images
images

उत्पादन बढे पनि बढ्न सकेन चिया निर्यात, आयात भने घट्यो

उत्पादन बढे पनि बढ्न सकेन चिया निर्यात, आयात भने घट्यो

विदेशी मुद्रा आर्जन गरी देशको अर्थतन्त्रमा सहयोग पुर्याउन चियाको महत्त्वपूर्ण भूमिका

शनिवार, बैशाख १५ २०८१
शनिवार, बैशाख १५ २०८१
  • उत्पादन बढे पनि बढ्न सकेन चिया निर्यात, आयात भने घट्यो
    images
    images

    काठमाडौँ / पाँच बर्षमा नेपालबाट १७ अर्बबढीको रुपैयाँ बराबरको चिया निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार यस अवधिमा ५५ करोड ९२ लाख रुपैयाँ बराबरको चिया आयात हुँदा १७ अर्ब १५ करोड ५५ लाख रुपैयाँको चिया निर्यात भएको हो ।

    त्यस्तै, चालु आर्थिक बर्ष २०८०/८१ को नौ महिनामा मात्रै नेपालबाट २ अर्ब ५४ करोड रुपैयाँको निर्यात भएको छ । सो अवधिमा २ करोड ७० लाख रुपैयाँ बराबको चिया आयात भएको विभागको तथ्याङक छ । यसले अन्य उपभोग्य वस्तुको आयात ठुलो मात्रामा गर्नुपर्ने बाध्यतामा रहेको नेपालले चिया निर्यातमा भने राम्रै प्रगति गरेको देखाएको छ ।

    विभागका अनुसार चालू आर्थिक बर्षको चैत मसान्तसम्ममा २ करोड ७० लाख १ हजार रुपैयाँ बराबरको ३० हजार ३३५ किलो चिया आयात भएको छ । उक्त अवधिमा २ अर्ब ५४ करोड १८ लाख ६० हजार रुपैयाँ बराबरको १ करोड १ लाख ७८ हजार ८३५ किलो चिया विदेश निर्यात भएको छ ।

    नेपालबाट कुन आर्थिक बर्षमा कतिको चिया आयात–निर्यात भयो ? 

    चालु आर्थिक बर्षको ९ महिनामा मात्रै होइन अघिल्ला वर्षमा पनि आयातभन्दा निर्यात राम्रो देखिन्छ । आर्थिक बर्ष २०७५/७६ मा ११ करोड ७७ लाख ३१ हजार रुपैयाँ बराबरको ३ लाख २३ हजार ३४९ किलो चिया आयात गरेको गरेको नेपालले सोही अवधीमा ३ अर्ब २० करोड ३९ लाख ८ हजार रुपैयाँ बराबरको १ करोड ५० लाख ४३ हजार ७९६ किलो निर्यात गरेको थियो । 

    यस्तै, आर्थिक बर्ष २०७६/७७ मा ७ करोड ७३ लाख ९७ हजार  रुपैयाँ बराबरको २ लाख १८ हजार ६२९ किलो चिया आयात गरेको नेपालले २ अर्ब ७८ करोड २८ लाख ४१ हजार रुपैयाँ बराबरको १ करोड ११ लाख ८५ हजार १९८ किलो निर्यात गरेको छ ।

    त्यसैगरी, गत आर्थिक बर्ष २०७९/८० मा २ करोड ७० लाख १ हजार रुपैयाँ बराबरको ३० हजार ३३५ किलो चिया आयात गरेकोमा २ अर्ब ५४ करोड १८ लाख ६० हजार रुपैयाँ बराबरको १ करोड १ लाख ७८ हजार ८३५ किलो चिया निर्यात गरेको छ ।

    tea export.JPG

    चिया आयात र निर्यातको पाँच बर्षको तथ्याङ्क हेर्ने हो भने चालु आवमा चिया आयातको तथ्याङ्क खुम्चिएको देखिन्छ । चिया निर्यातको तथ्याङ्क उल्लेख्य रूपमा बृद्धि हुन नसके पनि चिया आयात आयात घट्नुलाई भने सकारात्मक रूपमा लिन सकिन्छ । गत आर्थिक बर्षमा नेपालले १२ करोड ९१ लाख रुपैयाँको चिया आयात गरेको भए पनि चालु आवमा सो रकम २ करोड रुपैयाँमा खुम्चिएको हो । 

    आन्तरिक उत्पादनको अवस्था कस्तो ? 

    राष्ट्रिय चिया तथा कफि विकास बोडले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७५/७६ मा २८ हजार ७ सय ३२ हेक्टर जमिनमा चियाखेती गरिएको थियो । त्यसबाट २ करोड ५२ लाख ५ हजार ८८५ किलोग्राम चिया उत्पादन भएको थियो । 

    यस्तै, आव २०७७/७८ मा नेपालमा १६ हजार ९ सय १७ हेक्टर जमिनमा चियाखेती गरिएको थियो । २ करोड ३७ लाख ४५ हजार ९ सय २ किलोग्राम चिया उत्पादन भएको बोर्डले जनाएको छ । पाँच बर्षको तथ्याङ्क अनुसार चिया उत्पादन बृद्धि भइरहे पनि निर्यात भने बृद्धि हुन सकेको देखिदैन । 

    tea production news.JPG

    गत आव २०७९/८० मा पनि २० हजार २ सय ३० हेक्टर जमिनमा चियाखेती गरिदा २ करोड ६४ लाख १ हजार ९ सय ४२ किलोग्राम चिया उत्पादन भएको थियो । यता, नेपालको चिया खेतीमा १६ हजारभन्दा बढी किसान र ६० हजारभन्दा बढी श्रमिक आबद्ध छन् ।

    आन्तिरिक उत्पादन हुँदा पनि किन गरिन्छ आयात ? 

    चिया तथा कफी विकास बोर्डका निर्देशक खनालले नेपालमा विभिन्न कलात्मक चियाको माग भएको र कलात्मक चिया उत्पादनका लागि उच्च प्रविधिबाट प्रशोधन गरिनुपर्ने भएकाले उच्च प्रविधिबाट प्रशोधन गरिएको चिया आयात हुने गरेको बताए ।

    नेपालमा सो प्रविधि नभएको कारण आयात गर्नुपर्ने अवस्था रहेको उनले जानकारी दिए । केही चिया पारखीहरूले विभिन्न आर्टका चिया मन पराउने भएकोले विदेशबाट उच्च प्रविधिबाट प्रशोधित चिया सानो परिमाणमा महँगो शुल्क तिरेर आयात हुने गरेको उनको भनाइ छ । 

    निर्यातमा अवरोध किन ? 

    नेपालको निर्यातजन्य केही सीमित सीमित कृषि बालीहरूमध्ये चिया अग्रस्थानमा पर्दछ । नेपालको चिया उत्कृष्ट मानिने भएकाले भारत, चीन, श्रीलंका, अमेरिका, अस्ट्रेलिया र यूरोपका विभिन्न मुलुकमा यसको माग उच्च छ । त्यसैले अन्य वस्तुको तुलनामा चिया निर्यातको ग्राफ उच्च नै रहेको छ । 

    चियाले ग्रामिण रोजगारी सिर्जना गर्नुका साथै विदेशी मुद्रा आर्जन गर्नुमा देशको अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेलेको छ । कृषि, उद्योग र पर्यटनलाई जोड्दै आएको चियाले अन्य उद्योगभन्दा फरक र विशिष्ट पहिचानको रूपमा आफुलाई उभ्याउन सफल भएको हो । 

    यति हुँदाहुँदै पनि नेपाली चिया क्षेत्रले पछिल्ला दिनहरूमा विशेषगरी बजारीकरणको पाटोमा विभिन्न चुनौतीहरूको सामना गर्नुपरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निमित्त कार्यकारी निर्देशक डा. दीपक खनालले बताए ।

    नेपाली चियाको विश्वबजारमा अत्यधिक माग भएसँगै महँगो मूल्यमा विक्री भइरहेको छ । तर, चियाको कुल निर्यातमध्ये ९७.८० प्रतिशत निकासी भारतमा हुन्छ । 

    नेपाली चियाको ठुलो बजार रहेको भारतले आयातसम्बन्धी नीतिमा सामान्य परिवर्तन गर्दा पनि नेपालको चिया क्षेत्रमा ठुलो हलचल आउने गरेको निर्देशक खनाल बताउँछन् । 

    केही हप्ता अघि मात्रै भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात रोक्दा काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीटड्डी नाका पुगेका १७ ट्रक तयारी चिया अलपत्र परेको थियो । 

    बोर्ड, मेची भन्सार कार्यालय, चियाका वस्तुगत संघसंस्थाहरू एवं व्यावसायीहरूको संयुक्त पहलमा तत्कालका ब्लागि भारतिय अवरोध हटेर हाललाई ती १७ वटा ट्रक छुटेका छन् । 

    यद्यपि, विगतमा पनि भारतीय पक्षबाट यस्ता अवरोधहरू भइ नै रहेकाले भविष्यमा फेरी विभिन्न बहानामा नेपाली चियाको निकासी रोक्ने घटना नदोहोरिएला भन्न नसकिने उनको भनाइ छ । 

    “नेपाली चियाको गुणस्तर र विषादीका अवशेषहरूलाई कारण देखाउँदै त्यस्ता अवरोधहरू भारतिय पक्षबाट हुने गरेको छ ।” निर्देशक खनालले भने, “तर भारतमै उत्पादन हुने चियाको तुलनामा नेपाली चियाको गुणस्तर निकै उच्च रहेको छ ।”  

    गत चैत ११ गतेदेखि १३ गतेसम्म संयुक्त राज्य अमेरिकाको लस भेगासमा सम्पन्न भएको वर्ड टि एक्स्पो २०२४ मा नेपालको सिद्धदेवी टि स्टेट प्रालिले वेभरोज च्यालेन्ज तर्फ ग्रान्ट क्याम्पेनको रूपमा पुरस्कृत भएको थियो । 

    विगत वर्षहरूमा पनि चीनमा भएको टि च्याम्पियनसिपमा नेपाली चिया उत्पादकहरूले गान्ड÷गोल्ड मेडल जितेको उनले बताए । सो आधारमा भारतीय पक्षबाट नेपाली चियालाई गुणस्तरका सम्बन्धमा लगाएको आरोपमा कुनै आधार नभएको निर्देशक खनालको तर्क छ ।

    यस्ता समस्याहरूलाई दिगोरूपमा सम्बोधन गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गत रहेका प्रयोगशालाहरूलाई सबल बनाई अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम एक्रिडिटेसन गर्न आवश्यक रहेको उनले बताए । नेपाली चियाको दिगो बजारीकरण गर्न अब भारतीय बजारको विकल्प खोज्नुपर्ने बोर्डले बताउँदै आएको छ । 

    चीन, पाकिस्तान, रुस, अमेरिका, जर्मनी लगायत युरोपेली बजारमा निकासी भइरहेको नेपाली चियाको परिमाण बढाउन सके नेपाली चियोको बजारीकरणका यस्ता समस्याहरूको दिगो समाधान गर्न सकिने प्रशस्त सम्भावना रहेको निर्देशक खनालले बताए । 

    चिया दिवसको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमार्फत निर्देशक खनालले चिया उत्पादक संघसंस्थाहरू, निजी एवं सहकारी क्षेत्रहरूलाई एकजुट भई चियामा देखिएको समस्या समाधान गर्न आग्रहसमेत गरेका छन् ।

    यस्तो छ नेपालमा चिया खेतीको इतिहास 

    नेपालमा चिया खेती हुन थालेको डेढ शताव्दी भइसकेको छ । वि.सं. १९२० मा कर्णेल गजराज सिंह थापाले चीनबाट उपहारस्वरुप प्राप्त भएको चियाको विरुवा इलामा रोपेपछि नेपालमा नेपालमा चियाखेतीको सुरुवात भएको मानिन्छ । नेपाली चियाको इतिहास लगभग एक सय ६० वर्ष पुरानो भएको बोर्डले जनाएको छ । 

    वि.सं. २००७ सालमा राणा शासनको अन्त्य भएर प्रजातन्त्र प्राप्ति भएपछि मात्रै नेपालमा चिया खेतीका लागि वातावरण बन्दै गयो । वि।सं। २०१६ मा झापाको रङ्गियाडाँडामा बुधकरण चिया बगानको नाममा नीजि स्तरमा पहिलो चिया बगान स्थापना गरियो ।

    त्यसैगरी, सरकारी स्तरमा वि.सं. २०२३ असोज २३ गते नेपाल चिया विकास निगमको स्थापना भयो । सुरुवाती चरणमा प्रशोधन कारखानाको अभावमा दार्जिलिङकै कारखानाहरुमा हरियो पत्ती बेच्नु पर्ने बाध्यता थियो । तर २०३५ सालमा इलाममा र त्यसको केही वर्षपछि झापाको सोक्तिममा प्रशोधन कारखाना खोलियो । 

    चिया उद्योगले राज्यको आर्थिक र सामाजिक विकासमा पुर्याएको योगदानलाई मध्यनजर गर्दै वि.सं. २०३९ सालमा तत्कालिन राजा वीरेन्द्रको शासनकालमा नेपाल सरकारले पूर्वाञ्चलका ५ वटा जिल्ला (झापा, धनकुटा, तेह्रथुम, पाँचथर र इलाम)लाई चियाक्षेत्र घोषणा गर्यो ।

    चिया विकास निगम नाफामूलक संस्था भएकाले चिया क्षेत्रको थप विस्तार एवम विकासका लागि सरकारी स्तरकै गैरनाफामूलक संस्थाको अवश्यकता महसुस गरियो । फलस्वरूप वि.सं.२०५० जेष्ठ २० गते राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ऐन २०४९ मार्फत राष्ट्रिय चिया तथा कफी विकास बोर्डको स्थापना भयो ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार