images
images

सागसब्जीखेतीबाट दैनिक १० हजार कमाउँछन् मुकुन्द, ‘मल्चिङ’, थोपा सिँचाइ र कम्पोस्ट मलको प्रयोग

सागसब्जीखेतीबाट दैनिक १० हजार कमाउँछन् मुकुन्द, ‘मल्चिङ’, थोपा सिँचाइ र कम्पोस्ट मलको प्रयोग

मंगलवार, असोज ८ २०८१
मंगलवार, असोज ८ २०८१
  • सागसब्जीखेतीबाट दैनिक १० हजार कमाउँछन् मुकुन्द, ‘मल्चिङ’, थोपा सिँचाइ र कम्पोस्ट मलको प्रयोग
    images
    images

    डोटी / रोजगारीको खोजीमा युवा विदेशिने क्रम बढ्दो छ । भारतसँगै तेस्रो मुलुकमा रोजगारीको खोजीमा दैनिक हजारौँको सङ्ख्यामा युवा विदेशिने गरेका छन् । 

    हजारौँ युवाको भन्दा अलग सपना थिएन यहाँको आदर्श गाउँपालिका-१ का २३ वर्षीय मुकुन्द अवस्थीको पनि । तीन वर्षे कृषि विज्ञान (आइसिएजी) अध्ययन सकेर कृषिमा राम्रो कमाइ हुने देश जाने उनको चाहना थियो । 

    विदेश जाने योजना स्थगित गरेर गाउँमै व्यावसायिक सागसब्जी खेती गरेका मुकुन्दले सन्तोषजनक कमाइ गरिरहेका छन् । 

    ‘‘अहिलेको ‘ट्रेन्ड’ भनौँ वा बाध्यता सबै विदेसिने लहर छ, बाहिर जानुपर्छ राम्रो कमाउनुपर्छ भन्ने मेरो पनि सोच थियो । 
    कोरिया वा इजरायल जानुपर्छ भन्ने योजना बनाइसकेको थिएँ तर लकडाउन भएपछि घर आएँ र बाँझो जमिनमा खेती गर्न थाले’’, मुकुन्दले सुरुवाती दिन स्मरण गरे । 

    हाल मुकुन्दले करिब १२ रोपनी जमिनमा सागसब्जी लगाइरहेका छन् । 

    उनले दाजुभाइ बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फार्म दर्ता गरेर २५  ‘प्लास्टिक टनेल’ बनाएर सागसब्जी लगाएका छन् । सबै टनेलमा अहिले गोलभेडा फलिरहेका छन् ।

    सुरुवातमा गाउँपालिकाबाट प्राप्त रु एक लाख ५० हजार अनुदान र बाँकी आफ्नो लगानीमा दश ओटा टनेलबाट सागसब्जी उत्पादन सुरु गरे । गत वर्ष दश ओटा टनेलबाट करिब नौ लाख बराबरको सागसब्जी बिक्री गरेको उनले जानकारी दिए । 

    पहिलो वर्ष लगानी धेरै लागेकोले खर्च कटाएर करिब तीन लाखजति आम्दानी भएको थियो । यो वर्ष २५ ओटा टनेलमा सागसब्जी लगाएकोले कारोबार दोब्बरले बढ्ने उनको अनुमान छ । 

    मुकुन्दले हाल दैनिक आठदेखि १० ‘क्रेट’ गोलभेडा बजार लैजाने गरेका छन् । प्रतिकिलो रु ५० का दरले गोलभेडा बजारमा बिक्री हुँदा उनको दैनिक आठदेखि १० हजार कमाइ हुन्छ । 

    गोलभेडाले सजिलै बजार पाएको छ । मुकुन्दले भने, ‘‘डोटी जिल्ला तरकारीमा परनिर्भर थियो सुरुमा उत्पादित सागसब्जी बिक्री गर्न धेरै मेहनत गर्नुपर्यो तर अहिले माग धान्न सकिरहेको छैन, दैनिक डेढदेखि दुई क्वीन्टल बजारमा जान्छ । मूल्य पनि राम्रो छ ।’’

    उनले सागसब्जीमा ‘मल्चिङ’ र थोपा सिँचाइ प्रविधिको प्रयोग गरेका छन् । स्वच्छ तरकारी उत्पादन गर्न कम्पोस्ट मलको प्रयोग गरिएको छ । 

    घरमा भएका भैँसी, बाख्रा, गाई, गोरुको मलमूत्रबाट बन्ने मल पर्याप्त छ । थप गँड्यौला मलको उत्पादन सुरु गर्ने तयारी गरिरहेको उनले बताए । 

    मुकुन्दले थालेको कृषिबाट परिवार मात्रै आत्मनिर्भर भएको छैन । पाँच जनाले रोजगारीसमेत पाएका छन् । यो वर्ष टनेलको सङ्ख्या थप गरेर ५० ओटा पुर्याउने योजना उनको छ । तर उत्पादित सागसब्जी बजार पुर्याउन भने समस्या छ ।

    दिपायल बजारसम्म पुग्ने बाटो कच्ची हुँदा बेलाबेला अवरुद्ध हुने गर्छ । त्यसो हुँदा पिठ्यूँमा बोकेर बजार पु-याउनुपर्ने बाध्यता रहेको उनले सुनाए ।  

    बृहत् तरकारी उत्पादन क्षेत्र कार्यक्रम अनुसार थोपा सिँचाइ, पानी ट्याङ्की निर्माण, प्लास्टिक घर र गँड्यौला मलको उत्पादन सहयोग गरेको कृषि ज्ञान केन्द्र डोटीका निमित्त प्रमुख गङ्गादत्त अवस्थीले बताए । 

    छोटो समयमै सफल कृषक बनेका मुकुन्द युवाका लागि प्रेरणादायी व्यक्ति रहेको अवस्थीले बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार