चितवन / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन जिल्ला अदालतले ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
साहारा चितवन सहकारी ठगी प्रकरणको मुद्दामा थुनछेक बहसपछि न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई ५४ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो ।
साहारा चितवन सहकारीको ठगी प्रकरणमा बयान दिन बुधबार चितवन पुगेका लामिछानेलाई बहस नसकिएपछि प्रहरीको जिम्मा लगाइएको थियो ।
सुरुमा कास्की जिल्ला अदालतले उनलाई धरौटीमा रिहा गरेको थियो भने पछिल्लो पटक बिहीबार चितवन जिल्ला अदालतले पनि उनीसँग धरौटी माग गरेको हो । सबैभन्दा बढी धरौटी भने उनले रुपन्देहीमा बुझाउनु परेको थियो ।
अनुसन्धान भइरहेका स्थानमध्ये पर्सा जिल्लामा उनी बिरुद्धको मुद्दा बाँकी नै रहेको छ । पर्साको सानोपाइला सहकारीको ठगीमा उनी विरुद्ध अनुसन्धान चलिरहेको हो।
चार वटा जिल्ला अदालतमा गरी अहिलेसम्म उनी विरुद्ध २ करोड ७९ लाख रुपैयाँ धरौटी माग भएको छ। रिहा उनले धरौटी बापतको रकम बैंक ग्यारेन्टी पेस गर्दै आएका छन् ।
लामिछानेलाई कास्की जिल्ला अदालतले ६५ लाख, काठमाडौँ जिल्ला अदालतले ६० लाख रुपैयाँ, रुपन्देही जिल्ला अदालतले १ करोड र चितवन जिल्ला अदालतले ५४ लाख रुपैयाँ धरौटी माग गरेको हो ।