काठमाडौँ / काठमाडौँको भृकुटीमण्डपमा शुक्रबार देखि जारी २६ औँ फ्लोरा एक्स्पोमा तेस्रो दिन ३० लाख ७० हजार रुपैयाँ बढीको कारोबार भएको छ । तेस्रो दिन मेलामा १७ हजार भन्दा धेरैले अबलोकन गरेका फ्यानले बताएको छ ।
मेलाको तेस्रो दिन फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजना तथा लायन्स क्लब अफ ग्लोबल फ्लोरिकल्चरको सहआयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा पुष्प ब्यबसायी, मेला अवलोकनकर्ता, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।
सोमबार सम्म चल्ने सो पुष्प मेलालाई ६० हजारले अवलोकन गर्ने र एक करोड रुपियाँ भन्दा बढीको कारोबार गर्ने लक्ष्य फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) लिएको जनाएको छ ।
मेलामा व्यावसायिक ६७, ल्याण्डस्केपिङ एक, अफिसियल दश, प्रतियोगितात्मक प्रदर्शनी दुई र फूडस्टल ३ वटा सहित जम्मा ८३ वटा स्टल रहेका छन् ।
मेला अवलोकनका लागि सर्वसाधारणका लागि एक सय पचास र विद्यार्थीका लागि एक सय रुपैयाँ प्रवेश शुल्क तोकिएको र जेष्ठ नागरिकहरूलाई भने निःशुल्क प्रवेशको ब्यवस्था गरिएको मेला सहसंयोजक सुमन महर्जनले बताए ।
एक्स्पोमा आलङ्कारिक बोटबिरुवा, सिजनल फूल बिरूवाहरू, सुनखरीका फूल बिरुवाहरू, फलफूलका बोटबिरुवाहरूको कारोबार भइरहेको कार्यक्रम संयोजक तथा फ्लोरिकल्चर एशोसिएशन नेपालका बरिष्ठ उपाध्यक्ष राम बहादुर तामाङ (सुनिल) ले जानकारी दिए ।
मेलामा फूलप्रेमी तथा अवलोकनकर्ताको भीड बाक्लो भएका कारण सोचेअनुरूप नै कारोबार हुनेमा आफू बिश्वस्त रहेको पनि संयोजक तामाङले बताए ।
उपभोक्ता पनि अन्तिम अबस्थामा आउने भएका कारण मेलाको अन्तिम दिन यसअघिको भन्दा धेरै कारोबार हुने अपेक्षा फ्यानको रहेको छ ।
नेपालमा वि.सं.२०११ सालमा सामान्य स्तरबाट पुष्प व्यवसायको सुरू भएको इतिहास रहेको छ ।
यसपछि पुष्प व्यवसायले बिस्तारै गति लिएको र बि.सं. २०४९ साल ताकासम्म लगभग सीमित सङ्ख्यामा मात्रै पुष्प नर्सरी व्यवसायीहरू रहेको थियो ।
जब २०४९ सालमा संस्थागत रूपमा फ्लोरिकल्चर एशोसिएसन नेपाल को स्थापना भयो तत पश्चात मात्र पुष्पको व्यवसायीक बिकास, बिस्तार र प्रवर्द्धनले गति लिएको हो ।
हाल बढ्दो शहरीकरणको विकास तथा विस्तारसंगै सातै प्रदेशका मुख्य शहरहरू लगायतका अन्य क्षेत्रमा पुष्प व्यवसाय फैलदो अवस्थामा रहेको छ ।
हाल नेपालमा ५२ जिल्लामा २६० हेक्टर भन्दा बढि क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको, ११७४ भन्दा बढि पुष्प व्यवसायीहरू संलग्न रहि व्यवसाय गरिरहेको, अनुमानित लगानी ८ अर्ब ८३ करोड भन्दा बढि रहेको, प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा गरि ५१ हजार ५०० भन्दा बढि जनशक्तिहरू रोजगार रहेका र पुष्प तथा पुष्पजन्य बस्तुको बार्षिक कारोबार ३ अर्व ६८ करोड भन्दा बढि रहेको छ ।