहित मर्दी घुम्न निस्किएका उनी चार दिनको पदयात्रा सकेर आइतबार घर फर्किए। 

    पेसाले शिक्षक खड्काले दसैँकै छेकोमा यसअघि मुगुको रारा ताललगायत पर्यटकीय स्थलको घुमघाम गरिसकेका छन्। “दसैँको बिदामा पदयात्रामा निस्कनुको मज्जा नै बेग्लै हुन्छ, शरद ऋतु यसै पनि घुमौँ घुमौँ लाग्ने याम हो”, उनले सुनाए, “नयाँ ठाउँको संस्कृति, रहनसहन र भूगोलबारे जान्न यात्राले सघाउँछ।”

    पदयात्रा आफैँमा रोमाञ्चक र आनन्ददायक हुने खड्काको अनुभव छ। “मर्दी यात्रा पनि स्मरणीय रह्यो, छोटो दूरीको पदयात्राका लागि मर्दी ट्रेक उपयुक्त गन्तव्य रहेछ”, उनले भने, “दसैँलगत्तै मर्दी ट्रेक घुम्न निस्केका पर्यटकको बाटैभरि लर्को नै थियो।”

    खड्कासहितको टोली कास्कीको काँडेबाट छिरेर दुई दिनको पदयात्रामा मर्दी हिमालको आधार शिविर पुगेको थियो। फर्किँदा लान्द्रुक, नयाँपुल हुँदै बागलुङ फर्केको खड्काले बताए। पोखरा महानगरपालिका–२९ भण्ढारढिककी आरजु खत्रीले पनि यसपालिको दसैँ बिदामा घुम्नका लागि मर्दी आधार शिविर रोजे।

    काठमाडौँबाट आएका दुई साथीसहित दसैँको पर्सिपल्ट उनले मर्दीका लागि यात्रा तय गरेका थिए। “काँडे, अस्ट्रेलियन क्याम्प, देउराली हुँदै पहिलो दिन हाई क्याम्प पुगेर बास बस्यौँ, दोस्रो दिन मर्दी आधार शिविर पुगेर तेस्रो दिन घर फर्कियौँ”, खत्रीले भने, “हिमपातपछि खुलेको मौसममा यात्रा निकै रमाइलो भयो, हिमालको छेउमै पुग्दाको क्षण वर्णन गर्न नसकिने खालको थियो।”

    सूचना प्रविधि विषयमा अध्ययनरत उनी दसैँमा लामो बिदा हुने भएकाले घुम्न रुचाउँछन्। खत्रीले गत वर्ष हिउँदमा कास्कीकै अर्को पर्यटकीय गन्तव्य खुमै डाँडाको पदयात्रा गरेका थिए। उनले मर्दी आधार शिविर पुग्दा पर्यटकको बाक्लो चहलपहल देखेको सुनाए। “धेरै आन्तरिक पर्यटक नै थिए, विशेष गरी युवा बढी देखिन्थे”, खत्रीले भने।

    काठमाडौँमा व्यवसाय गर्ने बागलुङका ओम खत्री पनि दसैँको भोलिपल्टै साथीहरूसँग ढोरपाटन घुम्न निस्किए। आफ्नै जिल्लामा पर्ने भए पनि ढोरपाटन यात्रा उनका लागि पहिलो थियो। “ढोरपाटन घुम्न पहिले देखिनै उत्सुक थिएँ, अहिले बल्ल मौका जुर्‍यो”, खत्रीले भने, “व्यस्तताले नजिकका गन्तव्य पनि घुम्न पाइएको छैन, अब भने बेलाबेला घुमफिरमा निस्कनुपर्छ भन्ने लागेको छ।”

    खत्रीसहित छ जना मिलेर मोटरसाइकलमा ढोरपाटन पुगेका थिए। उनीहरू तीन दिन लगाएर ढोरपाटन उपत्यका, बुकी, जलजलालगायत ठाउँ घुमेका थिए। दसैँ बिदामा ढोरपाटन क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढी देखिएको खत्रीले बताए। ढोरपाटन देशकै एक मात्र सिकार आरक्ष हो। सिकारमा विदेशीको आकर्षण रहे पनि ढोरपाटन क्षेत्र घुम्न जानेमा बढी आन्तरिक पर्यटक नै हुन्छन्। 

    कास्कीका दिवस गुरुङले दसैँको छेकोमा तीन जापानी पर्यटकसहित सात दिन पदयात्रा गरे। कास्कीको नयाँपुल, म्याग्दीको घोरेपानी हुँदै मुक्तिनाथसम्म पदयात्रा गरेको उनले बताए। २९ वर्षीय गुरुङले गत वर्ष दसैँताका एक्लै ‘कर्णाली यात्रा’ गरेका थिए। मुस्ताङबाट छिरेर मुगुको रारातालसम्म ५५ दिन उनले पदयात्रा गरेका थिए। मुस्ताङदेखि डोल्पा छिर्ने पाँच हजार मिटर उचाइको भन्ज्याङमा पाँच दिनसम्म अलपत्र पर्नुपरेको क्षण उनको स्मृतिमा अहिले पनि ताजै छ। 

    गुरुङले विसं २०७५ को दसैँमा पूर्वी नेपाल र मधेसका जिल्लामा ४२ दिनको साइकल यात्रा गरेका थिए। “साइक्लिङ र पदयात्रा गर्दा म प्रायः एक्लै हुन्छु, एकल यात्रा मेरो सोख र रोजाइ हो”, उनले भने, “म साथी लिएर घुम्न जाने होइन, घुमेर साथी बनाउनुपर्छ भन्ने मान्यता राख्छु।”

    जतिसुकै कठिन र लामो यात्रामा पनि उनी एक्लै निस्कन्छन्। कर्णाली यात्रामा जाँदा मुस्ताङ र डोल्पाबीचको याकखर्कमा पाँच दिनसम्म सम्पर्कविहीन भएर बस्नुपरेको गुरुङले सुनाए। “हिमपातले अगाडि जान नसकेपछि धर्मशालामा टेन्ट हालेर रात बिताएँ”, उनले भने, “प्रतिकूल मौसम, त्यहीमाथि उच्च हिमाली भेग, पाँच दिनसम्म घरपरिवारसँग पनि सम्पर्क हुन नसक्दा मन केही आत्तिएजस्तो पनि भएको थियो, तर मैले आफूलाई सम्हाले र मौसम सुधारपछि यात्रामा अगाडि बढेँ।”

    गुरुङले गत वर्षकै साउन र भदौमा ‘गुरिल्ला ट्रेल’मा ३५ दिन एक्लै हिँडेका थिए। उनी पदयात्री पथ प्रदर्शकसमेत हुन। आम्दानीमा जोडिन पथ प्रदर्शकको अनुमति लिएर काम गरिरहेको गुरुङले सुनाए । “घुम्ने र घुमाउने नै मेरो पेसा बनेको छ, योबाहेक अरू केही सोचेको छैन, घुम्न धेरै बाँकी छ”, गुरुङले भने, “बढी जसो म दसैँ र तिहारका बेला घुम्न निस्किरहेको हुन्छु ।” उनले पछिल्लो समय नेपालीहरूमा घुम्ने संस्कृति बढेको अनुभव सुनाए। 

    गुरुङले पदयात्रा गर्न चाहनेलाई सबैभन्दा पहिला इच्छाशक्ति बटुल्न सुझाए। “थोरै पैसाले पनि घुम्न सकिन्छ, फजुल खर्च नगरौँ, घुमफिरका लागि समय छुट्टाऔँ”, गुरुङले भने, “आफूले जान चाहेको गन्तव्यका बारेमा पर्याप्त जानकारी लिऔँ, पूर्व अध्ययन गरौँ।”

    पदयात्रा गर्दा ट्रेकिङ झोला, न्यानो लुगा, आरामदायी जुत्ता, हलुका खानेकुरा, पानी, औषधिलगायत सामग्रीको जोहो गर्नुपर्ने गुरुङले बताए। “पदयात्रामा जाँदा शारीरिक र मानसिक स्फूर्ति पनि चाहिन्छ, यात्रामा आइपर्ने सबै परिस्थिति सामना गर्न तयार भएर हिँड्नुपर्छ”, उनले भने, “घुम्नलाई नेपालभित्रै असङ्ख्य सम्पदा, संस्कृति र प्राकृतिक गन्तव्य स्थल छन्, आफ्नै देश चिन्नलाई पनि घुमौँ।” 

    दसैँलगत्तै अन्नपूर्ण चक्रीय पदमार्गमा आन्तरिक पर्यटकको घुइँचो लागेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रविन कडरियाले बताए। आन्तरिक पर्यटकको आँकडा राख्ने नगरिए पनि बर्सेनि हजारौँ नेपालीले अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने गन्तव्य स्थलको भ्रमण गर्ने गरेको उनले बताए।

    पछिल्लो एक दशकयता नेपालीहरूमा घुम्ने संस्कृति ह्वात्तै बढेको प्रमुख डा कडरियाले उल्लेख गरे। “अन्नपूर्ण आधार शिविर, मर्दी, तिलिचो, थोरङ्ला भन्ज्याङलगायत क्षेत्रमा पदयात्रा गर्नेको सङ्ख्या उल्लेख्य छ, विशेष गरी नेपाली युवामा घुम्ने क्रेज बढ्दो छ, सपरिवार पनि घुम्न निस्कने चलन बढिरहेको छ”, उनले भने, “कोभिड–१९ महामारीताका सुस्ताएको अन्नपूर्ण क्षेत्रको पर्यटनले बिस्तारै पुरानै लय पछ्याउँदै छ।” 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार