पोखरा / पोखरामा एक वर्षको अवधिमा साढे १६ हजारले प्याराग्लाइडिङ यात्रा गरेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०२३ मा १६ हजार ४६८ जनाले पोखराको प्याराग्लाइडिङ यात्रा गरेका हुन् ।
यस वर्ष ६ हजार ९९३ जना विदेशी र ९ हजार ४७५ जना नेपाली नागरिकले प्याराग्लाइडिङ गरेका छन् । अघिल्लो वर्ष सन् २०२२ मा पोखरामा १४ हजार ९६० जनाले प्याराग्लाइडिङ यात्रा गरेका थिए ।
कोभिड महामारीको वर्षहरुमा समेत प्याराग्लाइडिङ चढ्ने यात्रु घटेका थिएनन् । सन् २०२१ मा १२ हजार ९५० र सन् २०२० मा २२ हजार २७५ जनाले प्याराग्लाइडिङको अनुभव लिएका थिए ।
सन् २०१९ मा भने यो संख्या ३२ हजार ५२२ पुगेको थियो । त्यसबेला सम्म विदेशी नागरिकले धेरै यसको अनुभव लिने गरेकोमा अब भने नेपाली नागरिकको संख्या निरन्तर बढ्दै गएको तथ्यांकले देखाएको छ ।
प्याराग्लाइडिङ चढ्ने विदेशी नागरिकको संख्या कम हुँदा सन् २०१९ कै हाराहारीमा भने यात्रु पुग्न नसकेको तथ्यांकले देखाएको छ ।
नेपालमा चार दर्जन भन्दा धेरै कम्पनीले पोखरालाई केन्द्रित गरी प्याराग्लाइडिङ व्यवसाय गर्दैै आएका छन् । पोखराको शाहसिक पर्यटकीय उत्पादनमध्ये यो एक हो ।