काठमाडौँ / होटल इच्छा लिमिटेडले आइपिओ निष्काशन गर्ने भएको छ । आइपिओ निष्काशनका लागि कम्पनीले हिमालयन क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
नेपाली बजारमा पुँजीको विकासका निम्ति नवीनतम प्रकृतिका सेवाहरू प्रदान गर्ने क्रममा रहेको यस हिमालयन क्यापिटलले वास्तविक क्षेत्रलाई प्रतिनिधित्व गर्ने होटल इच्छाको ३० लाख कित्ता सेयर सार्वजनिक निष्काशन गर्नका लागि निष्काशन तथा बिक्री प्रबन्धन सम्बन्धि सम्झौता गरेको जनाएको छ ।
बाराको सिमरामा रहेको मधेश प्रदेशकै पहिलो र एकमात्र पाँचतारे होेटल, होटल इच्छा लिमिटेडको अधिकृत पूँजी२०० करोड रहेको र जारी पूँजी १५० करोड रहेको छ ।
उक्त होटलले जारी पूँजीको २० प्रतिशत अर्थात ३० करोड रकम बराबरको ३० लाख कित्ता सेयरको सर्वसाधारणमा सेयर निष्काशन गर्ने भएको हो ।
चैत २७ गते भएको सम्झौता समारोहमा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक संस्था हिमालयन क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त र निष्काशक कम्पनी होटल इच्छा लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेवन्त प्रसाद धौभडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
पाँच विगाहा भन्दा बढी क्षेत्रफल रहेको जग्गामा निर्मित होटल ईच्छा लिमिटेडमा सुविधा सम्पन्न १०० वटा कोठाहरू रहेका छन् भने स्वीमिङ्ग पुल, क्यासिनो, स्पा, ब्याङक्वेट, क्लब हाउस आदि समेत सुविधाहरू रहेका छन् ।
होटललाई अन्तर्राष्ट्रिय स्तरमा समेत पहिचान गराउन भारतको प्रसिद्ध होटल व्यवस्थापन समूहलाई होटल सञ्चालनको जिम्मा दिने सम्बन्धमा छलफल करिब अन्तिम चरणमा पुगेको छ ।
भारतको मुख्य गरी विहार प्रदेशका नागरिकका लागि डेस्टिनेशन म्यारिज हव बनेको यस होटलले मधेश प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटनमा टेवा पुर्याएको छ ।