images
images

नेप्से १४५ अङ्कले घट्दा कारोबारमा नयाँ रेकर्ड, बजारमा पहिरो आउनुको कारण के ?

नेप्से १४५ अङ्कले घट्दा कारोबारमा नयाँ रेकर्ड, बजारमा पहिरो आउनुको कारण के ?

सेयर बजारमा उच्च अंकको गिरावट आउनुको कारण प्रोफिट बुक हो कि सांसदहरूको आरोप तथा बंगलादेशको आन्दोलन हो ?

मंगलवार, साउन २२ २०८१
मंगलवार, साउन २२ २०८१
  • नेप्से १४५ अङ्कले घट्दा कारोबारमा नयाँ रेकर्ड, बजारमा पहिरो आउनुको कारण के ?

    काठमाडौँ / सेयर बजारमा उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर कारोबार मापक नेप्से परिसूचक आज १४५.०५  अङ्कले ओरालो लागेको हो । 

    उच्च गिरावट आएसँगै दुई हजार ६५१ मा सीमित भएको छ । कारोबार भएका १३ वटा उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ । 

    ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २७.२२ अङ्कले ओरालो लागेर चार सय ६४.५६ मा सीमित भएको छ ।

    कुल पाँच करोड ३८ लाख ४४ हजार २३७ कित्ता सेयर २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८ सय ७४ रुपैयाँ मूल्यमा कारोबार भयो । 

    नेप्सेका अनुसार घटेको बजारमा थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । 

    कुर्थली बुखरी स्मल हाइड्रोपावर ९.९७, लक्ष्मी भ्याल्यू फण्ड दोस्रो ३.९४, मेघा म्युचुअल फण्ड पहिलो ३.८१ र रुरु जलविद्युत् परियोजनाका लगानीकर्ताले ३.१६ प्रतिशतले कमाएका छन् ।

    नेपाल फाइनान्स,गुर्खाज फाइनान्स, सेन्ट्रल फाइनान्स,पञ्चकन्या माइ हाइड्रो पावर र एनआरएन इन्फास्ट्रक्चरको सेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । 

    कारोबार रकमका आधारमा मङ्गलबार १ अर्ब ३९ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर कारोबार गर्दै हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। 

    त्यस्तै, नेपाल रि इन्स्योरेन्सको ४८ करोड ३६ लाख रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ भने सिईडिबी हाइड्रोपावरको ४३ करोड १८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

    आज १३ वटै उपसमूहको परिसूचक घटेका छन्। जसमध्ये वित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक ८ प्रतिशतभन्दा बढी घटेको छ। 

    त्यस्तै, यस दिन लगानी र जीवन बीमा उपसमूहको परिसूचक ६ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, विकास बैंक र निर्जीवन बीमा उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी घटेको छ।

    के कारणले घट्यो बजार ?

    पूर्वअर्थमन्त्री एवम् नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले सोमबार संसद्मा बोल्दै केही कम्पनीका सेयर मूल्य अस्वभाविकरूपमा बढेको देखिएको बताएका थिए । 

    त्यस्ता कम्पनीको सेयर कारोबारमा बदमासी भएकोबारे नियामकले अनुसन्धान गर्नुपर्ने बताउँदै उनले भनेका थिए “पछिल्लो समय शेयर बजारमा गति देखिएको छ । तर शेयर बजारमा जसरी ‘बुलिस ट्रेण्ड’ देखिएको छ, त्यसलाई हामीले सहजरुपमा लिनसक्ने अवस्था अवश्य छैन । त्यहाँ केहि चलखेलको सम्भावना प्रशस्त देखिएका छन् ।”

    पुँजीबजारमा केहि व्यक्तिले ‘इन्साइडर ट्रेडिङ’ गरेको हुनसक्ने पूर्वअर्थमन्त्री महतले आशंका छ । 

    त्यस्तै, स्वतन्त्र सांसद्  अमरेश कुमार सिंहले इन्भेस्टर र ब्रोकरको कार्टेलिङबाट कृत्रिम रूपमा सेयर मूल्य बढाइएको आरोप लगाउँदै उनले केही कम्पनीका उदाहरणसमेत दिएका थिए । 

    उनले केही धितोपत्र र लगानीकर्ताको नामै लिएर बुक भ्यालु कम रहेको कम्पनीको प्राइस र अर्निङ रेसियो कहाँबाट के–कारणले बढेको भन्दै प्रश्नसमेत गरेका थिए ।

    इन्भेस्टर र सेयर ब्रोकरको सिन्डिकेटलाई मोडस अपरेन्डीका रूपमा प्रयोग गरेर अनलाइन क्लब हाउसले जनतालाई गुमराहमा राख्ने, सोसल मिडियाबाट प्रोपोगान्डा गर्ने र कर्नरिङ गर्ने काम भइरहेको उनको आरोप थियो।

    इन्भेष्टर्स फोरम नेपालका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार भने बजारमा करेक्सन आउनु स्वभाविक बताउँछन् । 

    नेप्से परिसूचक ७ सय अंकले बढेर १४५ अंकको करेक्सन आउनु नराम्रो नभएको उनको भनाई छ । 

    उनले भने, “बिचमा करेक्सन आउनुपथ्र्यो तर मार्केट निरन्तर बढ्यो । बिचमा इन्ट्राडे करेक्सन भएर पनि बढेको हो त्यो । तर पनि १४५ अंक घट्दा प्रोफिट बुक गरेको देखिन्छ ।”

    उच्च अंकको कारोबारसँगै आज बजारमा २३ अर्ब बढीको कारोबार भएको छ । जुन कारोबार रकममा नयाँ रेकर्ड हो । 

    एकैपटक १४५ अंकको करेक्सन आउँदा पहिरो गएको हल्ला चलेको भए पनि यसले बजारलाई अझ बलियो बनाउने उनको अनुमान छ । 

    बजारमा उच्च अंकले करेक्सन आउनुको कारण पूर्वअर्थमन्त्री तथा सांसद्हरूले उठाएको प्रश्न पनि हुन सक्ने बताउने उनी विश्व बजारमा देखिएको परिघटनाले पनि प्रभाव पारेको अनुमान गर्छन् । 

    बंगलादेशमा भएको आन्दोलनको प्रभावले इन्डियन मार्केटमा पनि उच्च गिरावट आइरहेको उनले बताए । 

    सुधारका कार्यक्रमहरू आइरहेको हुनाले बजारमा अब इन्डेक्सले पनि नयाँ रेकर्ड बनाउने रौनियारको अनुमान छ । 

    “बजार बलियो छ । सुधारको कार्यक्रमहरू आएको छ । रकममा त पुरानो रेकर्ड तोडिहाल्यो । इन्डेक्समा पनि अब केही दिनमा पुरानो रेकर्ड तोडिन्छ होला ।” उनले भने, “यसलाई एउटा करेक्सनको रूपमा अर्थात अवसरको रूपमा लिनुपर्छ । भोलि पनि बजार खुल्छ । वेट एण्ड वाच गरेर मन परेको सेयर सबैको किन्नु राम्रो हुन्छ जस्तो लाग्छ ।”

    राष्ट्र बैंकले २० करोडको सीमा फुकुवा गरेको छ । त्यो पैसा बजारमा आउन सुरु हुन्छ । त्यो पैसा आएमा अर्कै रेकर्ड बिट गर्ला । दिनप्रतिदिन कारोबार बढ्दै जान्छ । ब्रोकर कम्पनीहरू पनि बढेको छ । यसैले अमाउन्ट बढ्दै गएको उनी बताउँछन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार