images
images

पञ्चकन्या समूहको साख उकालो लाग्दै तर ओर्लिदै व्यापार

पञ्चकन्या समूहको साख उकालो लाग्दै तर ओर्लिदै व्यापार

मंगलवार, साउन २२ २०८१
मंगलवार, साउन २२ २०८१
  • पञ्चकन्या समूहको साख उकालो लाग्दै तर ओर्लिदै व्यापार
    images
    images

    काठमाडौँ / नेपालीको औद्योगिक समूह भन्ने वित्तिकै जनजिब्रोमा आइहाल्ने नाम हो ‘पञ्चकन्या’ । सन् १९७० को दशकमा उदाएको यो समूहको अहिले  पञ्चकन्या स्टिल, पञ्चकन्या प्लास्टिक उद्योग प्रालि, पञ्चकन्या रोटोमोल्ड र पञ्चकन्या प्लास्टलगायतका कम्पनीहरू सञ्चालनमा छन् ।

    पूर्वी पहाडमा आलु बिक्री गरेर व्यवसायी बन्ने सपना देखेका इलामका प्रेमबहादुर श्रेष्ठ ५२ बर्ष अघि पञ्चकन्या समूहको सुरुवात गरे । उनले सुरु गरेको व्यवसाय अहिले तेस्रो पुस्ताले अघि बढाइरहेका छन् । पञ्चकन्या समूहलाई अध्यक्ष श्रेष्ठका छोराहरू प्रदीपकुमार श्रेष्ठ (प्रबन्ध निर्देशक), ध्रुव कुमार श्रेष्ठ (उपाध्यक्ष), नातिहरू उज्वल कुमार श्रेष्ठ र उदीप श्रेष्ठ (कार्यकारी निर्देशक)ले फैलाइरहेका छन् ।

    पञ्चकन्या चामल मिलबाट स्थापित पञ्चकन्या समूह अहिले व्यवसायिक घराना बनेको छ र हजारौँलाई रोजगारी दिएको छ । नेपाली अर्थतन्त्रमा महत्त्वपूर्ण योगदन पुर्याइरहेको पञ्चकन्याले जलविद्युत, सूचना प्रविधि, बैंक, बिमा, निर्माण कम्पनी, हाउजिङ, मोटरसाइकलदेखि हेभी इक्वीपमेन्टको व्यापारमा समेत लगानी गरेको छ ।

    यद्यपि, पञ्चकन्या निर्माण सामग्रीको उत्पादन, आयात र आपूर्तिमा विशिष्ट पहिचान बनाएको समूह हो । पञ्चकन्याका उत्पादनहरू स्टिल, पाइप एन्ड फिटिङ्स, पानीट्याङ्की आदि निर्माण क्षेत्रसँग सम्बन्धित रहेका छन् । पञ्चकन्या स्टील एनएस चिह्न, आईएसओ प्रमाणपत्र र आईएसओ १४००१ प्रमाणपत्र प्राप्त गर्ने देशकै पहिलो स्टील कम्पनी समेत हो । 

    कोभिड महामारीपछि देखिएको आर्थिक मन्दीको असर पञ्चकन्या समूहमा पनि परेको देखिन्छ । साख जमाउदै आएको यो समूहको व्यापार एक बर्षमै २ अर्ब २४ करोड रुपैयाँले घटेको छ । पञ्चकन्या समूहअन्तर्गतको पञ्चकन्या स्टिल प्रा.लि, पञ्चकन्या प्लाष्टिक इन्डष्ट्रिज प्रा.लि., पञ्चकन्या प्लास्ट प्रा.लि. र पञ्चकन्या रोटोमोल्ड प्रा.लि.ले सन् २०२२/२३ मा ७ अर्ब ८६ करोड रुपैयाँमा मात्रै व्यापार गरेको हो ।

    आर्थिक बर्ष सन् २०२१/२२ मा समूहले १० अर्ब १० करोड ९० लाख रुपैयाँ रुपैयाँको व्यापार गरेको थियो । तथ्याङ्क अनुसार समूहको व्यापार अघिल्लो बर्षको तुलनामा २२.२५ प्रतिशतले घटेको हो । 

    यसैगरी समूहले सन् २०२०/२१ मा ८ अर्ब ६३ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । सो आधारमा २०२१/२२ मा समूहको व्यापार १७ प्रतिशत बढीले बृद्धि भएको थियो । पछिल्लो समय अर्थतन्त्रमा देखिएको सुस्तताको कारण माग घट्दा पञ्चकन्या समूहको व्यापार प्रभावित बनेको हो ।

    कारोबार रकममा ह्रास आएको भए पनि समूहको नाफा मार्जिन १०.१६ प्रतिशत पुगेको छ । सन् २०२२ मा यस्तो नाफा ७.१५ प्रतिशत मात्रै थियो भने सन् २०२१ मा ५.८० प्रतिशतमा सीमित थियो । 

    पञ्चकन्या समूहअन्तर्गत कुन कम्पनीको व्यापार कस्तो ? 

    पञ्चकन्या समूहको उत्पादनहरू स्टिल, पाइप एन्ड फिटिङ्स, पानीट्याङ्की आदि विशेषगरी निर्माण क्षेत्रसँग सम्बन्धित रहेका छन् । तर, पछिल्लो समय निर्माण क्षेत्रमा देखिएको सुस्ताको कारण बजारमा माग बढ्न सकेको छैन ।

    जसले गर्दा यो समूहको कारोबार प्रभावित भएको हो । केयर रेटिङ नेपालले सार्वजनिक गरेको विवरण अनुसार  पञ्चकन्या स्टिल, पञ्चकन्या प्लास्ट, पञ्चकन्या रोटोमोल्ड र पञ्चकन्या प्लास्टिकको व्यापार खस्किएको छ । 

    पञ्चकन्या स्टिल

    पञ्चकन्या स्टिलमा अध्यक्ष प्रेमबहादुर श्रेष्ठ र प्रबन्ध निर्देशक प्रदिपकुमार श्रेष्ठसहित ७ जना बोर्ड सदस्य छन् । देशभर ९० ओटा डिलर रहेको कम्पनीले ५०० एक्सडी र ५५० एक्सडी रिबारहरू भैरहवामा उत्पादन गर्छ ।

    सन् १९९५ मा स्थापना भएको कम्पनीले भारतबाट कच्चा पदार्थको रुपमा एमएस ब्लेड आयात गरी नेपालमा डण्डी उत्पादन गर्दै आएको छ । कम्पनीले पञ्चकन्या ब्रान्डमा डण्डी उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ ।

     तथ्याङ्क अनुसार पञ्चकन्या स्टिलको व्यापार सन् २०२३ मा २४.२८ प्रतिशतले घटेको छ । सन् २०२१ म ५ अर्ब ५३ करोड २० लाख रुपैयाँको व्यापार गरेको पञ्चकन्या स्टिलले सन् २०२२ मा ६ अर्ब ७४ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । २०२२ मा व्यापार उकालो लागेको भए पनि सन् २०२३ मा घटेर ५ अर्ब ११ करोड रुपैयाँमा सीमित भएको थियो ।

    कम्पनीले चालु आवको चैतसम्म २ अर्ब ५९ करोड ५० लाख रुपैयाँ मात्रै आम्दानी गरेको छ । कम्पनीको नाफा ९.५ प्रतिशत रहेको छ भने सन् २०२३ मा कुल व्यापारको ५.३७ प्रतिशत नाफा गरेको थियो ।

    वार्षिक १ लाख ५० हजार मेट्रिक टन स्टिलजन्य डण्डी उत्पादन क्षमता रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ५ अर्ब १४ करोड ३१ लाख रुपैयाँको रेटिङ गराएको छ ।

    पञ्चकन्या रोटोमोल्ड

    पञ्चकन्या रोटोमोल्डले पञ्चकन्या ब्रान्डमै पाइप र फिटिङ्स सामग्री उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । यो कम्पनीमा पनि ७ जना बोर्ड सदस्य छन् । कम्पनीले उत्पादन गरेको उक्त सामग्री देशभर उपलब्ध रहेको जनाएको छ ।

    माग घटेसँगै यो कम्पनीको व्यापार २०२३ मा २६.१६ प्रतिशतले घटेको देखिएको छ । सन् २०२३ मा कम्पनीले ७८ करोड रुपैयाँ बराबरको मात्रै व्यापार गरेको छ । सन् २०२२ मा भने कम्पनीले एक अर्ब ५९ करोड रुपैयाँको व्यापार गरेको थियो । जुन सन् २०२१ को तुलनामा २३ प्रतिशतले बढी हो ।

    कम्पनीले सन् २०२० मा जम्मा ४५ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । कारोबार घटेको भए पनि कम्पनीले २०२३ मा कारोबार रकमको १२.१९ प्रतिशत नाफा गरेको छ ।

    सन् २०२२ मा कम्पनीको नाफा ९.४२ प्रतिशत थियो । कम्पनीले वार्षिक ५ हजार ४ सय मेट्रिक टन युपीभीसी पाइप र फिटिङ उत्पादन गर्दै आएको छ । कम्पनीले अल्पकालीन कर्जाका लागि १ अर्ब १० करोड १० लाख रुपैयाँको रेटिङ गराएको छ ।

    पञ्चकन्या प्लास्ट

    पञ्चकन्या प्लास्ट सन् २००३ देखि पीपीआर र सीपीभीसी पाइप तथा फिटिङ्स उत्पादन गर्दै आइरहेको छ । वार्षिक ५ हजार मेट्रिक टन उत्पादन क्षमता रहेको कम्पनीले पञ्चकन्या ब्रान्डमा सामग्री बिक्री गर्दै आएको  छ ।

    पञ्चकन्या प्लास्टको कारोबार रकम पनि सन् २०२३ मा २१.५८ प्रतिशतले घटेको छ । २०२३ मा पञ्चकन्या प्लास्टले ७३ करोड ४० लाख रुपैयाँको कुल व्यापार गरेको हो । जबकि २०२२ मा कम्पनीले ९३ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । 

    सन् २०२१ मा कम्पनीले ८९ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो भने सन् २०२० मा भने ९३ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । बजारमा पाइप तथा फिटिङ्सको उच्च प्रतिस्पर्धा र मन्दीका कारण बिक्री घट्दा व्यापार प्रभावित भएको कम्पनीले जनाएको छ ।

    कम्पनीले थाइल्यान्ड र सिंगापुरबाट कच्चा पदार्थ आयात गरी पोलिप्रोपाइलिन र्‍यान्डम कोपोलिमर (पीपीआर) र क्लोरिनेटेड पोलिभिनाइल क्लोराइड (सीपीभीसी) पाइप र फिटिङ उत्पादन गर्दै आएको छ । 

    कम्पनीले सन् २०२२ मा कुल आम्दानीको १४.१६ प्रतिशत मात्रै नाफा गरेकोमा सन् २०२३ मा यस्तो नाफा बृद्धि गरी १५.८७ प्रतिशत पुर्याएको छ । पञ्चकन्या प्लास्टले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब २४ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको छ ।

    पञ्चकन्या प्लाष्टिक 

    पञ्चकन्या प्लास्टिक उद्योग प्रा.लि. सन् १९८२ देखि नै बजारमा स्थापित कम्पनी हो । यो कम्पनीले ९ हजार मेट्रिक टन एजडीपीइ पाइप तथा फिटिङ्स सामग्री उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।  भारतबाट कच्चा पदार्थ आयात गरी पाइप उत्पादन गर्दै  आएको यो कम्पनीको व्यापार पनि प्रभावित भएको छ । सन् २०२३ मा कम्पनीको व्यापार करिब ९.६७ प्रतिशतले घटेको तथ्याङ्कमा उल्लेख छ । 

    सन् २०२२ मा १ अर्ब ३६ करोड ५० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२३ मा भने १ अर्ब २३ करोड ३० लाख रुपैयाँको मात्रै व्यापार गर्न सकेको हो । सन् २०२१ मा भने कम्पनीले १ अर्ब ३४ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । व्यापार घटे पनि कम्पनीको नाफा भने बढेको छ ।

    कम्पनीले सन् २०२३ मा कारोबार रकमको ८.१९ प्रतिशत नाफा गरेको देखिएको छ । जबकि सन् २०२२ मा यस्तो नाफा ५.२२ प्रतिशतमा सीमित थियो । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ५ अर्ब १४ करोड ३१ लाख रुपैयाँको रेटिङ गराएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार