images
images

नागरिक लगानी कोषको ब्याजदर परिवर्तन, अब कुन योजनामा कति पाइन्छ ?

नागरिक लगानी कोषको ब्याजदर परिवर्तन, अब कुन योजनामा कति पाइन्छ ?

मंगलवार, साउन १ २०८१
मंगलवार, साउन १ २०८१
  • नागरिक लगानी कोषको ब्याजदर परिवर्तन, अब कुन योजनामा कति पाइन्छ ?

    काठमाडौँ / नागरिक लगानी कोषले कर्मचारी बचत वृद्धि अवकाश कोषका सहभागीहरूलाई नियमित ब्याजका अतिरिक्त आर्थिक वर्ष २०७९/८० को नाफाबाट १.२५ प्रतिशत थप प्रतिफल दिने भएको छ । 

    कोष सञ्चालक समितिले उक्त प्रतिफल दिने निर्णय गरेको हो । आव  २०७९/८० को नाफाबाट तत्कालिन सहभागीहरूलाई २०७९ चैत मसान्तसम्मको मौज्दातमा उक्त प्रतिफल दिइने कोषले जनाएको छ ।

    यसरी प्रतिफल वितरण गर्दा बचत वृद्धि अवकाश कोषका साढे ३ लाख सहभागीहरूलाई करिब १ अर्ब ६६ करोड रुपैयाँ वितरण हुने कोषका सूचना अधिकारी उद्धव सिलवालले बताए ।  

    यसैगरी कोष सञ्चालक समितिको निर्णय अनुसार चालु आवको साउन १ देखि ब्याजदर पनि परिवर्तन भएको छ । परिवर्तित ब्याजदर अनुसार कर्मचारी बचत वृद्धि अवकाश कोषका सहभागीलाई दिइने ब्याजदर ६.५० प्रतिशत कायम भएको छ । 

    यो योजनाको ८० प्रतिशत ऋण सापटीको ब्याजदर ८ प्रतिशत निर्धारण भएको छ । यस अघि यसको ब्याजदर ८.५ प्रतिशत रहेको थियो । 

    नागरिक एकांक योजनाको संस्थागततर्फ ब्याज ७ प्रतिशत र व्यक्तिगततर्फ ७.५० प्रतिशत निर्धारण गरिएको छ । यसैगरी उपदान तथा पेन्सन योजनामा ५.५०, लगानीकर्ता अवकाश कोष योजनामा ५.५०, नार्क बिमा कोषमा ६ र राष्ट्रसेवक जीवन बिमा कोषको ५.५० प्रतिशत ब्याजदर कायम गरिएको छ ।

    कर्जाको ब्याजदर तर्फ शैक्षिक कर्जाको हकमा ८.५०, आवास कर्जामा ८.५०, सरल कर्जामा ९, र सवारी कर्जामा ९ प्रतिशत कायम भएको छ । यसपूर्व शैक्षिक कर्जामा ९.५०,आवास कर्जामा ९, सरल कर्जामा ९.५० र सवारी कर्जामा ९.५० प्रतिशत ब्याजदर रहेको थियो ।

    कोषले सहभागीहरूलाई प्रदान गर्ने ब्याज र कर्जामा लिने ब्याजदर प्रत्येक त्रयमासमा पुनरावलोकन गर्ने गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार