काठमाडौँ / नर्सरी व्यवसायी सङ्घको आयोजनामा जारी दोस्रो नेशनल हर्टिकल्चर एक्स्पोमा एक करोडबढीको कारोबार भएको छ ।
नर्सरी व्यवसायको विकास र विस्तार, स्वच्छ वातावरणसहित आय र रोजगार’ भन्ने मूल नारासहितको एक्पोमा ५१ हजारले अवलोकन गरेका छन् भने १ करोड २५ लाख रुपैयाँको कारोबार भएको छ ।
काठमाडौँको भृकुटीमण्डपमा चार दिनदेखि जारी एक्स्पोमा एक्पोमा देशभरिबाट पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि बन नर्सरी तथा जडिबुटी नर्सरीको ७०० भन्दा बढी प्रजातीका बोटविरुवाहरू प्रदर्शनी तथा बिक्री वितरणको लागि राखिएको छ ।
साथै, मलखाद, अर्गानिक एवं रासायनिक विषादी, विउ विजन, गमला, औजार उपकरण तथा प्रविधिहरूको समेत स्टल रहेको छ । चैत २८ गतेदेखि सुरु भएको एक्स्पो आजसम्म चल्नेछ ।
नर्सरी व्यवसायी सङ्घका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले मेलामा सङ्घले राखेको लक्ष्य अनुसार कारोबार भएको बताए।
मेलामा ७४ वटा व्यावसायिक स्टल, ३ वटा फुड स्टल, ७ वटा अफिसियल स्टल तथा प्रतिस्पर्धाको ५ वटा स्टलसहित ९ वटा स्टल थियो ।
मेला अवलोकन गर्न सर्वसाधारणका लागि प्रतिव्यक्ति १०० रुपैयाँ र विद्यार्थी तथा ज्येष्ठ नागरिकको लागि प्रतिव्यक्ति ५० रुपैयाँ शुल्क तोकिएको थियो।
नर्सरी व्यवसायी संघ, नेपालको आयोजनामा हुने दोस्रो नेशनल हर्टिकल्चर एक्स्पो २०८१ को सह–आयोजक संस्थाहरू पुष्प विकास केन्द्र, वनस्पती विभाग, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, कृषि विभाग, पुल्चोक, तथा पशुपंक्षी विकास मन्त्रालय बागमती प्रदेश रहेको छ भने सहयोगी सस्था ए.जि.ए एग्रो कुमारी फ्लोरा फार्म, गौतम नर्सरी, सलोम एग्रीकल्चर, ग्रिस्मा नर्सरी, सृजना एग्रीकल्चर प्रा.लि. र ए.बिटि मोटर्स साथै मेला स्थल सजावटको लागि उदय गार्डेन सेन्टर प्रा.लि. र एभरेष्ट फ्लोरिकल्बर एण्ड भेजिटेवल फार्म रहेको छ ।