काठमाडौँ / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले भ्रष्टाचारी, विचौलिया र दलालहरू मिलेर आफूहरूलाई सरकारबाट बाहिर जान बाध्य पारेको बताएका छन् ।
हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेस जागरण अभियान अन्तर्गत नवलपुर कावासोतीमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भ्रष्टाचार विरोधी अभियान, सामाजिक न्यायको अभियान र आर्थिक विकासको अभियान चलाउँदैगर्दा आफूहरुलाई संविधान मिचेर रातको अध्याँरोमा छलछाम र जालझेलको तरिकाले षड्यन्त्र गरेर सङ्ख्याको बलमा सरकारबाट बाहिर पुर्याउने काम गरेको बताएका हुन् ।
उनले भने, “भ्रष्टाचार विरोधी, सामाजिक न्याय र आर्थिक विकासको अभियान चलाउँदै गर्दा भ्रष्टाचारीहरू, विचौलिया, दलालहरु मिलेर हामीलाई सरकारबाट बाहिर जान बाध्य पारियो । संविधान मिचेर रातको अध्यारोमा छलछाम र जालझेलको तरिकाले षडयन्त्र गरेर सङ्ख्याको बलमा सरकारबाट बाहिर पुर्याउने काम गरेका छन् ।”
साथै उनले जनतासँग गहिरो सम्बन्ध बनाएर भ्रष्टाचारीका विरुद्ध फेरी लडाई लड्ने बताए । उनले सुशासन, सामाजिक न्यायका पक्षमा लड्ने उद्देश्यले माओवादी अगाडि बढ्ने बताए ।