images
images

महँगीको मारमा उपभोक्ता : दश महिनामा खाद्यजन्य पदार्थको मूल्य प्रतिकेजी २ सयसम्म बढ्यो

महँगीको मारमा उपभोक्ता : दश महिनामा खाद्यजन्य पदार्थको मूल्य प्रतिकेजी २ सयसम्म बढ्यो

“मध्यम वर्गीय परिवारले दैनिक प्रयोग गर्ने अधिकांश वस्तुको मूल्य बढेको छ । १५ रुपैयाँ बढेर ५ रुपैयाँ घट्नुलाई मूल्य बढेको मान्ने कि नमान्ने ?”

बुधवार, बैशाख ५ २०८१
बुधवार, बैशाख ५ २०८१
  • महँगीको मारमा उपभोक्ता : दश महिनामा खाद्यजन्य पदार्थको मूल्य प्रतिकेजी २ सयसम्म बढ्यो
    images
    images

    काठमाडौँ / बजारमा खाद्यान्नको मूल्य दश महिनामा प्रतिकेजी ५ रुपैयाँदेखि २०० रुपैयाँसम्म बृद्धि भएको पाइएको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार गत साउनदेखि बैशाखसम्म अधिकांश खाद्यान्नको मूल्य बढेको पाइएको हो ।

    सङ्घले प्रकाशित गरेको मूल्यसूची अनुसार साउनको तुलनामा बैशाखसम्म मुसुर र मुंग गेडा दालबाहेक अधिकांश दाल महँगिएको छ । त्यस्तै, राजमा र कालो भटमास बाहेकका गेडागुडीहरू, तेल, घ्यू, चिनी, मस्यौरा, ज्वानो, मकै, आँटादेखि चामलसम्मको भाउ बढेको छ । दशैँ तिहार जस्ता प्रमुख चाडपर्वमा उच्च मूल्यवृद्धि हुने मसलाको मूल्य भने बैशाखमा केही घटेको देखिएको छ । 

    कुनको मूल्य कति बढ्यो ? 

    सङ्घको गत साउन महिनाको तुलनामा बैशाखसम्म घ्यूको मूल्य सबैभन्दा बढी २ सय रुपैयाँले बढेको देखिएको छ । साउनमा प्रतिकेजी १२ सय रुपैयाँ रहेको घ्यूको मूल्य बैशाखमा बढेर १४ सय रुपैयाँ पुगेको हो । त्यस्तै, प्रशोधन नगरिएको रहरको दाल पनि प्रतिकेजी ६५ रुपैयाँले बढेर ३ सय रुपैयाँ पुगेको छ ।

    यसैगरी स्टिम जिरा मसिना चामल, लङ्ग्रेन वासमति र स्टिम  सोना चामलको भाउ प्रतिकेजी पाँच रुपैयाँले बढेर क्रमशः एक सय रुपैयाँ, १७५ रुपैयाँ र ८० रुपैयाँ कायम भएको छ । यता, मासको दाल १० रुपैयाँले बढेर प्रतिकेजी २२० रुपैयाँ पुगेको छ भने तोरीको तेलसमेत १० रुपैयाँले बढेको छ । 

    यता, चिनी प्रतिकेजी ८ रुपैयाँले बढेर १०८ रुपैयाँ पुगेको देखिन्छ भने सेतो केराउ ३० रुपैयाँले बढेर १६० रुपैयाँ कायम भएको छ । कैलो तिल ३० रुपैयाँले बढेर ३६० रुपैयाँ पुगेको छ भने बोडी, मस्याङ र छिरकी राजमा १० रुपैयाँले बढेर क्रमशः १६०, १४० र २२० रुपैयाँ पुगेको छ । 

    मस्यौरा प्रतिकेजी २५ रुपैयाँले बढेर २२५ रुपैयाँ पुगेको छ भने मेथी समेत १० रुपैयाँले बढेको मूल्यसूचीमा उल्लेख छ । 

    मूल्य घटेका वस्तुहरू

    साउनको तुलनामा सबैभन्दा बढी मसलाजन्य वस्तुको मूल्य घटेको देखिन्छ । साउनमा प्रतिकेजी १२ सय रुपैयाँ तोकिएको जिरालाई बैशाखमा प्रतिकेजी ७२० रुपैयाँ पर्नेछ । यस अवधिमा जिरा प्रतिकेजी ४८० रुपैयाँले घटेको हो ।

    त्यस्तै, धनियाँसमेत प्रतिकेजी ६० रुपैयाँले घटेर २५० रुपैयाँमा झरेको छ । त्यस्तै, जिरा पाउडर र धनियाँ पाउडरसमेत क्रमशः ३ सय रुपैयाँ र ५० रुपैयाँले घटेर ९५० रुपैयाँ र ३२५ रुपैयाँ कायम भएको छ । 

    के भन्छ राष्ट्र बैङ्कको तथ्याङ्क ? 

    नेपाल राष्ट्र बैङ्कले गत फागुन महिनासम्मको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै मूल्यवृद्धि ५ प्रतिशतभन्दा तल रहेको तथ्याङ्क सार्वजनिक गर्यो । तथ्याङ्क अनुसार फागुन महिनामा मूल्यवृद्धि ४.८२ प्रतिशत रहेको देखाएको छ । जुन गत बर्षको भन्दा कम हो । 

    राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार आठ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.९४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९५ प्रतिशत रहेको छ । खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसलाको भाउ सबैभन्दा धेरै २८.१७ प्रतिशतले बढेको तथ्याङ्क देखिए पनि सङ्घले सार्वजनिक गरेको मूल्यसूची अनुसार भने मूल्य घटेको देखिन्छ । 

    त्यस्तै, घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत सूचकाङ्क ११.७९ प्रतिशतले घटेको राष्ट्र बैङ्कको तथ्याङ्क भए पनि बजारमा घ्यूको मूल्य सबैभन्दा धेरै बढेको पाइएको छ । सङ्घको गत फागुनसम्मको मूल्यसूची हेर्ने हो भने पनि घ्यूको मूल्य बढेको देखिन्छ ।

    गेडागुडी र खाद्यान्नमा भने राष्ट्र बैङ्कले पनि मूल्य वृद्धि भएको जनाएको छ । राष्ट्र बैङ्कका अनुसार फागुनसम्ममा यस्तै, तरकारीको १४.०७ प्रतिशत, दाल तथा गेडागुडीको ११.२२ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.३५ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ७.११ प्रतिशतले बढेको छ । 

    महँगी बढेको हो कि घटेको ? 

    नेपाल खुद्रा व्यापार सङ्घका अध्यक्ष पवित्र बज्राचार्य राष्ट्र बैङ्कले सबै वस्तुहरूलाई एकै ठाउँमा राखेर हेर्ने भएकोले बजारको वास्तविक चित्र नआएको बताउँछन् । एभरेजमा महँगी घटेको देखिएको भए पनि बजारमा महँगी अचाक्ली बढेको उनको भनाइ छ । “मध्यम वर्गीय परिवारले दैनिक प्रयोग गर्ने अधिकांश वस्तुको मूल्य बढेको छ । १५ रुपैयाँ बढेर ५ रुपैयाँ घट्नुलाई मूल्य बढेको मान्ने कि नमान्ने ?” अध्यक्ष बज्राचार्य प्रश्न गर्छन् ।

    मूल्य बढेकै कारण उपभोक्तासँग खरिद गर्ने क्षमता नभएको उनले बताए । उनका अनुसार एकातिर महँगी अहिलेको प्रमुख समस्या हो भने अर्कोतिर उपभोक्ताको क्रयशक्तिमा गिरावट आउनु झन् ठुलो समस्याको रूपमा देखिएको अध्यक्ष बज्रचार्यको भनाइ छ । सहकारीहरूमा लगानी डुबेको कारण पनि बजारमा पैसा नआएको हो कि भन्ने उनको अनुमान छ । 

    उनले भने, “कुनै सहकारीमा अर्बौ डुब्नु भनेको अर्बौ रुपैयाँ बजारमा नआउनु हो । आर्थिक गतिविधि छैन । सेल्समा उच्च गिरावट आएको छ ।” यस बर्ष बजार सकात्मक होस् भन्ने चाहेको भए पनि सरकार जिम्मेवार हुन नसक्दा बजारको गतिविधि बजार तत्काल सुध्रिन्छ भनेर आश गर्ने ठाउँ कमै भएको उनको गुनासो छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार