ढोरपाटन (बागलुङ) / बसाइँसराइले गाउँ रित्तिँदैछन् । युवा पलायन निरन्तर बढ्दो छ । त्यसैले गाउँ नछोडेका परिवारमा पनि बूढापाका र बालबालिका मात्रै भेटिन्छन् । गाउँका खेतीयोग्य जमिन कि बाँझै छन् कि झाडीले ढाकिँदैछन् । यी नेपालका साझा समस्या हुन् ।
यस्तै, समस्याबाट बागलुङ पनि अछुतो छैन । जैमिनी नगरपालिका–७ जैदीबोरका कुशल रानाको परिवार यसको एक उदाहरण हो ।
उनको परिवारले दश वर्षअघि गाउँ छाड्यो । केही समय काठमाडौँमा बिताएका राना परिवारर्ला यही छाडेर रोजगारीका लागि दुई वर्ष कतार गए ।
कतारमा सोचेजस्तो कमाई भएन, फेरि आफ्नै देश फर्किए तर गाउँ आएनन् । रानाले म्याग्दी र बागलुङका विभिन्न ठाउँमा काम गरे तर जहाँ गए पनि सोचेको जस्तो भएन ।
यसैकारण उनी १० वर्षपछि आफ्नै गाउँ फर्किए। हाल बाख्रापालन व्यवसाय गरिरहेका छन् ।
“सहर पसेपछि राम्रो होला भनेर गाउँ छाडे, त्यहाँ पनि सोचेजस्तो नभएपछि विदेश लागेँ । विदेश त झनै अप्ठेरो रहेछ, त्यहाँ पनि बस्न सकिएन । जताततै हण्डर खाए, त्यसैले गाउँ छाडेको १० वर्षपछि आफ्नै गाउँ फर्किएँ,” रानाले भने ।
४० वर्षीय राना तीन वर्षदेखि बाख्रापालन व्यवसाय गरिरहनुभएको छ । रु पाँच लाख ऋण काढेर सुरु गरेको व्यवसायमा हाल रु २० लाखभन्दा बढी लगानी पुगेको छ ।
करिब २० रोपनी जमिनमा डाले र उन्नत जातको घाँस छ, ४० भन्दा बढी बाख्रा छन् । उनी हाल वार्षिक रु सात लाखभन्दा बढी आम्दानी हुने गरेको बताउछन्।
सहर र विदेश जाँदासमेत दुःखले नछाडेपछि गाउँ फर्किएका राना सफल उद्यमी बन्ने सोचमा छन् तर उनको परिवार अझै विश्वस्त छैन । गाउँमै केही गर्न सकिन्छ भन्ने आश्वस्त पारेपछि मात्रै काठमाडौँमा रहेको परिवारलाई गाउँ फर्काउने योजना रहेको उनले सुनाए ।
“गाउँ छाडेपछि यहाँको घर जीर्ण बनिसकेको थियो । अहिले मर्मत गरेर पुरानै शैलीमा फर्काएको छु । व्यवसायलाई पनि विस्तार गर्दैछु । फार्ममा स्थानीय र बोयर जातका बाख्रा छन् । एक सय बोयर बाख्रा पुर्याउने योजना छ । कम्तीमा ५० माउ पुर्याउन सकेमा वर्षमा एक सय बोका उत्पादन गर्न सकिन्छ भन्ने अनुमान छ । त्यसो हुँदा वार्षिक रु २५ लाख कारोबार गर्न सकिन्छ भन्ने विश्वास छ । त्यसपछि त परिवार पनि गाउँ फर्किएला कि”, रानाले आशा व्यक्त गरे ।
वर्षौंवर्ष गाउँमा बिताएर पनि सम्भावना नदेखेपछि सहर र त्यहाँबाट विदेश गएका रानालाई गाउँमै सम्भावना छ भन्ने थाहा पाउन धेरै समय लाग्यो । त्यसमा पनि दुई वर्षको विदेश बसाइले धेरै पाठ सिकायो ।
उनले भने, “सहरदेखि विदेशसम्म गइयो, देशभित्रै पनि काम गरियो तर हण्डरठक्कर मात्रै खाइयो । अहिले आफ्नै गाउँमा खेती किसानी र बाख्रापालन गरिरहेको छु । गाउँमै यति ठूलो सम्भावना रहेछ भन्नेबारे बल्ल थाहा पाएँ,” रानाको कथन छ,“मेरो परिवार अहिले पनि सहरमै छ, अचेल त यो गाउँ, यहाँको माटो र हावापानी प्रिय लाग्न थालेको छ । अब गाउँ छोडेर कत्तै जान्न, बरू परिवारलाई चाँडै फर्काउँछु ।”
अहिले उनको व्यवसाय विकासका लागि विभिन्न सङ्घसंस्थाले समेत सहयोग गर्न थालेका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत रानाले रु सात लाख ५० हजार अनुदान सहयोग पाउन भएको छ ।
परियोजना प्रमुख नारायण पौडेलले गाउँमै आएर युवाले उद्यमी बन्ने लक्ष्य राखेका युवालाई प्रोत्साहनका लागि पहिलो वर्ष रु दुई लाख ५० हजार र चालु आर्थिक वर्षमा रु पाँच लाख सहयोग गरिएको जानकारी दिए ।
“गाउँमा युवा भेट्टाउन मुस्किल भएका बेला उहाँ गाउँ फर्केर उद्यममा जोडिनुभएको छ । त्यसैले प्रोत्साहनका लागि नस्ल सुधारका लागि सहयोग गरेका थियौँ,” प्रमुख पौडेलले भने, “उहाँलाई मात्रै होइन उद्यमशील बन्न चाहने अन्य युवालाई पनि सहयोग गर्ने हाम्रो नीति हो । रानाको व्यवसायबाट अन्य युवाले पनि पाठ सिकेर उद्यमशील बन्न आवश्यक छ, हाम्रो सहयोग रहन्छ ।”
रानालाई जैमिनी नगरपालिकाले पनि सहयोग गरेको छ । नगरपालिकाले गत वर्ष रु ४२ हजार पर्ने मकै पिस्ने उपकरण अनुदानमा दिएको उपप्रमुख हरिहर शर्माले जानकारी दिए ।
गाउँमा व्यवसाय गर्ने युवालाई नगरपालिकाले प्रोत्साहन र सम्मान गर्ने नीति लिएको उनले बताए।
“किसानलाई व्यवसायतर्फ आकर्षित गर्न उद्यमीलाई प्राविधिक तथा अनुदान सहयोग दिन थालेको छौँ । धेरैका लागि प्रेरणा हुने काम गरिरहेका रानाजस्ता युवालाई प्रोत्साहनको खाँचो छ, जसले अरूलाई पनि उद्यमशील बन्न उत्प्रेरणा मिल्न सक्छ,” शर्माले भने ।