काठमाडौँ / हिमालयन बैंक लिमिटेडले टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा फागुुन ९ गतेदेखि नगद संकलन काउन्टर संचालनमा ल्याएको छ ।
अस्पातालमा आउने सेवाग्राहीको सुविधालाई ध्यानमा राखी बैंकले अस्पतालसंग नगद संकलन गर्ने सम्झौता गरेको हो । बैँकले अस्पतालमा उक्त सेवा सार्वजनिक विदाका दिनमा समेत गरी २४ सै घण्टा प्रदान गर्नेछ ।
सो काउन्टरमा सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै बैंकले क्यूआर मार्फत पनि भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको छ । बैँकद्वारा प्रदान गरिने उक्त सेवाले अस्पतालमा सेवा लिन आउने बिरामी एवं बिरामीहरुका परिवार/आफन्तजन तथा अस्पतालका कर्मचारीलाई सहजता प्रदान गर्नेछ ।
नगद संकलन काउन्टर संचालनमा ल्याउने सम्झौता पत्रमा बैँकका तर्फबाट बैँकका सहायक प्रमुख कार्यकारी अधिकृत विजयमान नकर्मी र अस्पतालका तर्फबाट अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले हस्ताक्षर गरेका छन् । सो समारोहमा बैँक तथा अस्पतालका अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।