images
images

बिस्का जात्रा चैत मसान्तमै किन मनाइन्छ ?

बिस्का जात्रा चैत मसान्तमै किन मनाइन्छ ?

मध्यपुर थिमिमा ३२ देवीदेवताको जात्रा हुन्छ । बिस्का जात्रा ७ देखि ८ सय बर्ष पूरानो जात्रा हो भन्ने छ ।  सुरुवाती चरणमा बिस्कालाई विश्वयात्रा भनेर मनाइयो । यात्रा र जात्रा मिलाएर नै बिस्का जात्रा भनियो ।

सोमवार, बैशाख १ २०८२
सोमवार, बैशाख १ २०८२
  • बिस्का जात्रा चैत मसान्तमै किन मनाइन्छ ?
    images
    images
    images
    images

    बिस्केट वा विस्का जात्राको प्रारम्भ कसरी भयो भन्ने विषयबारे प्रष्ट तथ्यहरू भेटिदैन । प्राप्त तथ्य एवम् तथ्याङ्क र जानकारहरूका अनुसार अत्यन्तै प्राचिन र सांस्कृतिक भएको पुष्टि हुन्छ । प्राप्त तथ्याङ्कले यो जात्रा लिच्छविकालमै प्रारम्भ भइसकेको देखिन्छ । विशेषगरी जात्रा विक्रम संवत्को क्यालेन्डर अनुसार मनाइन्छ ।

    चैतको मसान्ततिर मनाउने चलन छ । सूर्यको गति उत्तरतिर गइरहेको अवस्था भनेको चैतको यही समयमा सूर्य भूमध्य रेखाको ठिक माथिमा पर्न आउँछ । त्यस दिन वैज्ञानिक आधारमा भन्ने हो भने दिन र रात बराबार हुन्छ । ३६५ दिनहरू मध्येमा यो दिन विशेष रहने गर्छ । किनभने दिन र रात कहिले पनि बराबार हुँदैन । तर वर्षमा दुई पटक दिन र रात बराबार हुन्छ । बिस्का जात्रा पनि दिन र रात बराबर भएकै दिन मनाइने गरिन्छ ।

    लिच्छविकालमा नै सुरु भएको यस्तो जात्रा यहाँ मात्रै होइन यस्तै प्रकारको उत्सवहरू थुप्रै देशरूमा मनाइएको पाइन्छ । नयाँ वर्षको रूपमा विभिन्न ठाउँमा विभिन्न नामले पर्वहरू मनाइन्छ । दिन र रात बराबर पारेर यो उत्सव मनाइँने गरिन्छ । यही दिनलाई आधार मानेर भिन्न संस्कृतिहरू नेपालमा निर्माण भएको छ । जसलाई हामी बिस्का जात्रा भन्छौँ । बिस्का जात्राको प्रारूप अथवा आदि स्वरूप भनेको विश्वयात्रा हो ।

    विश्वयात्रा भनेको सूर्य उत्तरायणी हुँदै दक्षीयाणी हुँदाको यात्रा नै समग्रमा विश्वयात्रा हो । गौतमी पुराणमा लेखिएका आधारमा चैतको मसान्तमा अर्थात बिस्का जात्राको दिनमा चाँही झण्डोत्तोलन गर्यौँ भनेचाँही शुभलाभ हुन्छ भनेर लेखिएको छ । त्यसैले बिस्का जात्राका दिन झण्डोत्तोलन गर्दा राम्रो हुन्छ भनेर ध्वजा फैलाउने योसी(लिङ्गो) ठड्याउने संस्कृतिको सुरुवात भएको पाइन्छ । 

    बिस्का जात्रा मनाउने क्रममा विभिन्न कालखण्डमा विभिन्न वशंहरू आएको पाइन्छ । तिनै वंशहरूले यो जात्रालाई विस्तार गर्दै लगेका हुन् । मल्लकालमा जात्रालाई विशेष बनाउन विभिन्न ठाउँमा खत(रथ) जात्रा गरियो । भक्तपुरमा भैरवको रथ तान्ने साथै भक्तपुरमै अन्य दिनहरूमा पनि विभिन्न ठाउँहरूमा विभिन्न रथहरू काँधमा बोकेर जात्रा गर्ने परम्परा अहिले विकास गरिएको छ । मध्यपुर थिमि नगरपालिकामा पनि विभिन्न देवीदेवताको खतलाई, मूर्तिहरूलाई काँधमा राखेर नगर परिक्रमा गरेर जात्रा मनाउने परम्परा छ ।

    त्यस्तै, ध्वज उत्थान गर्ने अथवा योसी ठड्याउने परम्परा लिच्छिविकालमै सुरु भएको हो । तर, पछि मल्लकालमा आएर खत जात्रा थपिँदै आएको छ । यद्यपि, कुन मल्ल राजाले जात्रा सुरु गरेका हुन् भन्ने तथ्यगत विवरण पाइँदैन । विभिन्न अभिलेखहरू वा ताम्रपत्रदेखि लिएर शिलापत्र र विभिन्न अभिलेखहरूमा यस जात्राबारे उल्लेख भएको पाइन्छ ।

    त्यहीँ क्रममा मध्यपुर थिमि नगरपालिकामा गरिने जात्रामा देवताहरूमध्ये एउटा जुन खतमा राखेर जात्रा गरिन्छ त्यसमध्येक एक देवताको मुर्तिमा एउटा अभिलेख भेटिएको छ । जुन अभिलेख भनेको ज्योति मल्लको पालामा मुर्ति बनाइएको हो भन्ने कुरा प्रष्ट लेखिएको छ । मुर्तिले के देखाउँछ भने ज्योति मल्ल भन्दा अगाडि नै जात्रा सुरु भइसकेको थाहा हुन्छ ।

    मध्यपुर थिमिमा ३२ देवीदेवताको जात्रा हुन्छ । बिस्का जात्रा ७ देखि ८ सय बर्ष पूरानो जात्रा हो भन्ने छ ।  सुरुवाती चरणमा बिस्कालाई विश्वयात्रा भनेर मनाइयो । यात्रा र जात्रा मिलाएर नै बिस्का जात्रा भनियो । कतै यसलाई विश्वयात्रा भनिएको छ भने कतै विश्वजात्रा भनिएको छ । वैशाख संक्रान्तिलाई विश्व संक्रान्ति पनि भनिएको छ ।

    त्यसैले यसको आदिस्वरूप कालान्तरमा जात्राको नाम बिस्का जात्रा भएको देखिन्छ । किनभने त्यसपछिका मल्लकालिन अभिलेखहरूमा बिस्का जात्रा भनेर उल्लेख गरेको पाइन्छ । पछि अपभं्रश भएको शब्दावलीको रूपमा बिस्केट जात्रा भनिएको हो ।

    अभिलेखमा जाने हो भने बिस्का जात्रालाई बिस्केट जात्रा भनेर उल्लेख गरेको पाइँदैन । बरु बिस्कात्व जात्रा भनेर भनिएको छ । यसलाई विभिन्न स्वरूपले अथ्र्याउने गरे पनि यसको मौलिक नाम भनेको बिस्का जात्रा नै हो । बिस्का जात्रामा विशेष गरेर विभिन्न खालका संस्कृतिक क्रियाकलापहरू सम्पन्न हुन्छन् भक्तपुर र मध्यपुरमा । 

    मध्यपुरकै कुरा गर्दा चैत मसान्तको आठ दिन अगाडिदेखि यसको विभिन्न क्रियाकलापहरू सञ्चालन हुन्छ । जात्रा गरिने देवीदेवताहरूको गहनाहरू निकाल्ने, गहनाहरू सफा गर्ने, पूजा गर्ने, जात्रा गर्ने क्रममा कुनै खालको बाधा नहोस् भनेर नगरलाई विभिन्न तान्त्रिक विध्यामार्फत सुरक्षा प्रदान गर्ने किसिमका क्रियाकलापहरू गरिन्छ ।

    समूदाय एवम राज्यस्तरबाट मन्दिरहरू सजाउने, धिंमे बाजा लगायतका बाजाहरू प्रशिक्षण गर्ने कार्य गरिन्छ । तर, बिस्का जात्रामा योसी ठड्याएर जात्रा प्रारम्भ हुन्छ भने योसी ढालेपछि जात्रा सम्पन्न भएको मानिन्छ । यस्तो चलन धेरै ठाउँमा छ ।

    जिब्रो छेड्ने जात्रा

    बिस्का जात्राका क्रममा खत जात्राहरू गरिन्छ । स्थानीय शक्तिपिठ एवम देवीदेवताहरूको मुर्तिलाई विभिन्न प्रकारका खतमा राखेर चक्का भएको रथमा तानेर जात्रा गरिन्छ । मध्यपुर थिमिमा खतलाई काँधमा बोकेर जात्रा गरिन्छ । जात्रा गर्ने खतको स्वरूप विभिन्न कालखण्डमा विकास गरिएको पाइन्छ । बिस्का जात्रासँगै  खत जात्रा मुख्य विशेषता हो । मध्यपुर थिमिको हकमा जिब्रो छेड्ने जात्रा बिस्का जात्राकै उपलक्ष्यमा मनाइने हो ।

    जिब्रो छेड्ने परम्पराचाँही मध्यपुर थिमिमा पाइन्छ । हरेक वर्ष बैशाख २ गते मध्यपुर थिमि नगरपालिकाको बोडेमा चाँही जिब्रो छेडेर यो जात्रा मनाउने गरिन्छ । तर त्यससँग सम्बन्धित लिखित अभिलेखहरू भने छैनन् । तर विभिन्न किंवदन्तीहरू छन् र यो परम्परा अत्यन्तै प्राचिन हो ।

    जिब्रो छेड्ने जात्रा बैशाख २ गते बोडेमा मनाइन्छ । भने यस्तै खालको जिब्रो छेड्ने जात्रा मध्यपुर थिमिकै थिमि नगरमा दुईचोटी जिब्रो छेड्ने जात्रा मनाइन्छ ।

    एउटा बोडेमा बिस्का जात्राको दिन मनाइन्छ भने अर्को थिमिमा पुर्णिमाका दिन मनाइन्छ । थिमिमा मनाइने जिब्रो छेड्ने जात्रासँग सम्बन्धित जात्राको इतिहासलाई  खोतल्ने हो भने जिब्रो छेडिसकेपछि सियोलाई निकालेर बोडेको हकमा गणेश मन्दिरको दलिनमा गएर ठोक्ने गरिन्छ । थिमिको हकमा भने बालकुमारी मन्दिरको थाम र काठको स्टकचरमा लगेर ठोकिन्छ । 

    प्रत्येक चोटी जात्रा सकियो अनि सियो  निकालेर ठोक्ने गरिन्छ । जति पनि सियोहरू ठोक्किएको छ त्यो गणना गर्ने हो भने जात्रा कम्तिमा पनि सात सय वर्ष पूरानो हो भन्न सकिन्छ । तर बोडेमा सियोको संख्या कम छ ।

    मन्दिरका पुरानो काठ हटाएर नयाँ काठ राखिएको हुनाले कम भएको हुनसक्छ । तर थिमिमा रहेको मन्दिर नेपाल संवत् ४७० को हाराहारीमा बनाएको करिब ७ सय वर्ष पुरानो भएकाले त्यहाँ ठोकिएका सियोको सङ्ख्या गणना गर्ने हो भने जात्रा धेरै पहिलादेखि नै चलिआएको देखिन्छ ।

    किन मनाइन्छ ?

    बिस्का अन्तर्गतका जात्राहरू किन मनाइन्छ भन्ने सन्दर्भमा विभिन्न मान्यताहरू रही आएको छ । नकरात्मक शक्तिमाथि विजय हासिल गरेको उत्सवको रूपमा जात्रा मनाइएको मान्यता रही आएको छ । 

    यसलाई धर्म कमाउने तपस्याको रूपमा पनि हेर्न सकिन्छ । किनभने हामीले कुनै भाकल गर्दा वा केही कुराको कामना गर्दा जति कठोर ब्रत गर्नुपर्छ यो पनि त्यही मध्ये एक हो ।

    आस्थाको रूपमा जिब्रो छेड्ने र बिस्का जात्रा मनाइएको हो ।  
    भूतप्रेत जस्ता नकरात्मक शक्तिलाई जिब्रो छेडेर सजाय दिएको स्वरूप यो जात्रा मनाएको भन्ने भाष्य अहिले जहाँ पनि सुन्न पाइन्छ । तर यो गलत हो ।

    यो जात्रामा जसले पनि जिब्रो छेड्न पाइन्छ । यद्यपि, हाम्रो मान्यता अनुसार एक वर्ष जुन मान्छेले जिब्रो छेडेको छ त्यही मान्छेले निरन्तरता दिएसम्म अरुले नछेड्ने भन्ने छ । तर अरूले गर्नै नहुने भन्ने हुँदैन । थिमिमा कुनै समयमा सात जनाले एकैदिन जिब्रो छेडेको इतिहास पनि छ । 

    जात्राको मुख्य दिन अबिर, सिन्दुरको प्रयोग गर्ने चलन छ । नेवार समूदायले जुन ठाँउमा भएपनि जात्राको मुख्य दिनमा सिन्दुर छरेर जात्रालाई अझ रंगिन र हर्षमय बनाउने गर्छन् । यसले जात्राको शोभा बढाउनुको साथै जात्रालाई रमाइलो बनाउँछ । थिमिमा बैशाख २ गते सिन्दुरको प्रयोग गरेर जात्रा मनाइन्छ । 

    मध्यपुर थिमिको जात्रा दुई वर्ष, दुई महिना र दुई दिन चल्ने जात्रा हो भन्छौँ । जस्तै २०८१ को चैत्र मसान्तमा जात्रा सुरु हुन्छ । त्यसपछि २०८२ साल बैशाख १ र २ गतेसम्म जारी रहन्छ । पहिलो दिनको जात्रा रातको समयमा हुन्छ, दोस्रो दिन साँझ हुन्छ भने तेस्रो दिनको जात्रा बिहान सुरु हुन्छ ।

    मध्यपुर थिमिमा सबै गरेर ३२ वटा खत (रथ) को जात्रा हुन्छ । त्यो रथहरूको नेतृत्व शक्तिपिठहरूको मूर्ति स्थापित गरेको खतले गर्छ । नेवार समूदायभित्र जहाँ टोलहरूको विकास गरिन्छ त्यो टोलले गणेशको स्थापना गरेको हुन्छ । टोल गणेशको खत पनि जात्रामा सहभागी हुन्छ । यसरी हेर्दा शक्तिपिठ र टोल गणेशको यो जात्रामा संलग्नता हुन्छ ।

    नेवार बस्तीमा बढी उल्लास 

    विशेष गरेर जात्रा र संस्कृतिको विकास सबै नेवार बस्तीमा भएको देखिन्छ । पूर्वदेखि पश्चिमसम्म जहाँ जहाँ नेवार बस्ती छ त्यो ठाँउमा आफ्नै प्रकारको जात्रा परम्परा छ । यस्ता धेरै जात्राहरू चैत्र, बैशाखदेखि साउनसम्म सम्पन्न हुन्छन् । नेवार समुदायको केन्द्रको रूपमा भक्तपुर हो र अरू बस्ती भनेको त्यहीबाट विस्तार भएको हो ।

    जुन ठाँउमा नेवार बस्ती विस्तार भयो त्यो ठाँउमा नेवार संस्कृति र जात्रा पनि विस्तार भयो । भक्तपुरमा सुरुमा भएको बिस्का जात्रा अन्य ठाउँमा फरक समयमा हुने भएकाले फरक नाम मात्र भएको हो । तर टोखा, भक्तपुर, मध्यपुर थिमि, साँगालगायतका ठाँउमा बिस्का जात्रा भनेर नै मनाइन्छ । 

    भक्तपुरमा तानिने रथ काशी विश्वनाथ भैरवको रथ हो । जात्रालाई उत्साहमूलक र सहभागितामूलक बनाउनको लागि रथ दुईतर्फ तानेर प्रतिस्पर्धाको जस्तो माहोल बनाइन्छ । योसी उठाएर जात्रा सुरु हुन्छ । विशेषगरि चैत्रमा सूर्य मेष राशिबाट मीन राशिमा प्रवेश गर्छ । त्यसलाई आधार मानिन्छ । 

    कुनै समय महिनाको नामाकरण भएको थिएन । त्यो समयमा हरेक महिनालाई राशिको नाममा चिनिन्थ्यो । चैत्र, बैशाख महिना भनेझै मेष, मीन भन्ने चलन थियो । १२ महिनालाई १२ राशिको रूपमा नामाकरण गरिएको थियो । क्यालेन्डरको विकासपछि मात्र महिनाको नामाकरण भएको हो । मीनबाट मेष राशिमा प्रवेश गर्ने  दिन विशेष हो । त्यो दिन दिनरात बराबर हुन्छ । 

    माघे संक्रान्तिबाट दिन लामो हुँदै जाने र साउने संक्रान्तिको दिन दिनरात बराबर हुन्छ । त्यसपछि दिन छोटो हुँदै रात लामो हुँदै जान्छ । वर्षमा ६ महिना रात लामो दिन छोटो र ६ महिना दिन लामो रात छोटो हुन्छ । 

    चैत्र र वैशाखको बिचमा र साउनमा गरी दुई दिनचाहिँ दिनरात बराबर हुन्छ । त्यसलाई विषेश दिन भनिन्छ । त्यसलाई धार्मिक आस्थाले हेरिन्छ । त्यो दिनमा झण्डोतलन गर्ने, योसी ठड्याउने गर्छन । त्यसो गर्दा शत्रु नाश हुन्छ भन्ने विश्वास छ ।

    जात्राका विधिहरू

    यसका विधिहरू धेरै छन् । विशेषतः योसी ल्याउने ठाउँ भक्तपुरबाट नाला जाने बाटोमा भएको जङ्गल हो । योसी ल्याउन विभिन्न तान्त्रिक विधिबाट पूजा गरेर वलि बोकालाई छाडिन्छ । त्यो बोकाले जुन रूखलाई टाउकाले हान्छ त्यसलाई योसीका रूपमा काटिन्छ ।

    योसीको छनोट पनि तान्त्रिक विधिबाट हुन्छ । त्यो समयमा योसी ठड्याउँदा उपयुक्त विधि भनेको तान्ने थियो । किनभने बोक्नलाई कठिनाइ भएर हो । त्यसलाई वैज्ञानिक आधारमा हेरिएको छ । जात्रामा सहभागी हुँदा वातावरण पनि उल्लासपूर्ण हुन्छ । वातावरणलाई उल्लासपूर्ण बनाउने भनेको धिमे बाजा पनि हो । 

    धिमे शब्द धेमष भन्ने संस्कृतबाट आएको हो । त्यो बाजाले नै मानिसमा उत्साह ल्याउने गर्छ । अरु जात्रामा धिमे बाजा बजाइँदैन । नेवार समुदायमा वलि दिने प्रचलन परम्परा नै हो । पशुपंक्षीको मात्र वलि होइन वलि भनेको समर्पण, त्याग हो र चढाउनु हो । 

    पूजामा समयबजि भनेर चिउरा, समयबजि, छोइला, माछा, अण्डा गरी पाँचथरीका पञ्चंकार वलिको स्वरूप ग्रहण गरिन्छ । तान्त्रिक विधि अनुसार शक्तिपिठहरूमा वलि चढाइन्छ । नेवार समुदायमा गणेशलाई पनि वलि चढाइन्छ ।

    पछिल्लो समय जात्रामा सहभागी हुनेको सङ्ख्या कम हुँदै गएको छ । सहभागिता हुँदै गर्दा पनि मौलिकता हराउँदै गएको छ । बाजामा पनि मौलिकता हराउँदै गएको छ । ब्यान्ड बाजा बजाउनु नयाँ पनि होइन् । विकृति हो । त्यसले मौलिकता जोगाउँदैन् । पछिल्लो समय युवा पुस्तामा मौलिकता जोगाउनको निम्ति बाजा सिक्ने, सिकाउने चलन बढेको छ । 

    पहिले बाजा पुरुषहरूले मात्र बजाउँथे भने अहिले महिला, केटाकेटीहरूले पनि बजाउँछन् । यसले संस्कृति बचाउनुपर्छ भन्ने मान्यता राख्छ । परम्परागत रूपमा मौलिक सम्पत्तिको जोगाउनुपर्छ भनेर युवाहरू सक्रिय भएका छन् । 

    नेवार समुदाय वाहेक अन्य समुदायले पनि सहभागिता जनाउने, अपनत्व लिने गरेका छन् । त्यसलाई नेवार समुदायले पनि अपनाउनुपर्छ । त्यसो गर्दा झगडा हुँदैन र भएको छैन । नेवार समुदाय कुनै जातिय समुदाय नभई भाषिक समुदाय भएकाले जातिक मतभेत रहनु हुँदैन । 

    (कला, संस्कृति र इतिहास सम्बन्धी अध्ययन गर्दै आइरहेका अध्येता राजेन्द्र श्रेष्ठसँग नेपाल न्यूज बैंकले गरेको कुराकानीमा आधारित)

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com