काठमाडौँ / नेपालमा बालबालिकाहरुको जनसंख्या घट्दो क्रममा रहेको देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको बालबालिकाको तथ्याङ्क अनुसार २०६८ देखि २०७८ को अवधीमा १७ बर्ष भन्दा कम उमेर भएका बालबालिकाको जनसंख्यामा १२ लाख १४ हजार ७२८ जनाले कमी आएको हो ।
२०५८ सालको जनगणनाअनुसार मुलुकमा कुल जनसंख्याको ४५.७ प्रतिशत बालबालिका थिए । ०६८ मा बालबालिको संख्या घटेर ४१.८ प्रतिशतमा झर्यो ।
अझ, ०७८ मा आइपुग्दा बालबालिकाको संख्या झनै घटेको छ । हल देशको कुल जनसंख्याको ३३.८ प्रतिशतमात्रै बालबालिका छन् । त्यसमा पनि बालिकाको संख्या भने ह्वात्तै घटेको दखिएको छ ।
यस्तै, हाल बालबालिकाकोे वृद्धिदर ऋणात्मक (१.१ प्रतिशत) छ । जबकि ०५८ देखि ०६८ सालसम्म बालबालिकाको वार्षिक जनसंख्या वृद्धिदर ०.४६ प्रतिशत थियो ।
१० वर्षको अवधिमा समग्र जनसंख्या १०.१ प्रतिशतले बढेको छ । तर, बालबालिकाको जनसंख्यामा भने १०.९ प्रतिशतले घटेको तथ्याङ्कले देखाएको छ ।
पछिल्ला तीन वटा जनगणनामा बालबालिकाको जनसंख्या
२०५८– एक करोड पाँच लाख ८८ हजार २७६ जना
२०६८– एक करोड १० लाख ८४ हजार ३११ जना
२०७८– ९८ लाख ६९ हजार ५८३ जना
कम जन्मिदै छोरी
कार्यालयको तथ्याङ्क अनुसार नेपालमा बालकको तुलनामा बालिकाको संख्या कम रहेको दखाएको छ । त्यसमा पनि जनगणना भएको एक बर्षको अवधिमा लैङ्गिक अनुपात ०ः११२ रहेको छ ।
अर्थात हरेक १०० बालिकाको जन्मदा ११२ जना बालकको जन्म भइरहको छ । बालकको तुलनामा बालिकाको जनसंख्या करिब ४ प्रतिशत भन्दा बढीले घटेको तथ्याङ्क छ ।
पछिल्लो १० वर्षमा १२ लाख १४ हजार ७ सय २८ बालबालिकाको जनसंख्या घटेको छ । जसमा ७ लाख ३ हजार ६ सय २९ बालिकाको संख्या छ ।
५ लाख ११ हजार ९९ बालकको संख्या घटेको तथ्याङ्कले देखाएको छ । १२.९ प्रतिशत बालिका घट्दा ९.१ प्रतिशत बालक कम भएका छन् ।
०५८ मा बालकको जनसंख्या ४६.६ प्रतिशत थियो । ०६८ मा घटेर ४३.८ प्रतिशत रह्यो । ०७८ मा ३५.९ प्रतिशतमात्रै बालकको जनसंख्या रहेको छ ।
यस्तै, बालिकाको जनसंख्या ०५८ मा ४४.९ प्रतिशत थियो । ०६८ मा ४० प्रतिशतमा झर्यो र ०७८ सालमा ३१.९ प्रतिशत मात्रै छ ।
कुन प्रदेशमा कति छन् बालबालिका ?
तथ्याङ्क अनुसार बालबालिकाको जनसंख्या मधेश प्रदेशमा सबैभन्दा धेरै देखिएको छ । यस प्रदेशमा सबैभन्दा बढी २४.५ प्रतिशत बालक र २४.१ प्रतिशत बालिकाको जनसंख्या छ ।
यस्तै, कोशी प्रदेशमा १५.७ प्रतिशत बालक र १६.२ प्रतिशत बालिकाको जनसंख्या छ । बागमतीमा १७.३ बालक र .प्रतिशत बालिका, गण्डकीमा ७.५ प्रतिशत बालक र ७.३ प्रतिशत बालिका छन् ।
त्यस्तै लुम्बिनीमा १८ प्रतिशत बालक र १८.२ प्रतिशत बालिका, कर्णालीमा ६.८ प्रतिशत बालक र ७.० प्रतिशत बालिका छन् । त्यसैगरी, सुदूरपश्चिममा १०.२ प्रतिशत बालक र १०.४ प्रतिशत बालिकाको जनसंख्या छ ।
३३.८ प्रतिशतमात्रै बालबालिका मुलुकको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ छ ।
जसमा बालबालिकाको जनसंख्या ९८ लाख ६९ हजार ५ सय ८३ छ । ४७ लाख ५५ हजार ७८ अर्थात् (४८.२ प्रतिशत) बालिका छन् भने ५१ लाख १४ हजार ५ सय ५ अर्थात् (५१.८ प्रतिशत) बालक छन् । यो भनेको कुल जनसंख्याको ३३.८ प्रतिशतमात्रै हो ।
मुलुकको कुल जनसंख्यामध्ये १ करोड ४२ लाख ५३ हजार ५ सय ५१ पुरुषको छ । यस्तै, १ करोड ४९ लाख ११ हजार २७ महिलाको जनसंख्या छ । कुल पुरुषमध्ये बालक ३६ प्रतिशत र कुल महिलामध्ये बालिका ३२ प्रतिशत छन् ।
बालविवाहको अवस्था कस्तो ?
तथ्याङ्क अनुसार अहिले १० देखि १७ वर्ष उमेर समूह भित्रका १.६ प्रतिशतको विवाह भइसकेको छ ।
समग्र देशैभर हेर्दा भने बालविवाह भएको जनसंख्या १४.१ प्रतिशत छ । जसमा महिलाको संख्या सबैभन्दा धेरै छ । यो सूचक १८ वर्ष उमेर नपुग्दै विवाह गरेका जनसंख्याको हो ।
विवाहित बालबालिका सर्वाधिक (२.६ प्रतिशत) कर्णालीमा र सबैभन्दा न्यून (१.१ प्रतिशत ) बागमतीमा रहेको देखिएको छ ।बालविवाह विद्यमानता दर १४.१ प्रतिशत छ । पुरुषतर्फ यो मान ५.० प्रतिशत छ । महिलातर्फ २१.९ प्रतिशत रहेको छ ।
यस्तै, देशभर रहेका बालबालिकामध्ये ९४.१ प्रतिशत बालबालिका साक्षर रहेका छन् । साक्षरमध्ये ४६.१ प्रतिशतले प्राथमिक तह पार गरेका छन् ।
अझै पनि ५.४ प्रतिशत बालबालिका कहिल्यै विद्यालय गएका छैनन् । बीचमै विद्यालय छाडेका बालबालिका ५.३ प्रतिशत छन् । यो प्रवृत्ति मधेश प्रदेशमा सबैभन्दा धेरै छ ।
१० देखि १७ वर्षका बालबालिकामध्ये ३० प्रतिशत कुनै न कुनै आर्थिक काममा संलग्न रहेको देखिएको छ । पहाडमा यो दर सबैभन्दा धेरै ३३ प्रतिशत छ । नेपालमा ०.०३ प्रतिशत बालबालिका घरेलु कामदारको हैसियतमा काम गरिरहेको देखिएको छ ।
कुल बालबालिकामध्ये ७८ प्रतिशत आमा बुबा दुबैसँग बस्ने गछइन् । बालबालिकामध्ये १.२ प्रतिशतमा अपांगता रहेको छ । देशभर १५ हजार १२५ जना किशोरी आमा रहेको समेत देखिएको कार्यालयले जनाएको छ ।
बालविवाह तराईमा सबैभन्दा धेरै
तुलनात्मक रूपमा अन्य भेगमा भन्दा हिमालमा बालविवाह न्यून देखिएको छ । पहाड र तराईको विश्लेषण गर्दा गणनाको समयमा २० देखि २४ वर्ष उमेर भएका पुरुष र महिलामध्ये १८ वर्ष उमेर पूरा नभई हुने बालविवाह सर्वाधिक (१५.४ प्रतिशत) तराईमा छ ।
हिमालमा १४.९ प्रतिशत र पहाडमा १२.२ प्रतिशत मात्र छ । यसबाट बालविवाहको समस्या तराई र पहाडमा भन्दा हिमालमा न्यून रहेको देखिएको छ ।
२० देखि २४ वर्षका युवा र युवतीको जनसंख्यालाई हेर्ने हो भने बालविवाह अति न्यून वर्गभित्र सर्वाधिक (२०.८ प्रतिशत) रहेको देखिएको छ । न्यून वर्गभित्रका बालबालिकामा बालविवाहको विद्यमानता (१७.८ प्रतिशत) रहेको छ ।
अति उच्चवर्गमा यो सबैभन्दा न्यून (४.९ प्रतिशत छ भने उच्च वर्गमा यो ११.७ प्रतिशतमात्र छ । परिवार सम्पन्न हुँदै जाँदा बालविवाहजस्तो सामाजिक समस्या पनि केही हदसम्म घट्दै गएको देखिएको छ । साक्षर बालबालिकामध्ये ४६.१ प्रतिशतमात्रै पूरा गर्छन् ।
१५ हजार बढी किशोरी आमा
बालबालिकाको उमेर समूहभित्र पर्ने किशोरी आमा (१३ देखि १७ वर्षसम्म० १५ हजार १ सय २५ जना रहेका छन् ।
किशोरी आमामध्ये सर्वाधिक (४८.४ प्रतिशत) तराईमा छन् भने हिमालमा ७.६६ प्रतिशत रहेका छन् । सहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा किशोरी आमा बढी छन् ।
४ वर्षभन्दा कमका बालबालिकाको धेरै मृत्यु
मृत्यु भएका कुल १५ हजार ८ सय ६८ बालबालिकामध्ये सर्वाधिक (६३.९ प्रतिशत) अंश ४ वर्षभन्दा कम उमेरका बालबालिकाको रहेको छ । दोस्रो (१३.३ प्रतिशत), तेस्रो (१२.६ प्रतिशत) र अन्तिममा (१०.३ प्रतिशत) क्रमशः १०–१४, ५–९ र १५–१७ उमेरसमूहका बालबालिका रहेका छन् ।
५ प्रतिशत बालबालिका आमा–बुबाविहिन
देशका कुल बालबालिकामध्ये ७८ प्रतिशत आमाबाबु दुवैसँग बसेका छन् । १७ प्रतिशत आमासँग मात्र बसोबास गरिरहेको देखिएको छ । करिब ५ प्रतिशत बालबालिका आमा, बाबु वा दुवैसँग बसोबास नगरेको पाइएको तथ्याङ्कले देखाएको छ ।
१.२ प्रतिशत बालबालिकामा अपांगता बालबालिकास्तरको अपांगता १.२ प्रतिशत रहेको छ । जसमा बालक १.३ प्रतिशत र बालिका १.१ प्रतिशत अपांग छन् ।
बालबालिकाको सर्वाधिक (१.९ प्रतिशत अपांगतादर कर्णालीमा र न्यूनतम (०.९ प्रतिशत) मधेसमा रहेको छ । बालबालिकामा सर्वाधिक (४१.६ प्रतिशत) शारीरिक अपांगता नै छ । यो दर समग्र जनसंख्यामा २.२ प्रतिशत रहेको छ ।
एकल परिवार बढे
नेपालका ७१.३ प्रतिशत परिवारमा कम्तिमा एक जना १८ वर्ष मुनीका बालबालिका रहेको देखिएको छ । देशभर ६६ लाख ६६ हजार ९३७ परिवार छन्, जसको ७१.३ प्रतिशत परिवारमा बालबालिका छन् ।
सबभन्दा धेरै तराईका ७६.१ प्रतिशत परिवारमा बालबालिका भने सबैभन्दा कम पहाडका परिवारमा रहेको कार्यालयको तथ्याङ्कले देखाएको छ ।
अर्धशहरी (७६.४ प्रतिशत) र ग्रामीण (७०.५ प्रतिशत) क्षेत्रको तुलनामा शहरी क्षेत्रमा सबैभन्दा कम (६५ प्रतिशत) परिवारमा बालबालिका रहेको देखिन्छ । बागमती र गण्डकी प्रदेशका परिवारमा अन्य प्रदेशको तुलनामा कम देखिन्छ ।
तथ्याङ्क अनुसार एकल परिवारमा ५४.१ प्रतिशत र संयुक्त परिवारमा ४५.९ प्रतिशत परिवारमा कम्तिमा एक जना बालबालिका रहेको देखिन्छ । यसले नेपालमा परिवारको संरचना एकल परिवारतर्फ उन्मुख भएको देखिएको छ ।
परिवारमुलीका रूपमा साढे ३१ हजार बालबालिका
देशभर साढे ३१ हजार बालबालिका घरमुलीको भूमिकामा रहेको पाइएको छ । तथ्याङ्क अनुसार अहिले नेपालमा ३१ हजार ५१२ जना बालबालिका घरमूलीको भूमिकामा देखिएका छन् । यो कुल बालबालिकाको संख्याको ०.४७ प्रतिशत हो ।
परिवारमूली बालबालिकामध्ये ५३ प्रतिशत बालक र ४७ प्रतिशत बालिका रहेको देखिन्छ । प्रदेशबीच तुलना गर्दा बालिका परिवारमूली हुने परिवार सबैभन्दा कम मधेश र सबैभन्दा धेरै बागमतीमा रहेको छ ।
३० प्रतिशत बालिका आर्थिक काममा संलग्न
मुलुकका १० देखि १७ वर्षका बालबालिकामध्ये ३० प्रतिशत कुनै न कुनै आर्थिक काममा संलग्न रहेको अवस्था छ । हिमालमा यो मान ३७ प्रतिशत रहेको छ । पहाडमा यो ३३ प्रतिशत छ भने तराईमा सबैभन्दा कम अर्थात् २७ प्रतिशत रहेको छ ।
आर्थिक काम गर्नेमध्ये ५३.५ प्रतिशत घरको सरसफाइ, भान्साको काम, कृषि तथा वनजन्य हातैले गरिने काम, खानीसँग सम्बन्धित काम आदि प्राथमिक पेसामा संलग्न छन् ।