images
images

मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण

मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण

शुक्रवार, बैशाख २८ २०८१
शुक्रवार, बैशाख २८ २०८१
  • मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण
    images
    images

    म्याग्दी / राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ खण्डमा वैकल्पिक सडक निर्माण भएको छ । 

    गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक महत्वको सडक’ आयोजना कार्यक्रममार्फत लोमान्थाङ गाउँपालिकाको १, २ र ५ नम्बर वडालाई जोड्ने बेनी–जोमसोम–कोरला राष्ट्रिय राजमार्गको लोमान्थाङ–नेचुङ खण्डको वैकल्पिक सडक निर्माण भएको हो । 

    गाउँपालिकाको केन्द्र लोमान्थाङबाट ढिङगर–चुमजुङ–न्याम्डो हुँदै छोसेरको नेचुङ भन्सार जोड्ने १० दशमलव पाँच किलोमिटर  सडक विस्तार, नाली, पर्खाल निर्माण र ग्राभेल गरेर स्तरोन्नति गरिएको पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख अजय श्रेष्ठले बताए । 

    इमाटोल कन्ट्रक्सनले विसं २०७६ साउन ६ गते ठेक्का सम्झौता गरेको यो योजना विसं २०७७ फागुन ७ गते सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

    पेस्कीबापत लगेको रु ९७ लाख फिर्ता गरेर जमानत जफत र कारबाही प्रक्रिया अघि बढाएपछि निर्माण व्यवसायीले गत जेठमा काममा फर्किएर पूर्णता दिएका हुन् । 

    यो सडकको निर्माण अवधि कोरोना महामारी, भौगोलिक विकटता र प्रतिकूल मौसमका कारण लम्बिएको निर्माण कम्पनीका प्रतिनिधि सुदीप खड्काले बताए । 

    प्रारम्भमा रु २१ करोड १७ लाखमा ठेक्का सम्झौता भएको सडकको ‘भेरियसन अर्डर’ गर्ने क्रममा लागत बढेर रु २४ करोड पुगेको छ । 

    हालसम्म रु १८ करोड भुक्तानी भइसकेको छ । सडकको घुम्ती, ग्रेड सुधार र नाली निर्माणका साथै आठ मिटरका दरले ग्राभेल भएको पूर्वाधार विकास कार्यालय मुस्ताङका प्राविधिक सतिश पनेरुले बताए । 

    राष्ट्रिय राजमार्गको विकल्पको साथै धेरै बस्तीलाई छुने भएकाले यो सडकलाई रणनीतिक महत्वको मानिएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्वु गुरुङले बताए । 

    स्थानीयवासी, पर्यटक र व्यवसायीलाई गाउँपालिकाको केन्द्र र कोरलानाका आवतजावतका साथै ढुवानी र निकासीमा सहज भएको छ । 

    स्तरोन्नतिको क्रममा रहेको चराङ–छोसेर खण्ड जीर्ण भएको र नदीमा मोटरेबल पुुल निर्माण नसकिएकाले कोरलानाका जानेआउने सवारीसाधनले प्रदेश सरकारले बनाएको सडक प्रयोग गरिरहेका छन् । 

    लोमान्थाङबाट पुवा हुँदै चक्रपथको किमलिङ जोड्ने तीन दशमलव पाँच किलोमिटर सडक स्तरोन्नतिको तयारी भएको छ । यसैगरी न्यानोल–सम्जोङ–छोसेर–चेनुङ जोड्ने अर्को छ दशमव पाँच किलोमिटर सडक स्तरोन्नतिको तयारी भएको गाउँपालिकाका अध्यक्ष गुरुङले बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार