images
images

विकास बैङ्कहरूले तीन महिनामा कमाए १ अर्ब १० करोडबढी नाफा, कुन बैङ्कको सूचक कस्तो ?

विकास बैङ्कहरूले तीन महिनामा कमाए १ अर्ब १० करोडबढी नाफा, कुन बैङ्कको सूचक कस्तो ?

शुक्रवार, मंसिर १ २०८०
शुक्रवार, मंसिर १ २०८०
  • विकास बैङ्कहरूले तीन महिनामा कमाए १ अर्ब १० करोडबढी नाफा, कुन बैङ्कको सूचक कस्तो ?

    काठमाडौँ / अर्थतन्त्र गतिशिल हुन नसकेको अवस्थामा पनि राष्ट्रिय स्तरका विकास बैङ्कको  नाफा भने सामान्य वृद्धि भएको छ । चरम आर्थिक मन्दीको कारण खराब कर्जा उच्च रूपमा बढेका कारण वाणिज्य बैङ्कहरूको नाफा औसतमा १८ प्रतिशतको गिरावट आउदा पनि विकास बैङ्कहरूको नाफामा भने केही सुधार देखिएको हो । 

    विकास बैङ्कहरूले प्रकाशित गरेको चालु आर्थिक बर्षको पहिलो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा ८ ओटा विकास बैङ्कको नाफा ०.९४ प्रतिशत अर्थात १० करोडबढीले बढेको देखिएको छ । समीक्षा अवधिमा यी बैङ्कहरूले १ अर्ब १० करोड ७५ लाख ८६ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । गत आवको सोही अवधिमा यी बैङ्कहरूले १ अर्ब ९ करोड ७२ लाख ५१ हजार रुपैयाँ नाफा कमाएको थियो ।  

    पहिलो त्रैमासिकसम्म ८ ओटा बैङ्कहरूमध्ये ३ ओटा को नाफा बढेको छ भने बाँकी ५ ओटाको नाफा घटेको छ । बैङ्कहरूले प्रकाशित गरेको चालु आवको तथ्याङ्क अनुसार पहिलो त्रैमासमा गरिमा विकास बैङ्क, लुम्बिनी विकास बैङ्क र कामना सेवा विकास बैङ्कले गत आवको सोही अवधिको तुलनामा नाफा रकम वृद्धि गरेका हुन् । 

    गत आवको तुलनामा यस बर्ष नाफा रकम घटेका बैङ्कहरूमा मुक्तिनाथ विकास बैङ्क, ज्योति विकास बैङ्क, सांग्रिला डेभलपमेन्ट बैङ्क, महालक्ष्मी विकास बैङ्क र शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क रहेका छन् । 

    रकमका आधारमा मुक्तिनाथा विकास बैङ्कले सबैभन्दा बढी नाफा आर्जन गरेको छ । मुक्तिनाथपछि बढी नाफा कमाउने विकास बैङ्ककको सूचीमा गरिमा विकास बैङ्क रहेको छ । मुक्तिनाथ विकास बैङ्कले २२ करोड ८८ लाख रुपैयाँ नाफा कमाउदा गरिमा विकास बैङ्कले २० करोड १५ लाख र १९ करोड १६ लाख रुपैयाँ नाफा कमाएको हो । 

    मुक्तिनाथ विकास बैङ्क

    चालु आवको पहिलो त्रैमासमा मुक्तिनाथ विकास बैङ्कको २५.५७ प्रतिशतले घटेर २२ करोड ८८ लाख रुपैयाँमा सीमित भएको छ । गत आवको पहिलो त्रैमासमा यस बैङ्कले ३० करोड ७४ लाख रुपैयाँ नाफा कमाएको थियो । 

    बैङ्कको खुद ब्याज आम्दानी बढे पनि सञ्चालन नाफा भने घटेको छ । खुद ब्याज आम्दानी १.९८ प्रशितले बढेर १ अर्ब ४ करोड रुपैयाँ पुग्दा सञ्चालन नाफा २२.०२ प्रतिशतले घटेर ३४ करोड २४ लाख रुपैयाँमा सीमित भएको छ । 

    गत वर्ष यसै अवधिमा २५ करोड १ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष बढेर ३६ करोड १५ लाख रुपैयाँ पुगेको छ । जसको कारण बैङ्कको नाफासमेत प्रभावित भएको हो । समीक्षा अवधिमा खराब कर्जा ०.७७ प्रतिशतले बढेर १.४९५ पुगेको छ ।

    असोज मसान्तसम्म यस बैङ्कको चुक्ता पुँजी ६ अर्ब ४२ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब ७९ करोड रुपैयाँ रहेको छ । त्यस्तै, प्रतिसेयर आम्दानी ४ रुपैयाँ ९० पैसा घटेर १४ रुपैयाँ २५ पैसामा झरेको छ  भने प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ९० पैसा छ ।  

    ज्योति विकास बैङ्क

    चालु आवको पहिलो त्रैमासिकमा ज्योति विकास बैङ्कको नाफा ४९.२४ प्रतिशतले घटेको छ । जुन गत आवको सोही अवधिको तुलनामा झण्डै ५० प्रतिशतले कम हो । गत बर्षको पहिलो त्रैमासमा १० करोड ९८ हजार रुपैयाँ नाफा कमाएको यो बैङ्कले समीक्षा वअधिमा भने ५ करोड ८ लाख रुपैयाँ मात्रै नाफा कमाएको हो । खुद ब्याज आम्दानी घटेको र इम्पेरमेन्ट चार्ज बढेका कारण बैङ्कको नाफामा उच्च गिरावट आएको देखिन्छ । 

    समीक्षा अवधिसम्म बैङ्कको चुक्ता पुँजी ४ अर्ब ३९ करोड ५७ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५ अर्ब ८७ करोड रुपैयाँ रहेको छ । पहिलो त्रैमासिकसम्म बैङ्कको निक्षेप १.१० प्रतिशत बढेको छ भने कर्जा प्रवाह ०.१४ प्रतिशत घटेको छ ।

    समीक्षा अवधिमा बैङ्कको खुद ब्याज आम्दानी ३.७७ प्रतिशत घटेको छ भने कुल सञ्चालन आम्दानी ०.१४ प्रतिशत बढेको छ । त्यस्तै, सञ्चालन मुनाफा ४९.२५ प्रतिशत घटेको देखिन्छ । यस अवधिमा बैङ्कको खराब कर्जा २.५ प्रतिशतबाट बढेर ३.७५ प्रतिशत पुगेको छ । यससँगै बैङ्कको इम्पेरमेन्ट चार्ज समेत बढेर ३३ करोड ६४ लाख रुपैयाँ पुगेको बैङ्कले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणमा उल्लेख छ । 

    असोज मसान्तसम्ममा बैङ्कको वितरणयोग्य मुनाफा १३ करोड १५ लाख रुपैयाँ ऋणात्मक र प्रतिशेयर वितरणयोग्य मुनाफा ११ रुपैयाँ ९७ पैसा ऋणात्मक रहेको छ ।
    यसैगरी प्रतिशेयर आम्दानी ४ रुपैयाँ ७६ पैसा घटेर ४ रुपैयाँ ६२ पैसामा झरेको छ । असोज मसान्तसम्ममा बैङ्कको मूल्य आम्दानी अनुपात ६१.४५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ७० पैसा रहेको छ ।

    सांग्रिला डेभलपमेन्ट बैङ्क

    सांग्रिला डेभलपमेन्ट बैङ्कले चालु आवको पहिलो त्रैमाससम्म ४ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको पहिलो त्रैमासमा ५ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएकोमा समीक्षा अवधिमा भने यस्तो रकम १५.२५ प्रतिशतले घटेको हो । खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी घट्दा बैङ्कको नाफामा दबाब पुगेको देखिन्छ । पहिले त्रैमासमा बैङ्कको खुद ब्याज आम्दानी ८.६८ प्रतिशत र सञ्चालन नाफा पनि १४.४६ प्रतिशतले घटेको हो । 

    समीक्षा अवधिसम्म बैङ्कको निक्षेप १.५२ प्रतिशतले घट्दा कर्जा लगानी भने ३.०३ प्रतिशतले बढेको छ भने चुक्ता पुँजी ३ अर्ब २६ करोड रुपैयाँ र जगेडा कोषमा १ अर्ब २५ करोड रुपैयाँ रहेको छ । 
    पहिलो त्रैमाससम्म बैङ्को खराब कर्जा २.२७ प्रतिशतबाट बढेर ३.२८ प्रतिशत पुगेको छ भने प्रतिसेयर आम्दानी घटेर ५ रुपैयाँ ७ पैसामा सीमित भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी ७ रुपैयाँ ३६ पैसा रहेको थियो भने प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ७८ पैसा रहेको छ ।

    महालक्ष्मी विकास बैङ्क

    महालक्ष्मी विकास बैङ्क लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ९ करोड ५३ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम गत वर्षको यसै अवधिको भन्दा २०.०८ प्रतिशतले कम हो । गत वर्ष यसले ११ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको थियो । 

    इम्पेयरमेन्ट चार्ज घटे पनि खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेका कारण बैङ्कको नाफा प्रभावित भएको देखिन्छ । गत बर्ष ५३ करोड ६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको महालक्ष्मी विकास बैङ्कले समीक्षा अवधिसम्म भने ४४ करोड १२ लाख रुपैयाँ यस्तो आम्दानी गरेको छ । 

    पहिलो त्रैमाससम्म यस बैङ्कको चुक्ता पुँजी ४ अर्ब १७ करोड १३ लाख १८ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब २४ करोड ४७ लाख रुपैयाँ सञ्चित छ । त्यस्तै, वितरणयोग्य नाफा १४ करोड ८९ लाख रुपैयाँ रहेको छ । 

    त्यस्तै, बैङ्कको खराब कर्जा ३.६२ प्रतिशतबाट बढेर ३.९७ प्रतिशत पुगेको छ । खराब कर्जा बढे पनि यस बैङ्कले १२ करोड ४१ लाख रुपैयाँ इन्पेयरमेन्ट चार्ज बापत छुट्याएको छ । गत वर्ष १५ करोड ७६ लाख रुपैयाँ यस शीर्षकमा छुट्याएकोमा समीक्षा अवधिमा भने केही घटाएको हो । 

    यसैगरी सञ्चालन नाफा १७.३१ प्रतिशतले घटेर १३ करोड ९२ लाख कायम भएको छ । गत वर्ष उक्त नाफा १६ करोड ८४ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा बैङ्कको प्रतिसेयर आम्दानी ९ रुपैयाँ १५ पैसा छ र प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ३८ पैसा छ । 

    साइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क

    चालु आवको पहिलो त्रैमासिकमा साइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कले १९ करोड १६ लाख ५४ हजार खुद नाफा कमाएको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा ८.३६ प्रतिशतले कम हो । गत वर्ष बैङ्कले यस अवधिमा २० करोड ९१ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

    त्यस्तै, यस अवधिमा यो बैङ्कको खुद ब्याज आम्दानी १.६७ प्रतिशतले बढेको छ भने सञ्चालन नाफा १.८३ प्रतिशतले घटेको छ । 

    समीक्षा अवधिमा बैङ्कको खराब कर्जा १.०९ प्रतिशतबाट बढेर २.५९ प्रतिशत पुगेको छ इम्पेयरमेन्ट चार्जसमेत वृद्धि भएको छ । त्यस्तै, बैङ्कको प्रतिसेयर आम्दानी ४.२२ रुपैयाँले घटेको छ भने प्रतिसेयर नेटवर्थ १४८.१७ रुपैयाँ पुगेको छ । गत वर्ष २२ रुपैयाँ १२ पैसा रहेको प्रतिसेयर आम्दानी घटेर अहिले १७ रुपैयाँ ९० पैसामा झरेको छ । 

    गरिमा विकास बैङ्क

    गरिमा विकास बैङ्कले चालु आवको पहिलो त्रैमासमा २० करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा ४.२५ प्रतिशतले बढी हो । गत वर्ष यसै अवधिमा बैङ्कको खुद नाफा १९ करोड ३३ लाख रुपैयाँ रहेको थियो । 

    समीक्षा अवधिसम्म बैङ्कको चुक्ता पुँजी ५ अर्ब १८ करोड रुपैयाँ र जगेडा कोषमा २ अर्ब ३४ करोड रुपैयाँ रहेको छ ।

    बैङ्कको खुद ब्याज आम्दानी ११.५७ प्रतिशत र सञ्चालन नाफा ४.३२ प्रतिशतले वृद्धि भएको छ । पहिलो त्रैमाससम्म बैङ्कको खराब कर्जा १.७१ प्रतिशतबाट बढेर २.६८ प्रतिशत पुगेको छ । 
     यसैगरी बैङ्कको प्रतिसेयर आम्दानी ६३ पैसाले बढेर १५ रुपैयाँ ५४ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ७१ पैसा रहेको छ । 

    लुम्बिनी विकास बैङ्क 

    चालु आवको पहिलो त्रैमासमा लुम्बिनी विकास बैङ्कको नाफा १४३.९६ प्रतिशतले वृद्धि भएको छ । गत आवको पहिलो त्रैमासिकमा ७ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको यो बैङ्कले समीक्षा अवधिमा भने १७ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको हो । 

    इम्पेयरमेन्ट चार्ज घट्दा र सञ्चालन नाफा बढ्दा नाफा बढेका कारण खुद ब्याज आम्दानी घटे पनि बैङ्कको नाफा बढ्न सहयोग पुगेको हो । समीक्षा अवधिसम्म बैङ्कले इम्पेयरमेन्ट चार्ज २४ करोड २६ लाख रुपैयाँबाट घटाएर २ करोड ३३ लाख रुपैयाँमा झारेको छ ।

    बैङ्कको सञ्चालन नाफा पनि २१८९.६५ प्रतिशतले बढेर २५ करोड २६ लाख रुपैयाँ पुगे पनि खुद ब्याज आम्दानी भने ५.२८ प्रतिशतले घटेको छ । 
    असोज मसान्त बैङ्कको वितरणयोग्य नाफा १ करोड ९ लाख रुपैयाँ छ भने प्रतिसेयर आम्दानी १२ रुपैयाँ ०९ पैसाले बढेर २० रुपैयाँ ४९ पैसा पुगेको हो । बैङ्कको प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ ०७ पैसा रहेको छ ।

    कामना सेवा विकास बैङ्क

    कामना सेवा विकास बैङ्कले पनि चालु आवको पहिलो त्रैमासिकमा १८७.५७ प्रतिशतले नाफा रकम बृद्धि गरी ११ करोड ९५ लाख २१ हजार रुपैयाँ पुर्याएको छ । गत आवको सोही अवधिमा भने बैङ्कको नाफा ४ करोड १५ लाख ६१ हजार रुपैयाँमा सीमित थियो । 

    पहिलो त्रैमासिकसम्म बैङ्कको खुद ब्याज आम्दानी घटे पनि इम्पेयरमेन्ट चार्ज घट्दा र सञ्चालन नाफा बढ्दा खुद मुनाफा वृद्धि भएको हो । गत आवको असोज मसान्तमा ५२ करोड २२ लाख ९२ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी समीक्षा अवधिमा घटेर ४९ करोड ९ लाख १० हजार रुपैयाँमा सीमित भएको हो । त्यस्तै, सञ्चालन नाफा ५ करोड ९३ लाख ७३ हजार रुपैयाँ रहेकोमा बढेर १८ करोड ९५ हजार रुपैयाँ पुगेको छ । 

    यो अवधिमा बैङ्कको इम्पेयरमेन्ट चार्ज घटेको छ । गत आवको असोज मसान्तमा २५ करोड ६५ लाख ९१ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज अहिले घटेर ९ करोड ५२ लाख ४१ हजार रुपैयाँमा झरेको हो ।

    समीक्षा अवधिसम्म बैङ्कको चुक्ता पुँजी ३ अर्ब २८ करोड ११ लाख ६४ हजार रुपैयाँ र जगेडा कोषमा १ अर्ब ५२ करोड २२ लाख ६७ हजार रुपैयाँ रहेको छ । यस अवधिमा बैङ्कको खराब कर्जा ३.४० प्रतिशतबाट बढेर ३.४८ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी १४ रुपैयाँ ५७ पैसा रहेको बैङ्कको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ १८ पैसा रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार