वैदेशिक रोजगारीका लागि ११ महिनामै ६ लाख ८२ हजार नेपाली विदेशिए, युएईमा आकर्षण बढ्दो

वैदेशिक रोजगारीका लागि ११ महिनामै ६ लाख ८२ हजार नेपाली विदेशिए, युएईमा आकर्षण बढ्दो

चालु अर्थिक बर्षको जेठ महिनामा मात्रै ७२ हजार ८ सय ६१ नेपाली कामको खोजीमा विदेशिएका हुन् ।

सोमवार, असार ३ २०८१
सोमवार, असार ३ २०८१
  • images
    images
    वैदेशिक रोजगारीका लागि ११ महिनामै ६ लाख ८२ हजार नेपाली विदेशिए, युएईमा आकर्षण बढ्दो

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को जेठ महिनामा मात्रै कामको खोजीमा करिब ७३ हजार नेपाली विदेशिएका छन् । 

    images
    images

    वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु अर्थिक बर्षको जेठ महिनामा मात्रै ७२ हजार ८ सय ६१ नेपाली कामको खोजीमा विदेशिएका हुन् । 

    जसमा ६४ हजार ८ सय ८६ पुरुष र ७ हजार ९ सय ७५ महिला छन् । गत वैशाखमा ७० हजार व्यक्ति रोजगारीको खोजीमा विदेश गएका थिए ।

    यस्तै, विभागको अनुसार चालु आर्थिक बर्षको ११ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या ६ लाख ८२ हजार ३८६ पुगेको छ । यो नयाँ र पुनः श्रम स्वीकृति लिएर जाने दुवैको संख्या हो ।

    यता, गत आर्थिक वर्ष २०७९/८० मा वैदेशिक रोजगारीमा जानेको संख्या ७ लाख ७१ हजार पुगेको थियो ।

    चैतयता प्रत्येक महिना ७० हजार हाराहारीमा नेपालीहरू वैदेशिक रोजगारीमा गइरहेको विभागको तथ्याङ्क छ । यो तथ्याङ्कअनुसार साउनसम्म वैदेशिक रोजगारीमा जानेको संख्या साढे सात लाख पुग्ने देखिन्छ ।

    युएईमा आकर्षण बढ्दो 

    चालु आवको सात महिनामा वैदेशिक रोजगारीमा जाने नेपाली युवाको पहिलो श्रम गन्तव्य युएई बनेको छ । गत वर्ष भने मलेसियामा नेपालीको लर्को लागेको थियो । 

    साउनदेखि जेठसम्ममा १ लाख ७४ हजार ९१७ जनाले श्रम स्वीकृति लिएका छन् । केही वर्ष बसेपछि यूएईलाई गन्तव्य बनाएर युरोप, अमेरिका, क्यानडा, अस्ट्रेलियालगायतका देशमा जाने क्रम बढेका कारण पछिल्लो समय यूएई नेपालीको पहिलो रोजाइमा पर्ने गरेको देखिन्छ । 

    यस्तै, जेठसम्म ८७ हजार जना मलेसिया गएका छन् । जेठमा मात्र संयुक्त अरब इमिरेट्स (यूएई)मा २० हजार ४२४ जना गएका छन् । 

    त्यस्तै मेलेसियामा ८ हजार ७५२ जना पुगेका छन् । कतारमा ११ हजार ९७३, साउदी अरबमा १३ हजार ३६६ र कुवेतमा ३ हजार ४३२ जना रोजगारीका लागि पुगेका छन् ।

    यता, युरोतिर्फ पनि कामको खोजीमा जाने नेपालीको संख्या बढ्दै गइरहेको पाइएको छ । जेठ महिनामा क्रोएसियामा २ हजार ९२२ जना, रोमानियामा १ हजार ९४६ जना, साइप्रसमा ८९९, माल्टामा २८१ र प्रोचुगलमा १३९ जना रोजगारीका लागि पुगेका छन् ।

    दक्ष कामदार कति ? 

    जेठ महिनामा सबैभन्दा धेरै नेपाली काम सिकेर रोजगारका लागि विदेशमा गएको देखिन्छ । जेठमा विदेश गएका ७२ हजार ८ सय ६१ युवाहरू मध्ये ५१ हजार ६ सय २० नेपालीले काम सिकेर गएको देखिएको छ ।  

    यस्तै, १४ हजार ६ सय ३१ नेपालीले भने अदक्ष रूपमै श्रम स्वीकृति लिएको देखिन्छ । जेठमा सेमिस्किल्ड नेपालीको संख्या ६ हजार २६ छ । प्रोफेसनल र हाइस्किल्ड नेपालीको संख्या क्रमशः ४ सय ९० र ९४ रहेको विभागको तथ्याङ्क छ ।

    1.JPG

    कुन महिनामा कति गए ?

    विभागका अनुसार चालु आर्थिक वर्षको साउनमा ५५ हजार ५७५, भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५ र कात्तिकमा ४३ हजार ६२२ रोजगारीका लागि विदेश गएका छन् ।

    त्यस्तै, मंसिरमा ६८ हजार २०१ र पुसमा ६५ हजार ८१३ नेपाली विदेश गएका छन् ।माघमा ६२ हजार १४७, फागुनमा ६५ हजार ६५८, चैतमा ७० हजार ९३३, वैशाखमा ७० हजार ६३७ र जेठमा ७२ हजार ६ सय ८१ जना रोजगारीका क्रममा विदेशिएको तथ्याङ्क छ ।

    रेमिट्यान्स पनि बढ्दै

    नेपालबाट कामको खोजीमा विदेशीने युवाको संख्या बढेसंगै विदेशबाट नेपालीले पठाइरहेको रेमिट्यान्स मा हरेक महिना बढीरहेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेका देशको आर्थिक तथा वित्तीय प्रतिवेदनले देखाएको छ । 

    राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू वर्षको १० महिनाको अवधिमा १९.२ प्रतिशतले बढेर ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ । 

    अघिल्लो वर्षको सोही अवधिमा २३.४ प्रतिशतले रेमिटेन्स आप्रवाह बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.१ प्रतिशतले वृद्धि भएको छ । 

    यससँगै यस अवधिमा ९ अर्ब २ करोड डलर रेमिटेन्स भित्रिएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.४ प्रतिशतले बढेको थियो ।

    १५ बर्षमा ७१ लाख ७७ हजार नेपाली बाहिरिए 

    वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार १५ वर्षको अवधिमा रोजगारीको खोजीमा ७१ लाख ७७ हजार ८ सय ७६ जना विदेशिएका छन् । यसरी हेर्ने हो भने हरेक बर्ष औसतमा करिब ५ लाखको हाराहारीमा विदेशिएका छन् भने स्वदेश फर्किएको युवाको भने तथ्याङ्क नराखेको विभागले जनाएको छ ।

    वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत आर्थिक बर्ष २०७९/८० मा वैदेशिक रोजगारमा जानेको संख्या १४ वर्षयताकै उच्च देखिएको छ । गत आर्थिक बर्ष ७ लाख ७१ हजार ३ सय २७ जना विदेशिएका थिए । 

    यस्तै, आर्थिक वर्ष २०६५/६६ मा २ लाख १९ हजार ९६५ जना, २०६६/६७ मा २ लाख ९४ हजार ९४ जना, २०६७/६८ मा ३ लाख ५४ हजार ७१६ जना र २०६८/६९ मा ३ लाख ८४ हजार ६६५ जना विदेशिएका थिए ।  आर्थिक वर्ष २०६९/७० मा यो संख्या बढेर ४ लाख ५० हजार ८८९ पुगेको थियो ।  २०७०/७१ मा ५ लाख २७ हजार ८१४ विदेशिएको तथ्यांकले देखाउँछ । तर, आर्थिक बर्ष २०७१/७२ मा भने यो संख्या केही घटेको थियो । उक्त वर्ष ४ लाख ९९ हजार १०२ युवा कामको खोजीमा विदेशिएका थिए । 

    त्यसपछि आर्थिक बर्ष २०७२/७३ मा भूकम्पका कारण वैदेशिक रोजगारमा जानेको संख्या घटेको थियो । उक्त बर्ष ४ लाख ३ हजार १७४ जना, २०७३/७४ मा ३ लाख ८३ हजार ४९३ र २०७४/७५ ३ लाख ५४ हजार ८२ जना विदेशिएका थिए ।विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५/७६ संख्या अझ घट्न थालेको देखिन्छ । उक्त वर्ष २ लाख ३६ हजार २०८ जना कामको खोजीमा विदेश पुगेको तथ्याङ्क छ । 

    यस्तै, २०७६/७७ कोभिड महामारीका कारण वैदेशिक रोजगारमा जानेको संख्या अझै धेरै घट्यो । उक्त वर्ष एक लाख ९० हजार ४५३ जना कामको खोजीमा विदेशिए । २०७७/७८ कोभिडको प्रभाव अझ बढी देखियो । उक्त वर्ष ७२ हजार ८१ जना मात्रै गए । तर, २०७८/७९ मा कोभिड महामारीको अवस्था केही सामान्य बन्दै गएपछि भने विदेश जानेको संख्या अत्यधिक देखिएको छ  । उक्त वर्षमा ६ लाख ३० हजार ९७ युवा कामको खोजीमा विदेशिएको देखिन्छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार