काठमाडौं / मुक्तिनाथ कृषि कम्पनीको सञ्चालकमा पूर्व मिस नेपाल सुगारिका केसी नियुक्त भएकी छन् ।
कम्पनीको माघ २२ गते सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले केसीलाई सर्वसाधारण समूहबाट सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
रिक्त रहेको सञ्चालक पदमा कम्पनी ऐनको दफा ९० को उपदफा ३ र मुक्तिनाथ कृषि कम्पनीको नियमावलिको नियम २७ को उपनियम ४ बमोजिम केसीलाई आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गर्ने गरि नियुक्ति गरिएको कम्पनीले जानकारी गराएको छ ।
कृषिमा आधारित अर्थतन्त्र भएको नेपालमा केसीको नियुक्तिले आम कृषक, उपभोक्ता, व्यवसायिक साझेदार, लगानीकर्ता र सम्पूर्ण सरकारी तथा गैरसरकारी सरोकारवालाहरुमा कृषि क्षेत्रप्रति थप आकर्षण र सकारात्मक सन्देश प्रवाह हुने कम्पनीको अपेक्षा छ ।