काठमाडौँ / काठमाडौँ उपत्यका भित्रका इँटा उद्योगहरूमा इँटा निर्माणको काम सुरु भएको छ । माघ १ गतेदेखि भट्टाहरूमा इँटा पोल्ने काम सुरु हुने व्यवसायीहरूले जानकारी दिएका छन् ।
इँटा बनाउका लागि नेपालका विभिन्न जिल्लाहरूबाट मजदुरहरू उपत्यका भित्रिरहेका छन् । तर जोखिमपूर्ण मानिने इँटा बनाउने कामप्रति मजदुर त्यति खुशी छैनन् । जीवन गुजारा चलाउन उद्योगहरू राम्रो भए पनि पारिश्रमिका हिसाबले मजदुर सन्तुष्ट छैनन् ।
काभ्रेबाट आएका शिवबहादुर तामाङले ६ बर्षदेखि इँटा बनाउँदै आए पनि पारिश्रमिकमा सन्तुष्ट हुन नसकेको बताए ।
“मैँले इँटा बनाउन थालेको ६ वर्ष भयो । पहिला र अहिले काममा धेरै भिन्नता आइसकेको छ । पहिला आफैँले माटो मुछेर काम गर्नुपर्ने थियो, धेरै दुःख हुन्थ्यो । अहिले मेसिनहरूका कारण केही सहज भएको छ,” उनले भने, “तर इँटा बनाउन जति दुःख छ त्यति पारिश्रमिक छैन । हजारवटा इँटा बनाएको १२ सय ५० आउँछ । दिनमा दुई हजारदेखि २५ सय इट्टा बनाउन सकिन्छ । विहान २ बजेदेखि रातको ११ बजेसम्म खट्छु तर पारिश्रमिक दुःख गरेअनुसार छैन ।”
शिव बहादुरका अनुसार रासनपानी खानका लागि दश दिनलाई हप्ता मानेर दुई हजारदेखि चार हजारसम्म दिइएको हुन्छ ।
उनले भने, “काम गरेको पूरै पैसा काम सकिएपछि बैशाखतिर मात्र आउँछ । जति धेरै इँटा बनायो, उत्ति पैसा आउँछ । डेढ लाख जति बनायो भने १ लाख ७५ हजार रूपैंयाँ आउँछ । दुई लाख बनायो भने दुई लाख ५० हजार पैसा हुन्छ । दुःख गरे अनुसार यो पैसा थोरै नै हो ।” अन्यन्त्र रोजगारी नभएका बेला इँटा बनाउने कामले आफूहरूलाई सन्तुष्टि दिएको मजदुरहरूको भनाइ छ ।
“अन्त काम छैन । सिजनका बेलामा अलिअलि भए नि कमाई हुन्छ । बालबच्चा पाल्नुपर्यो । आफूले पनि खानैपर्यो । सिजनका बेला भट्टामा आउँछु । भट्टा सिजन सकिएपछि बाहिरतिर काम खोज्नुपर्छ,” उनले भने ।
बजारमा पाकेको इट्टाको १४ देखि १५ रुपैयाँ रहेको उनले सुनाए । इँटा व्यवसायबाट साहूहरूलाई पनि समस्या नै भएको उनको भनाइ छ ।
“हुनत साहूहरूलाई पनि धेरै गाह्रो होला । जग्गाको भाडा तिर्नुपर्यो, माटो किन्नुपर्यो, इँटा बनाउने र बोक्नेहरूलाई पैसा दिनैपर्यो,” उनले भने, “तर हाम्रो श्रम अनुसारको पारिश्रमिक न्यून हो । कम्तिमा एक हजार इट्टा बनाएको १५ सय हुनुपर्ने हो तर १२ सय ५० मात्र पाएका छौं । हामीलाई घाटा छ । एक बोरा चामलको २५ सय पर्छ । सबै खाद्य सामग्री महँगो छ ।”
इँटा उद्योगीहरूका आफ्नै खाले समस्याहरू भएको उद्योगीहरू बताउँछन् । धेरैले रोजगारी पाएपनि व्यवसायमा धेरै समस्याहरू रहेको भक्तपुर इँटा उद्योग व्यवसायी संघका अध्यक्ष नातिभाइ ह्योम्वाको भनाइ छ ।
“उद्योगका कारण मजदुरहरूको अवस्था सुधारिएको छ । शिक्षाको क्षेत्रबाट बञ्चित भएका, आर्थिक स्तर कमजोर भएकाहरूलाई इँटा उद्योगले रोजगारी दिलाएको छ । रोल्पा, रुकुम, सल्यान पूर्व तिरको विकट जिल्लातिरका मजदुरहरूका लागि उद्योगले आर्थिक स्तरमा सुधार ल्याएको छ,” अध्यक्ष ह्योम्वाले भने, “मजदुर मात्र होइन स्थानीय ठाउँकै आर्थिक स्तरमा बृद्धि भएको छ । ३० हजार कामदारले रोजगारी पाएका छन् । एक सिजनमा भक्तपुरमा मात्रै तीन करोड रुपैंयाँसम्म मजदुरहरूलाई वितरण गरेको रेकर्ड छ ।”
जति सङ्ख्यामा इँटा बनाए उत्ति नै पारिश्रमिक दिने गरेको उनले बताए । श्रीमान-श्रीमती नै मजदुरी गर्नेहरूले दिनमै ३६ सय रुपैँयाँसम्म वितरण गरेको उनले सुनाए ।
इँटाको मूल्य निर्धारण इँटाको गुणस्तर अनुसार हुने गरेको उनले बताए । तर इँटा स्टक बस्दा व्यवसायीहरू मारमा परेको उनको भनाइ छ ।
“इँटा चारपाँच बर्षदेखि नै स्टक बसिरहेको छ । तर मजुदुरलाई दिनुपर्ने सेवा सुविधा दिनैपर्छ । दुर्घट्ना बिमा भनेर ६ महिनाको एकमुष्ठ बिमा कम्पनीलाई पैसा बुझाएका छौं । मजुदुरका छोराछोरीलाई शिशु स्याहार खोलेका छौँ । मजदुरहरूलाई पहिलेको जस्तो छैन् । धेरै परिवर्तनहरू आएको छ । अहिले माटो मुस्नु पर्दैन् । खन्नु पर्दैन् । पहिले माटो खनेर खाल्डोमा गएर कुल्चेर पानी हालेर माटो मुस्न पथ्र्यो । अहिले सबै ठिक बनाएर ल्याइदिन्छौँ । हिलो बनाएर इँटा पार्न ठिक्क पार्दिन्छौँ । त्यसलाई इँटा बनाउने मात्र काम हो,” उनले भने, “परिश्रमका हिसाबले मजदुरहरूको आर्थिक अवस्थामा पनि धेरै सुधार आएको छ ।”
अध्यक्ष ह्योम्वाले इँटा उद्योग सिजनल भएकाले ट्याक्समा आफूहरूलाई मार परेको बताए । उद्योगी र सरकार मिलेर जानुपर्नेमा आफूहरू मारमा परेको उनले सुनाए । तर सरकारले उद्योगमा सहजीकरण गरे मजदुरहरूको समस्या समाधान गर्न कठिन नहुने उनले बताए ।