images
images

धान उत्पादनमा कीर्तिमान बनेको वर्ष नै किन बढ्यो चामलको मूल्य ?

धान उत्पादनमा कीर्तिमान बनेको वर्ष नै किन बढ्यो चामलको मूल्य ?

उत्पादन बृद्धि हुँदा मूल्यमा गिरावट आउनु सामान्य कुरा हो । तर, यसको विपरित धान उत्पादन बढे पनि चामलको मूल्य घट्नुको सट्टा बृद्धि भइरहेको छ ।

शुक्रवार, फागुन ४ २०८०
शुक्रवार, फागुन ४ २०८०
  • images
    images
    धान उत्पादनमा कीर्तिमान बनेको वर्ष नै किन बढ्यो चामलको मूल्य ?

    काठमाडौँ / कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस बर्ष नेपालमा इतिहासकै सर्वाधिक बढी धान उत्पादन भएको जनाएको छ । मन्त्रालयले गत पुस २२ गते सार्वजनिक गरेको तथ्याङ्कमा धान उत्पादन ४.३३ प्रतिशतले बृद्धि भएको हो । 

    images
    images

    गत आर्थिक बर्ष २०७९/८० मा ५४ लाख ८६ हजार ४ सय ७२ टन उत्पादन भएको धान चालु आर्थिक बर्ष २०८०/८१ मा ५७ लाख २४ हजार २ सय ३४ टन पुग्यो । यो वर्षको धान उत्पादन इतिहासकै सबैभन्दा बढी हो । चार वर्षको औसत उत्पादन तुलना गर्दा यस वर्ष धान उत्पादन ५.०८ प्रतिशतले वृद्धि भएको मन्त्रालयकै तथ्याङ्कले देखाएको छ ।

    धान उत्पादन बृद्धि भएपछि सामान्यतः चामलको मूल्य घट्नु पर्ने हो । उत्पादन बृद्धि हुँदा मूल्यमा गिरावट आउनु सामान्य कुरा हो । तर, यसको विपरित धान उत्पादन बढे पनि चामलको मूल्य घट्नुको सट्टा बृद्धि भइरहेको छ । मूल्य बढेपछि आम उपभोक्ता भने मारमा परेका छन् । 

    अघिल्लो बर्षहरूमा भने धान उत्पादन हुने सिजनमा चामलको मूल्य घट्दै आएको थियो । तर यस बर्ष उल्टो परिणाम देखिएको छ । सरकारले धान उत्पादनको तथ्याङ्क बढेको देखाइरहँदा सिजनमै चामलको मूल्य अचाक्ली बृद्धि भएको हो । 

    गत बर्ष धान उत्पादन हुने सिजनमा चामल प्रतिबोरा २५० रुपैयाँदेखि ३ सय रुपैयाँसम्म सस्तो भएको थियो । तर, यस बर्ष सिजनमै चामलको मूल्य प्रतिबोरा दुई सय रुपैयाँले बढेको छ । 

    नेपाल खुद्रा व्यापार संघका महासचिव अमूलकाजी तुलाधरले यस बर्ष चामल आयात गर्न भारतले अनुमति नदिएपछि चामलको मूल्य बढेको बताए । उनका अनुसार यस बर्षको दुई महिनामै प्रतिबोरा (२५ किलो) जिरा मसिनो चामल २५० रुपैयाँले बढेको छ । 

    “२५ किलो बोराको जिरा मसिनो चामलको मूल्य २ हजार १२५ रुपैयाँबाट बढेर २३ देखि २४ सय रुपैयाँ पुगेको छ,” महासचिव तुलाधर भने, “स्वदेशी धान बजारमा आइसकेको अवस्थामा मूल्य बढ्नु नपर्ने हो तर, भारतबाट चामल आयात हुन नसक्दा मूल्य वृद्धि गरियो ।” 

    गत साउनमा भारतले खाद्यान्नको मूल्य वृद्धिलाई नियन्त्रण गर्न भन्दै बासमती बाहेकको सबै चामल निर्यातमा प्रतिबन्ध लगाएको थियो । त्यसयता, सरकारले भारतबाट चामलको आयात गर्नेबारे कुनै चासो नदेखाएको उनले बताए । उनले अहिले नै चामलको आयात सहज बनाउने सम्बन्धमा सरकारले गम्भीर भएर नसोच्ने हो भने मूल्य अझै बढ्न सक्ने बताए । 

    सरकारले चामलमा भइरहेको मूल्यवृद्धिलाई निरुत्साहित गर्न भन्दै गत साउनमा भारतबाट १० लाख मेट्रिक टन धान र लाख मेट्रिक टन चामल आयात गर्ने प्रक्रिया थालेको थियो । पछि भारतले ९५ हजार मेट्रिक टन चामल दिन सहमति पनि जनायो । सरकारले पनि चामल ल्याउन प्रयास थाल्यो तर सफल भने हुन सकेन । फलस्वरूप बजारमा चामलको आपूर्ति कम भई मूल्य बढ्न पुगेको उनी बताउछन् ।

    “अहिले भारतबाट चामल आयात गर्दा २० प्रतिशत भन्सारसमेत तिर्नुपर्ने बाध्यता छ । यसरी आयात गर्दा प्रतिक्विन्टल धानको लागत हजार रुपैयाँले बढ्न जान्छ”, उनले भने । 

    2.JPG

    ६ महिनामा चामल आयातमा बाहिरियो ७ अर्ब ३८ करोड

    नेपाल कृषि प्रधान देश भएपनि हरेक बर्ष तेस्रो मुलुकबाट चामल आयात गर्नुपर्ने बाध्यता रहेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार यस बर्ष उत्पादनमा वृद्धि भएपनि नेपालमा धान तथा चामलको आयात गर्नुपर्ने अवस्था रहेको देखाएको हो । 

    चालु आर्थिक बर्षको ६ महिनामा धान तथा पोलिस गरेको चामल लगायतका खाद्यान्न वस्तुको आयातमा ७ अर्ब ३८ करोड ७६ लाख रुपैयाँ बाहिरिएको छ । नेपालले उक्त मूल्य बराबरको १७ करोड २० लाख किलो मेट्रिक टन धान तथा चामल आयात गरेको हो ।

    यस्तै, गत आर्थिक वर्ष २०७९/८० मा नेपालमा ३७ अर्ब रूपैयाँको ७२ करोड ५० लाख किलो धान, चामल र कनिका आयात गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।  आर्थिक वर्ष २०७८/७९ मा ४७ अर्ब ५७ करोडको धानचामल आयात भएको थियो । जसअनुसार गत वर्षको तुलनामा आयात घटेको देखिन्छ ।

    त्यसैगरी, आव २०७७/७८ मा ५० अर्ब ७९ करोड बराबरको धान तथा चामल आयात गरेको विभागले जनाएको छ । यस्तै, आर्थिक वर्ष २०७६/७७ मा ३३ अर्ब ६५ करोड मूल्यको धान चामल आयात गरिएको थियो भने आव २०७५/७६ मा ३२ अर्ब ५९ करोडको धान चामल आयात गरिएको थियो ।

    कुन वर्ष कति उत्पादन भयो धान ?

    चालू आर्थिक वर्षमा ५७ लाख २४ हजार २३४ मेट्रिक टन कूल धान उत्पादन भएको कृषि मन्त्रालयको तथ्यांक छ । जसमध्ये ५२ लाख ३ हजार ४२६ मेट्रिक टन वर्षेधान र बाँकी ५ लाख २० हजार ८०८ मेट्रिक टन चैते धान हो । 

    गतवर्ष ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन धान उत्पादन भएको थियो । जसअनुसार धानको कूल उत्पादन गत आर्थिक वर्षको तुलनामा ४.३३ प्रतिशतले वृद्धि भएको मन्त्रालयको भनाइ छ । 

    चालू आर्थिक वर्षमा १४ लाख ३८ हजार ९८९ हेक्टर जमिनमा चैते र वर्षे धान रोपाइँ भएको थियो । यो गत वर्षको रोपाइँ क्षेत्रको तुलनामा भने ५ हजार ८ सय हेक्टरले कमी हो ।

    यस्तै, आर्थिक वर्ष २०७८/७९ मा कूल १४ लाख ७७ हजार ३७८ हेक्टर क्षेत्रमा धान रोपाइँ भएको थियो । सो वर्ष ५१ लाख ३० हजार ६२५ मेट्रिक टन मात्रै धान उत्पादन भएको थियो । 

    त्यसैगरी, २०७७/७८ मा १४ लाख ७३ हजार ४७४ हेक्टर जमिनमा ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान फलेको थियो । आर्थिक वर्ष २०७६/७७ मा १४ लाख ५८ हजार ९१५ हेक्टर जमिनमा ५५ लाख ५० हजार ८७८ मेट्रिक टन धान उत्पादन भएको थियो ।

    1.JPG

    कुनै बेला धान–चामल निर्यात गर्थ्यो नेपाल

    नेपाल कुनै बेला चामल निर्यात गर्ने देशको रूपमा परिचित थियो । चार दशकअघिसम्म पनि धान उत्पादनमा नेपाल निकै अब्बल मानिने गरिन्थ्यो । उक्त समयमा दक्षिण एसियाली देशमा मात्रै होइन, दक्षिण कोरिया, मलेसियादेखि अमेरिकासम्म नेपाली चामल निर्यात हुने गरेको अभिलेख छ । 

    विभागको तथ्याङ्क अनुसार नेपालले आर्थिक बर्ष २०६४/६५ मा नेपालले २ करोड ९५ लाख २३ हजार रुपैयाँ बराबरको चामल निर्यात गरेको थियो । यस्तै, आर्थिक वर्ष २०३५/३६ मा नेपालले २४ करोड ३८ लाख ६३ हजार मूल्यको चामल निर्यात गरेको थियो । तर, पछिल्लो समय नेपाल धान र चामलमा परनिर्भरता झनै बढ्दै गइरहेको पाइन्छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार