काठमाडौँ / काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेट पास भएको छ।
मंगलबार राष्ट्रिय सभा गृहमा बसेको नगरसभाको १५औं अधिवेशनअन्तर्गत पाँचौं बैठकले नीति तथा कार्यक्रम र बजेट पारित गरेको हो ।
महानगरको पहिलो बैठकमा पेस भई दोस्रो बैठकमा छलफल भएको नीति तथा कार्यक्रममाथि प्रस्तुत संशोधन प्रस्ताव तथा विषय समावेश गरी पारित गरिएको मेयर शाहले घोषणा गरेका थिए । त्यस्तै छलफलपछि महानगरको बजेट पनि पारित भएको हो ।
उक्त संशोधित नीति तथा कार्यक्रम र बजेट नगर सभा सदस्यहरूले सर्वसम्मत पास गरेका हुन्।
आज भएको बैठकमा नगर सभा सदस्यहरूले बजेट संशोधनका लागि आफ्नो धारणा व्यक्त गरेका थिए। उक्त प्रस्ताव यथासम्भव संशोधन गर्ने गरी सर्वसम्मत पारित भएको हो।
महानगरको नगर सभामा उपप्रमुख सुनिता डंगोलले असार १० गते २५ अर्ब ७० करोड ६३ लाखको बजेट प्रस्तुत गरेकी थिइन् ।