images
images

प्याजमा सधैँ भारतकै भर : महङ्गियो नेपालीको भान्सा, किन बढ्दैन स्वदेशी उत्पादन ?

प्याजमा सधैँ भारतकै भर : महङ्गियो नेपालीको भान्सा, किन बढ्दैन स्वदेशी उत्पादन ?

भारतले हरेक बर्ष जसो यही समयमा प्रायः प्याजको निर्यातमा विभिन्न रूपले कडाइ गर्ने गरेको छ । विगतमा पनि भारतले नेपाली बजारमा प्याजको माग तथा उपभोग धेरै हुने समयमा नै अवरोध सिर्जना गरेको थियो ।

बुधवार, भदौ ६ २०८०
बुधवार, भदौ ६ २०८०
  • प्याजमा सधैँ भारतकै भर : महङ्गियो नेपालीको भान्सा, किन बढ्दैन स्वदेशी उत्पादन ?
    images
    images

    काठमाडौँ / भारतले प्याज निर्यातमा कर लगाएपछि भान्सा फेरि महङ्गिएको छ । यो पहिलो पटक भने हैन । यसअघि गहुँ र गैर बासमती चामल निर्यातमा प्रतिबन्ध लगाएको भारतले अहिले भने प्याज निर्यातमा ४० प्रतिशत कर लगाएको छ । यसको सिधा असर भने नेपालीको भान्सामा परेको छ । भारतले प्याजमा कर लगाएपछि पछिल्लो दुई दिनमा प्याज आएको छैन भने स्टक रहेको प्याजको भाउमा पनि व्यापारीहरूको मनोमानी चलिरहेको छ ।

    प्याजको उत्पादनमा आएको कमीसँगै मूल्यवृद्धि बढेपछि भारतको वित्त मन्त्रालयले शनिबार एक सार्वजनिक सूचना जारी गर्दै ४० प्रतिशत निर्यात कर लगाएको हो । अर्थात भारतको नयाँ नीतिअनुसार आउदो पुससम्मको लागि प्याज निर्यातमा ४० प्रतिशत कर लाग्नेछ । जसको सिधा प्रभाव नेपालको आपूर्ति प्रणालीमा पर्ने भएको हो । निर्यात करले देशबाहिर प्याज पठाउने कार्य निरूत्साहित हुने, आन्तरिक बजारमा प्याजको अभाव नहुने र मूल्य स्थिर रहने बुझाइ छ । भारत सरकारले पटक–पटक प्याज निर्यात बन्द गरेता पनि प्याजमाथि निर्यात शुल्क भने पहिलो पटक लगाइएको हो ।

    भारतको उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालयका अनुसार भारतमा शनिबार प्याजको खुद्रा मूल्य सरदर ३० रूपैयाँ ७२ पैसा भारू कायम थियो । यो भनेको गत वर्षको यही अवधिको भन्दा २०.७५ प्रतिशत बढी हो । भारतीय रेटिङ एजेन्सी क्राइसिलको ४ अगस्टको प्रतिवेदन अनुसार अगस्ट अन्तिमसम्म प्याजको मूल्य ६०-७० भारू प्रतिकिलो हुने सम्भावना छ । भारतको मुख्य शहरी क्षेत्रमा जुलाई र अगस्टबीचको एक महिनामा मात्रै प्याजको भाउ २० प्रतिशतले उकालो लागेको थियो । 

    विश्वमै प्याजको ठूलो निर्यातकर्ताले लगाएको निर्यात शुल्कले आन्तरिक बजारमा प्याजको मल्य घट्नेछ भने अन्य एशियाली मुलुकले भने मूल्यवृद्धिको मार सहनुपर्नेछ । भारतीय निर्यात शुल्कका कारण एशियाली बजारमा प्याजको अभाव हुने र माग धान्न नसकेर चीन र पाकिस्तानको प्याजको मूल्य पनि बढ्नेछ । यसको बढी असर बङ्लादेश, नेपाल, मलेसिया, यूएई, श्रीलंका लगायत मुलुकमा पर्नेछ ।

    भारतको अर्थ मन्त्रालय अन्तर्गत अप्रत्यक्ष कर तथा भन्सार बोर्डले भदौ २ देखि पुस १५ सम्म लागु हुने गरी प्याज निर्यातमा महसुल बढाएको हो । जुलाई महिनामा मात्रै भारतमा तरकारी तथा खाद्यान्नको मूल्य १५ महिनायताकै उच्च वृद्धि भएपछि सरकारलाई मूल्य वृद्धि नियन्त्रण गर्न दबाबकाबिच प्याजको निर्यात कर उच्च बनाइएको हो । नेपालमा ९५ प्रतिशत भारतबाट आयात हुने गर्छ । भारतले निर्यातमा ४० प्रतिशत महसुल बढाएसँगै आयात हुँदा मूल्य बढेर आउने छ । त्यसको प्रभाव स्थानीय बजारमा समेत पर्ने गर्छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा बर्सेनि ठुलो परिणाममा प्याज भारतबाट आयात हुने गर्छ ।

    प्याज निर्यातमा भारतको बारम्बार अवरोध किन ?  

    भारतले हरेक बर्ष जसो यही समयमा प्रायः प्याजको निर्यातमा विभिन्न रूपले कडाइ गर्ने गरेको छ । विगतमा पनि भारतले नेपाली बजारमा प्याजको माग तथा उपभोग धेरै हुने समयमा नै अवरोध सिर्जना गरेको थियो । नेपाली बजारमा असार–साउनदेखि मंसिर–पुसको महिनामा प्याजको उपभोग बढी हुने गरेको छ ।

    पाँच वर्षअघि अर्थात २०७५ मंसिर १२ मा भारत सरकारले प्याजको अभाव भएको र मल्य अकासिएकाले नियन्त्रण गर्ने भन्दै निर्यातमा प्रतिबन्ध लगाएको थियो । उक्त समयमा पनि भारतले निर्यातमा रोक लगाउँदा नेपाली बजार प्रभावित भएको थियो । त्यस्तै, २०७६ असोजमा पनि भारतले प्याजको निर्यातमा रोक लगाएको थियो । २०७७ भदौ २९ मा पनि भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएको थियो ।

    कयौँ वर्षदेखि भारतले यसरी नै प्याजको निर्यातमा रोक लगाउने तथा प्रतिबन्ध लगाउने गर्दै आएको छ । भारत सरकारले स्वदेशमा नै प्याजको खपत बढी हुने समयमा प्याजको निर्यातमा कडाइ गर्दै आएको छ । भारतबाट प्याजको निर्यातमा कडाइ हुँदा भारतकै भरमा रहेको नेपाली बजारमा भने प्याजको मूल्य आकाशिने गरेको छ । कर लगाइएपछि निर्यातमा कमी आउने र आन्तरिक आपूर्तिमा सुधार भई मल्यवृद्धि नियन्त्रण हुने मन्त्रालयको दाबी छ । ‘निर्यात करले भारतीय प्याजलाई पाकिस्तान, चीन र इजिप्टको प्याजको तुलनामा महँगो बनाउनेछ, यसले स्वभाविक रूपमा निर्यातमा कमी ल्याउनेछ र स्थानीय बजारमा मल्य घटाउन मद्दत गर्नेछ’ मुम्बईका निर्यात विज्ञ अजित शाहले भारतीय मिडियामा भनेका छन् ।

    ५ बर्षमा बाहिरियो २३ अर्ब ६३ करोड

    नेपालमा भारतबाटै ठुलो परिणाममा प्याज आयात हुने गर्छ । भारतबाट नेपालमा ताजा, सुकाइएको र बिउ गरी तीन प्रकारको प्याज आयात हुने गरेको छ । यद्यपि, राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रका सूचना अधिकारी तथा बिरुवा संरक्षण अधिकृत तोयानाथ जोशीले भने पछिल्लो समयमा भारतले प्याजको बिउ निर्यातमा रोक लगाएको जानकारी दिए । 

    मागअनुसारको उत्पादन देशमा नहुँदा खपत हुने प्याज अधिकांश भारतबाट नै आउने गरेको भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ । गत आर्थिक वर्ष २०७९/८० मा नेपालमा ६ अर्ब ७५ करोड ९ लाख २३ हजार रुपैयाँ बराबरको १ लाख ८० हजार मेट्रिक टन प्याज आयात भएको थियो । यसमध्ये सबैभन्दा धेरै प्याज भारतबाट नै आयात भएको हो । गत बर्ष भारतबाट ६ अर्ब ८७ करोड ६७ लाख २२ हजार कुल १ लाख ८० हजार १९० मेट्रिक टन प्याज नेपालमा आयात भएको थियो ।

    त्यस्तै, अन्य वर्षहरूको भन्सार विभागको तथ्याङ्क हेर्ने हो भने पनि अधिकांश प्याजहरू भारतबाट नै आयात भएको देखिन्छ । प्याजको बिउलगायत अन्य देशबाट आयात हुने भए पनि उपभोक्ताको भान्सामा पुग्ने प्याज भने भारतबाट नै आयात भएको पाइएको छ । भन्सार विभागका अनुसार आव २०७८/७९ मा नेपालमा ६ अर्ब १७ करोड ५ लाख ७१ हजार रूपैयाँ बराबरको १ लाख ६८ हजार ५४० मेट्रिक टन प्याज आयात भएको थियो ।

    विगत ५ वर्षमा भएको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार पाँच बर्षमा नेपालमा कुल ६ लाख ६४ हजार ७३७ मेट्रिक टन प्याज आयात भएको छ । यो परिणामको प्याज आयात गर्न नेपालबाट २३ अर्ब ६३ करोड १ लाख ५३ हजार रुपैयाँ बाहिरिएको छ । काठमाडौँ उपत्यकामा खपत हुने दैनिक ९० देखि एक सय टन प्याज भारतबाट नै आउने गरेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार कालीमाटीलगायत देशका ठुला तरकारी बजारमा भित्रिने सबै प्याज भारतबाटै आयात हुन्छ ।

    नेपालको प्याज लोकल बजारमै खपत हुने र यी तरकारी बजारसम्म नआइपुग्ने उनको भनाइ छ । भारतले प्याजमा ४० प्रतिशत भन्सार कर लगाउने भएका कारण केही दिनका लागि प्याजको आयात रोकिएको श्रेष्ठले बताए । उनले भने, “बजारमा जति पनि प्याज छन्, ती सबै भारतबाट आयात भएको हो ।

    भारतले निर्यात कर लगाउने नीति लिएका कारण प्याज आयात भएको छैन । अब एक÷दुई दिनमा आउने प्याजमा निर्यात कर जोडिने भएकोले महङ्गो हुनेछ । स्टक प्याज सबै व्यापारीहरूले उठाएको कारण अहिले कालीमाटीमा प्याज छैन ।” समितिको तथ्याङ्क अनुसार गत आइतबार कालीमाटीमा ४७ टन प्याज भित्रिएको छ भने सोमबारदेखि प्याज भित्रिएको छैन । सोमबार हरियो प्याज ३० केजी र मङ्गलबार ८०० केजी भित्रिएको समितिले जनाएको छ ।

    नेपालमा ५ बर्षमा विभिन्न देशबाट हुने प्याज आयात

    01.JPG
    नेपालमा ५ बर्षमा भारतबाट कति भित्रियो प्याज ? 

    नेपालमा माग धान्न भारतबाट बार्षिक रूपमा करिब २० करोड केजी प्याज आयात हुने गरेको भन्सार विभागको तथ्याङ्क छ । जसमा आर्थिक बर्ष २०७९/८० मा प्याज ६ अर्ब ७५ करोड रूपैयाँ, सुकेको प्याज ११ करोड रूपैयाँ र बिउ २३ लाख रुपैयाँ बराबरको आयात भएको छ । अघिल्लो आर्थिक बर्ष २०७८/७९ मा भारतबाट ताजा प्याज ६ अर्ब १७ करोड रूपैयाँ, सुकेको प्याज २६ करोड रूपैयाँ र ९३ लाख रूपैयाँको बिउ आयात भएको छ ।

    नेपालमा ५ बर्षमा भारतबाट मात्रै भएको प्याज आयात

    सन् २०२३ को अप्रिल–जुनमा भारतले ६५ वटा देशमा प्याज निर्यात गरेको थियो । यस अवधिमा नेपालमा ०.३९ लाख मेट्रिक टन प्याज भारतबाट आयात भएको थियो । गत आर्थिक वर्ष २०७९/८० मा भने नेपालमा भारतबाट छ अर्ब ८७ करोड ६७ लाख रुपैयाँ बराबरको १८ करोड केजी प्याज आयात भएको छ ।

    )2.JPG

    विश्वमा भारतले सबैभन्दा धेरै प्याज निर्यात गर्दै आएको छ । निर्यातकर लागेसँगै भारतीय प्याजमा निर्भर नेपालसहितका मुलुकमा अब प्याजको मूल्य बढ्नसक्ने बताइएको छ । 

    प्याजको मूल्यमा ४६.६७ प्रतिशतसम्मले बृद्धि 

    भारतले प्याज निर्यातमा ४० प्रतिशत भन्सार कर लगाउने निर्णय गरेको दोस्रो दिनदेखि नै नेपालमा मूल्यवृद्धि सुरु भएको छ । शनिबार भएको उक्त निर्णयपश्चात् पनि आइतबार नेपालमा प्याजको मूल्य स्थिर नै थियो । तर, सोमबार भने प्याजको थोक मूल्य किलोमै १८ रुपैयाँसम्मले बढेको कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिको तथ्याङ्कमा उल्लेख छ ।

    बजारमा स्टक प्याज सकिएको भन्दै कालीमाटीले मङ्गलबार र बुधबार भने सुकेको प्याजको मूल्य सार्वजनिक गरेको छैन । शनिबार र आइतबार न्यूनतम मूल्य प्रतिकेजी ६० रुपैयाँदेखि अधिकतम मूल्य ६२ रुपैयाँसम्म तोकिएकोमा सोमबार प्रतिकेजी १६ रुपैयाँसम्म बढेको छ । यस आधारमा एक दिनमै कालीमाटीमा प्याजको मूल्य २९.०३ प्रतिशतले महङ्गिएको देखिन्छ । 

    सोमबार कालीमाटीमा प्याजको औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँदेखि अधिकतम मूल्य ८० रुपैयाँसम्म तोकिएको थियो । मङ्गलबारसम्म बजारमा भने प्याजको मूल्य प्रतिकेजी १२० रुपैयाँसम्म पुगेको उपभोक्ताहरू बताउँछन् ।  

    त्यस्तै, हरियो प्याजको मूल्यमा ४६.६७ प्रतिशतको वृद्धि देखिएको छ । भारतले निर्यातमा कर लगाउनुअघि गत शनिबारको तुलनामा आइतबार हरियो प्याजको मूल्य घटेको थियो । शनिबार र आइतबार १५० रुपैयाँ प्रतिकेजी बिक्री भएको उक्त प्याज सामबार बृद्धि भएको थियो । सोमबार १९३.३३ रुपैयाँ पर्ने हरियो प्याजको मूल्य मङ्गलबार अझै भने बढेर प्रतिकेजी २२० रुपैयाँसम्म पुगेको छ । हरियो प्याजको आपूर्ति बढेपछि कालीमाटीमा बुधबार भने उक्त मूल्य घटेर २०० रुपैयाँसम्म कायम भएको छ । जुन शनिबार र आइतबारको तुलनामा ३३.३३ प्रतिशत बढी हो । 

    नेपाल सरकारले चालु आर्थिक वर्षको बजेटमा प्याजलाई पनि मल्य अभिवृद्धि कर (भ्याट) लाग्ने वस्तुको सूचीमा राखसँगै साउनदेखि १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्दै आएको छ । बजेटपछि बृद्धि भएको प्याजको मूल्य भारतले निर्यात कर लगाउने घोषणासँगै अझै बढ्ने भएको छ । मूल्यवृद्धि हुने भएपछि व्यापारीहरूले प्याजमा कालोबजारी सुरु गरेका छन् । व्यापारीहरूले स्टक रहेको प्याजको मूल्यसमेत बढाएर प्याज बिक्री गरिरहेको वाणिज्य आपूर्ति तथा उभोक्ता संरक्षण विभागले जनाएको छ । 

    प्याजमा कालोबजारी 

    एक दिनमै प्याजको मूल्य प्रतिकिलो २० रुपैयाँसम्मले बढेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमनबाट देखिएको छ । भारतले निर्यातमा कर बढाउनु अगावै नेपाल भित्रिसकेको र मौज्दात रहेको प्याजमा चर्को मूल्य वृद्धि भएपछि वाणिज्य विभागले अनुगमन थालेको छ । विभागका निर्देशक घनश्याम सुवेदीका अनुसार सोमबार विभागले २१ जनाको तीन वटा अनुगमन टोली खटाएर कालीमाटी, बल्खु, एकान्तकुनालगायत प्रमुख तरकारी बजार र खुद्रा पसलमा अनुगमन गरेको थियो । 

    भारतले भन्सार बढाएको बहानामा व्यापारीले पहिल्यै आयात गरिसकेको प्याजमासमेत मूल्य बढाएर कालोबजारी गरेपछि अनुगमन गरिएको र केही व्यापारीलाई कारबाहीसमेत भएको उनले बताए ।    

    “प्याजमा कालो बजारी र चर्को मूल्यवृद्धिको सूचना पाउने वित्तिकै विभागले सोमबार दिउँसो २१ जनाको तीन वटा टोली परिचालन गरेर अनुगमन गरेको थियो । तीन वटा व्यापारीलाई जनही २० हजार रुपैयाँ, २ वटा व्यापारीलाई जनही ५० हजार रुपैयाँका दरले कारबाही गरिएको छ भने ४ वटा आयातकर्ता र व्यापारीलाई थप अनुसन्धानका लागि कागजात माग भएको छ,” निर्देशक सुवेदीले भने ।

    त्यस्तै, मङ्गलबार विभागले गरेको जोरपाटी, गोकर्णेश्वर, नरेफाट, धुम्बाराबाही, जडिबुटी, तिनकुने, भक्तपुर, धोविघाट लगाएका स्थानमा गरेको बजार अनुगमनमा १२ ओटालाई १ लाख ८० हजार जरिवाना गरिएको छ । अनुगमनको क्रममा विभिन्न कसुरमा ६ ओटालाई १० हजार रुपैयाँ र ६ ओटालाई २० हजार रुपैयाँका दरले जविाना गरिएको हो । कागजात नभेटिएको, बिक्री बिल लुकाउने, खरिद विल विजन नराखेको जस्ता कारणले कारवाही गरिएको विभागले जनाएको छ । त्यस्तै, विभागले बुधबार प्रयागपोखरी, धुम्बाराही, बासबारी, इमाडोललगायतका स्थानमा गरेको अनुगमनमा दस हजारका दरले तीन ओटा र एउटा तरकारी पसललाई २० हजार जरिवना गराएको छ । 

    वाणिज्य विभागले गर्ने नियमित अनुगमन अन्तर्गत सोमबार र मङ्गलबार भने प्याजको मूल्य वृद्धिमा केन्द्रित भएर गरिएको थियो । फरक मूल्य राखेर भ्याटबिल बनाएको तथा आयातकर्ता व्यापारीले अरु खुद्रा व्यापारीलाई कति रकममा बिक्री गरेका छन् भन्नेबारे विभागले विस्तृत अध्ययन गरिरहेको पनि निर्देशक सुवेदीले जानकारी दिए । 

    माग धेरै, उत्पादन कम

    अधिकांश नेपालीको भान्सामा पुग्ने भारतीय प्याजमा मुलुक निर्भर छ । औसतमा नेपालमा करिब ४ लाख १ हजार मेट्रिक टन प्याजको माग रहेको हुन्छ । राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रका सूचना अधिकारी तथा बिरुवा संरक्षण अधिकृत तोयानाथ जोशीका अनुसार नेपालमा १३ हजार १८९ हेक्टर क्षेत्रफलमा प्याज उत्पादन गरिन्छ । १ हेक्टरमा १२.६५ मेट्रिक टन उत्पादन हुन्छ । जसको आधारमा नेपालमा बार्षिक रूपमा १ लाख ६६ हजार ९०४ मेट्रिक टन प्याज उत्पादन हुन्छ । चाडपर्वको समयमा भने प्याजको माग बढी हुन्छ । नेपालमा उत्पादन भएको प्याजले करिब १ तिहाइ माग धान्ने जोशीले बताए । नेपालका ठुला बजारहरूमा नेपाली उत्पादनले माग नधान्दा बाहिरी मुलुकबाट आयात गर्नेपर्ने बाध्यता रहेको सरोकारवालाहरूको भनाइ छ । 

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष ०७७/०७८ मा प्रदेश १ मा १ हजार ९९४ हेक्टर जमिनमा खेती हुँदा प्रतिहेक्टर १२.१० मेट्रिक टनका दरले २४ हजार १३५ मेट्रिक टन प्याज उत्पादन भएको थियो । त्यस्तै, सोही आर्थिक वर्षमा मधेस प्रदेशमा १० हजार ८३७ हेक्टर जमिनमा खेती गरिएकोमा प्रतिहेक्टर १५.८४ मेट्रिक टनका दरले १ लाख ७१ हजार ६४९ मेट्रिक टन प्याज उत्पादन भएको थियो ।

    सोही आर्थिक वर्षमा बागमती प्रदेशमा १ हजार १२२ हेक्टर जमिनमा खेती गरिँदा प्रतिहेक्टर ११.८० मेट्रिक टनका दरले १३ हजार २४६ मेट्रिक टन प्याज उत्पादन भएको थियो भने गण्डकी प्रदेशमा ६८२ हेक्टर जमिनमा खेती भएकोमा प्रतिहेक्टर १२.६३ मेट्रिक टनका दरले ८ हजार ६६२ मेट्रिक टन प्याज उत्पादन भएको थियो । 

    लुम्बिनी प्रदेशमा २ हजार ८२३ हेक्टर जमिनमा खेती भएकोमा प्रतिहेक्टर १४.१४ मेट्रिक टनका दरले ३९ हजार ९११ मेट्रिक टन, कर्णाली प्रदेशमा ७४९ हेक्टर जमिनमा खेती भएकोमा प्रतिहेक्टर ११.३२ मेट्रिक टनका दरले ८ हजार ४८२ मेट्रिक टन र सुदुरपश्चिम प्रदेशमा २ हजार ४३ हेक्टर जमिनमा खेती भएकोमा प्रतिहेक्टर ११.२६ मेट्रिक टनका दरले २ हजार ११ मेट्रिक टन प्याज उत्पादन भएको मन्त्रालयको तथ्याङ्क छ । यद्यपि, नेपालमा उत्पादित प्याज ठुला तरकारी बजारसम्म नआइपुग्ने  कालीमाटी फलफूल तथा विकास समितिले जानकारी दिएको छ । 

    स्वदेशमा उत्पादन बढाउन सम्भव होला ?

    किसान प्याज खेतीतर्फ आकर्षित हुन नसक्दा उन्नत किसिमको जात भए पनि व्यवसायिक प्याज खेती हुन नसकेको केन्द्रका सूचना अधिकारी जोशीले बताए । प्याज खेती गर्ने समय असोज कार्तिक हो । यसका लागि हिउँदे सिञ्चित क्षेत्र उपयुक्त हुन्छ, जुन गहुँ बालीका लागि पनि निकै उपयुक्त मानिन्छ । मध्यपहाडी क्षेत्रका किसानहरू प्याज नखाए पनि हुन्छ भन्ने भन्ने सोचेर गहुँ लगाउछन् । उनी भन्छन्, “गहुँ लगाउने जमिनसँग भएको प्रतिस्पर्धामा किसानले गहुँलाई रोजे, त्यसैले प्याज खेतीतर्फत किसानहरू आकर्षित हुन सकेनन् ।” 
    तापक्रम कम भएको, पानी र छाया पर्ने मौसम पाल्पादेखि दैलेखसम्मको मध्यपहाडी क्षेत्र भएकोले यो क्षेत्रमा मात्रै प्याजको बिउ उत्पादन गर्न सकिने उनी बताउँछन् ।

    हाल नेपालमा चार ओटा प्याजको जात लगाइन्छ । जोशीका अनुसार प्याजको बिउ उन्नत छन् तर किसानले सजिलै पाउँदैनन् । उनले भने, “सरकारी स्तरबाट बिउ उत्पादनका लागि पहल भएको छ । कृषि अनुसन्धान परिषद्ले दैलेखमा सञ्चालन गरेको फर्मले बार्षिक २ सय केजी प्याजको बिउ उत्पादन गर्दै आएको छ । तरकारी बिउ उत्पादन केन्द्र, रुकुम पश्चिमले बार्षिक ३०० केजी प्याजको बिउ उत्पादन गर्छ । उक्त फर्मको एरिया थोरै भएको कारणले त्योभन्दा बढी उत्पादन गर्ने क्षमता छैन ।

    उक्त फर्मको लागि जम्मा १ करोड ७० लाख रुपैयाँ मात्रै बजेट छुट्याइएको छ । जसमा १ करोड रुपैयाँ तलबमै जान्छ होला, ७० लाख रुपैयाँ मात्रै फर्मको लागि हो ।” उत्पादन बृद्धि गर्ने हो भने प्याजका लागि काम गरिरहेका निकायहरूको बजेट बढाउनुपर्ने हुन्छ । तर, यी क्षेत्रहरूमा पर्याप्त बजेट आउन नसक्नु राष्ट्रिय समस्या नै हो । सरकारले कृषिलाई प्राथमिकता दिने भने पनि कृषि क्षेत्रका लागि बजेट पर्याप्त छैन । भारतले पनि प्याजको बिउ निर्यात गर्दैन र नेपालमा उत्पादन हुने बिउ पर्याप्त नभएको कारणले पनि प्याज उत्पादन बृद्धि नभएको उनले बताए ।

    त्यस्तै, प्याजको बिउ उत्पादन गर्न सामान्य ज्ञानले पुग्दैन । प्याजको बिउ भण्डारण, प्याकेजिङ र ह्याण्डलिङ गर्दा विशेष ध्यान पुर्याइएन भने उम्रिदैन । यसको उमारशक्ति ह्याण्डलिङसँग सम्बन्धित छ । त्यसैले प्याज बिउ उत्पादन प्रकिया ‘हाइली टेक्निकल’ छ । सामान्य किसानले प्याजको बिउ उत्पादन गर्न सक्दैन । उनले भने, “लागत मूल्य बढी पर्ने भएको कारणले पनि अरु बालीजस्तो प्याज खेतीतर्फ किसान आकर्षित हुन सकेको छैन । भारतमा दुई सिजनमा प्याज उत्पादन हुन्छ । भारतमा उत्पादन बढी भएको समयमा आयात हुने भारतीय प्याजसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न सक्दैन ।”


    साथै, बजारको सूचना नहुँदा नेपालमा उत्पादन भएको कृषि उपजले बजार नपाएको उनले बताए । “बजारको पहुँच छैन । किसानले आफ्नो उत्पादन कहाँ लाने ? माग कहाँ छ ? भन्ने कुरा थाहा नपाउदा कतै बजार अभाव भइरहेको छ भने कतै उत्पादनले बजार पाइरहेको छैन,”उनले भने । जोशीका अनुसार आगामी दिनमा प्याजको मिसन कार्यक्रम सञ्चालन गर्ने योजना छ ।

    उनी भन्छन्, “देशभर प्याजको उत्पादन वृद्धि गर्ने लक्ष्यसहित यो कार्यक्रम ल्याउन लागिएको हो । तर, सरकारले कृषि क्षेत्रमा भएको संरचनागत परिवर्तनका कारण हामी सफर भएका छौँ । कहिले खारेज गर्छन् कहिले व्युताउँछन् । कहिले यता फाल्छन्, केहिले उता फाल्छन् । जसले गर्दा कृषि सेक्टरमा काम गर्ने कर्मचारीहरूसमेत आफ्नो भविष्यबारे अन्यौल छ । यसले काम गर्ने वातावरण नै बन्न दिएको छैन । आफ्नै जिन्दगीको टुङ्गो नलागेको कृषि प्राविधिकहरूले कृषि उत्पादनको भविष्य कसरी सुधार गर्न सक्छन् ? कसरी प्रभावकारी रूपमा कृषिको अध्ययन अनुसन्धान गर्न सक्छन् ?” 

    नेपालमा आफुलाई खान पुर्याउने र बचेको बिक्री गर्ने साना किसानहरूको सङ्ख्या धेरै छ । भएका उत्पादनले बजार नपाउँदा व्यवसायिक खेतीका लागि किसान आकर्षित हुन सकेको छैन । बाहिरबाट आयात कम हुँदा मूल्य राम्रो पाइने आशाले किसानहरू प्याज खेतीका लागि सकारात्मक भएको राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष नवराज बस्नेतले बताए ।

    उनी भन्छन्, “बजार सुनिश्चित हुने र घाटा नहुने हो भने किसानहरूले व्यवसायिक रूपमा प्याज खेती गर्छन्, गरिरहेका पनि छन् । तर, सही मूल्य पाएका छैनन् ।” सरकारले प्याज खेतीका लागि पकेट क्षेत्र निर्धारण गरेर, किसानहरूको स–साना समूह बनाएर तालिम दिने, प्राविधिक, प्रविधि, बिउ तथा सम्बन्धित सामाग्री उपलब्ध गराउने र उत्पादन भएको कृषि उपजको समर्थन मूल्य तोकेर बजारसम्म पु¥याउन सहजीकरण गर्नुपर्ने उनले बताए ।

    अन्य कृषि उत्पादन तथा फलफूल उत्पादनमा किसानलाई आकर्षित गर्न पनि सरकारले यो व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । “कृषि उपज बिक्री नभएको अवस्थामा सरकारले नै खरिद गर्ने व्यवस्था गर्नुपर्छ । प्याजको बिउ उत्पादनका लागि पनि किसानहरूलाई तालिम दिनुपर्दछ । सम्भावना असाध्यै धेरै छ । हामीसँग जे राम्रो छ त्यो किसानले पाउँदैनन् । बिग्रेको÷सडेको पाउने । आयात हुनुजेल नेपाली किसानहरूलाई वास्ता हुँदैन ।  दूरदराजमा छरिएर रहेको उत्पादनलाई सङ्कलन गरेर मुलधारमा ल्याउन सकिदैन । हाम्रो थिति त्यहिबाट बिग्रेको हो,”उनले भने । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार