images
images

कृषिलाई व्यावसायिक र आत्मनिर्भर बनाउन शिक्षामा जोड दिनुपर्छ : अध्यक्ष ओली

कृषिलाई व्यावसायिक र आत्मनिर्भर बनाउन शिक्षामा जोड दिनुपर्छ : अध्यक्ष ओली

बुधवार, कार्तिक १ २०८०
बुधवार, कार्तिक १ २०८०
  • कृषिलाई व्यावसायिक र आत्मनिर्भर बनाउन शिक्षामा जोड दिनुपर्छ : अध्यक्ष ओली

    झापा / पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुक कृषिमा परनिर्भर बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । उनले निर्वाहमुखी कृषिलाई व्यावसायिक र आत्मनिर्भर बनाउने शिक्षामा जोड दिन आग्रह गरे ।

    मङ्गलबार गृहजिल्ला झापास्थित गौरादह कृषि क्याम्पसको नवनिर्मित पुस्तकालय र प्रयोगशाला भवनको उद्घाटन कार्यक्रममा उनले कृषिको आधुनिकीकरण र दक्ष जनशक्तिको उत्पादन गर्ने प्राविधिक शिक्षामा जोड दिनुपर्ने बेला आएको बताए ।

    “गोलभेँडा र खोर्सानी पनि आयात गर्नुपर्ने अवस्था आउनु चिन्ताको विषय हो”, अध्यक्ष ओलीले भने, “विद्यालय र क्याम्पसलाई सैद्धान्तिक विषयको ज्ञान दिने थलो मात्र बनाउनु हुँदैन, व्यावहारिक अभ्यासलाई पढाइसँगै अघि बढाउने शिक्षा आजको आवश्यकता हो ।” 

    उनले कृषि विषय अध्ययनरत विद्यार्थीलाई किसानको खेतबारीमा प्रत्यक्षरुपमा पुगेर व्यावहारिक अभ्यास गर्ने अवसर प्रदान गर्न आग्रह गरे । व्यावहारिक अभ्यासबिनाको सैद्धान्तिक ज्ञान उपयोगी नहुने उनको भनाइ थियो ।

    नेपाली हावापानी र माटो उर्वर भएकाले थोरै जग्गा भएका प्रत्येक नागरिकले पनि कृषि कर्म गरेर उत्पादनसँग जोडिनुपर्ने धारणा राख्दै उनले समृद्ध नेपाल र सुखी नेपालीको नारा सफल बनाउन मुलुकको कृषि क्षेत्रमा आमूल परिवर्तनको खाँचो औँल्याए ।

    त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बाँस्कोटाले नेपालमा कृषि तथा वन विज्ञान विषयमा भइरहेको पठनपाठनका विषयमा जानकारी दिए ।

    कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले गौरादहमा रहेको कृषि क्याम्पस कोशी प्रदेशकै गौरव भएको बताए । गौरादह नगरपालिकाका नगरप्रमुख छत्रपति सुवेदीले कृषि विज्ञान पढ्ने विद्यार्थीका लागि निःशुल्क कोटा बढाउनुपर्ने र गौरादहमा भेटनरी अस्पताल स्थापना गर्न माग गरे ।

    गौरादह कृषि क्याम्पसमा हाल दुई सय ३६ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् । क्याम्पसको पुस्तकालय र प्रयोगशाला निर्माणका लागि विश्वविद्यालय अनुदान आयोगले रु छ करोड ४४ लाख चार हजार सहयोग गरेको क्याम्पस प्रमुख सुबोध खनालले जानकारी दिए । 

    तीन तले १४ कोठे सो भवन तीन वर्षअघि निर्माण प्रारम्भ भएको थियो । भवनमा १४ कोठा रहेको क्याम्पसले जनाएको छ । क्याम्पसले कृषि स्नातक तहको दुई ब्याचको अध्ययन पूरा गरिसकेको खनालले बताए ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार