images
images

गुल्मीका ३४ हजार परिवार स्वास्थ्य बीमाको पहुँचमा, विपन्न परिवारको निःशुल्क, जिल्लाभर ९३ अभिकर्ता

गुल्मीका ३४ हजार परिवार स्वास्थ्य बीमाको पहुँचमा, विपन्न परिवारको निःशुल्क, जिल्लाभर ९३ अभिकर्ता

सोमवार, बैशाख ३ २०८१
सोमवार, बैशाख ३ २०८१
  • गुल्मीका ३४ हजार परिवार स्वास्थ्य बीमाको पहुँचमा, विपन्न परिवारको निःशुल्क, जिल्लाभर ९३ अभिकर्ता
    तम्घास (गुल्मी) / गुल्मीका झण्डै ३४ हजार परिवार स्वास्थ्य बीमाको पहुँचमा रहेका छन् । जिल्लास्थित स्वास्थ्य बीमा बोर्डले दिएको जानकारीअनुसार जिल्लामा हालसम्म ३३ हजार आठ सय १२ परिवारले स्वास्थ्य बीमा गराएका हुन् । 
     
    गुल्मीमा विसं २०७६ माघ १९ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको थियो । जसमा आर्थिक वर्ष २०७६/७७ मा एक हजार तीन सय ९४, आव २०७७/७८ मा आठ हजार चार सय १६, आव २०७८/७९ मा पाँच हजार तीन सय ९७ परिवारले स्वास्थ्य बीमा गराएका तथ्याङ्क छ । 
     
    आव २०७९र८० मा एक हजार नौ सय ६४ र चालु आर्थिक वर्षको छ महिनामा एक हजार ८६ परिवारले स्वास्थ्य बीमा गराएका बीमा बोर्डका प्रमुख सुवास घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार एक परिवारले वार्षिक रु तीन हजार पाँच सयमा पाँच जनाको रु एक लाखसम्मको स्वास्थ्य बीमा गर्न पाउँछन् । 
     
    औषतमा एक परिवारको चार जनाको मात्रै स्वास्थ्य बीमा हुने गरेको उनको भनाइ छ । यसरी हेर्दा जिल्लामा पारिवारको मात्रै गणना गर्दा ७३ हजार २८ जना स्वास्थ्य बीमाको पहुँचमा रहेका प्रमुख घिमिरेले जानकारी दिनुभयो । सोही अवधिमा १५ हजार पाँच सय ५५ ज्येष्ठ नागरिकको पनि स्वास्थ्य बीमा गराइएको छ । 
     
    ज्येष्ठ नागरिकको हकमा भने एक नागरिक बराबर एक परिवार गणना हुने उहाँले बताउनुभयो । उहाँका अनुसार यसरी हेर्दा जिल्लामा कूल ८८ हजार पाँच सय ८३ नागरिक स्वास्थ्य बीमाको पहुँचमा छन् । 
     
    विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा
     
    जिल्लाको चन्द्रकोट गाउँपालिकाले अतिविपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गराइदिने कार्यक्रम सञ्चालनमा ल्याएको छ । यो कार्यक्रमअन्तर्गत गत वर्ष दुई लाखमा एक सय अतिविपन्न परिवारको निःशुल्क बीमा भएको थियो । उक्त कार्यक्रमलाई यो वर्ष परिमार्जन गरिएको छ । 
     
    यो वर्ष अतिविपन्न परिवारका लागि निःशुल्क र विपन्न परिवारका लागि ५० प्रतिशत सहुलियत प्रदान गर्ने योजना बनाइएको गाउँपालिकाका अध्यक्ष युवराज केसीले जानकारी दिए । उनका अनुसार स्वास्थ्य बीमा कार्यक्रमका लागि यो वर्ष पनि चन्द्रकोटमा तीन लाख बजेट विनियोजन गरिएको छ । 
     
    “स्वास्थ्य बीमामा सहुलियत दिनाले धेरै नागरिक बीमाको पहुँचमा आउन सक्छन्”, अध्यक्ष केसीले भने, “यो कार्यक्रमले विपन्न नागरिकलाई धेरै राहत मिलेको छ ।” 
     
    गत वर्ष रेसुङ्गा नगरपालिका–४ ले वडाकै बजेटबाट २९ परिवारको निःशुल्क स्वास्थ्य बीमा गराइदिएको थियो । सोही कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिइएको वडाध्यक्ष लीलाधर आचार्यले जानकारी दिए । 
     
    निःशुल्क स्वास्थ्य बीमामा सुकुम्बासी र अतिविपन्न परिवार प्राथमिकतामा परेका उहाँले बताउनुभयो । गत वर्ष रेसुङ्गा–३ कार्यालयले पनि २८ परिवारको निःशुल्क स्वास्थ्य बीमा गराइदिएको थियो । 
     
    जिल्लाभर ९३ स्वास्थ्य बीमा अभिकर्ता 
     
    गुल्मीमा प्रत्येक वडामा एक÷एक जनाका दरले ९३ जना स्वास्थ्य बीमा अभिकर्ता छन् । उनीहरुलाई स्वास्थ्य बीमा बोर्डले आवश्यक तालिमसमेत प्रदान गरेको छ । समयमै स्वास्थ्य बीमा गर्नाले बिरामी परेको समयमा आर्थिक भार वा जोखिम न्यूनीकरण गर्न सहयोग पुग्छ । 
     
    यसभन्दा पहिले धेरै सरकारी वा निजी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएकामा पछिल्लो समयमा त्यो कार्यक्रम कतिपय अस्पतालमा कटौती गरिएको छ । 
     
    सरकारी अस्पतालमा गत माघ १ गतेदेदेखि उपचार गर्दा लागेको कूल लागतको १० प्रतिशत बीमित आफैँले व्यहोर्नुपर्ने स्वास्थ्य बीमा बोर्डले जनाएको छ । त्यसैगरी निजी र सामुदायिक अस्पतालमा भने यही वैशाख १ गतेदेखि २० प्रतिशत रकम बीमितले तिर्नुपर्नेछ । 
     
    नेपालमा पन्ध्रौँ योजनाको अन्त्यसम्म ६० प्रतिशत नागरिकलाई स्वास्थ्य बीमाको पहुँचमा ल्याउने लक्ष्य राखिएकामा गुल्मीमा हालसम्म ४४.३० प्रतिशतमा पहुँच पुगेको बीमा बोर्ड गुल्मीले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार