चर्चित समाचार
  • आयात बढेसंगै आन्तरिक अर्थतन्त्रमा सुधारको संकेत : १४ महिनापछि बढ्न थाल्यो व्यापार, निर्यात अझै ऋणात्मक

    आयात बढेसंगै आन्तरिक अर्थतन्त्रमा सुधारको संकेत : १४ महिनापछि बढ्न थाल्यो व्यापार, निर्यात अझै ऋणात्मक

    चालु आर्थिक बर्ष २०८०/८१ को तिन महिना (साउन–असोज) सम्मको वैदेशिक व्यापार तथ्याङ्कको अनुसार अर्थतन्त्र सकारात्मक बाटोतिर लागेको देखाएको हो ।

    सोमवार, कार्तिक १३ २०८०
    सोमवार, कार्तिक १३ २०८०
  • आयात बढेसंगै आन्तरिक अर्थतन्त्रमा सुधारको संकेत : १४ महिनापछि बढ्न थाल्यो व्यापार, निर्यात अझै ऋणात्मक

    काठमाडौँ / बाह्य अर्थतन्त्रका सूचकमा सुधार भएसँगै आन्तरिक अर्थतन्त्रको सूचकमा पनि क्रमशः सुधारको संकेत देखिएको छ । सरकारले गरेको कडाइ तथा न्यून आर्थिक गतिविधिका कारणले घटेको वैदेशिक व्यापार चालु आर्थिक बर्षको तेस्रो महिनामा आएर बढ्न थालेको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको चालु आर्थिक बर्ष २०८०/८१ को तिन महिना (साउन–असोज) सम्मको वैदेशिक व्यापार तथ्याङ्कको अनुसार अर्थतन्त्र सकारात्मक बाटोतिर लागेको देखाएको हो । 

    १४ महिना अर्थात गत आर्थिक बर्ष २०७९/८० को पहिलो महिना साउनदेखि ऋणत्मक रहेको आयात चालु आर्थिक बर्षको असोज महिनामा वृद्धि भएको छ । विभागका अनुसार साउनदेखि असोजसम्मको अवधिमा आयात १.६९ प्रतिशतले बढेको छ । यस्तै, तेस्रो महिनासम्ममा निर्यात ऋणात्मककै स्थितिमा रहे पनि आयातसँगै वैदेशिक व्यापार र व्यापार घाटा भने बढेको भन्सार विभागको तथ्यांकले देखाएको छ । ३ महिनामा निर्यात २.२६ प्रतिशतले घटेको छ भने व्यापार घाटा २.१५ प्रतिशतले बढेको छ ।

    यता, गत आर्थिक वर्षको पहिलो महिना (साउन) देखि नै आयात ऋणात्मक बनेको थियो । गत आर्थिक वर्षको पहिलो महिना साउनमामा नेपालको आयात र निर्यात नै खुम्चिएको थियो । उक्त अवधिमा नेपालको आयातमा १२.९० प्रतिशत र निर्यातमा २८.६८ प्रतिशतको गिरावट आएको थियो । त्यसयता प्रत्येक महिना निरन्तर घट्दै गत आर्थिक वर्षभरमा आयातमा १६.०८ प्रतिशत र निर्यात निर्यातमा २१.४४ प्रतिशतको गिरावट आएको थियो ।

    त्यसो त गत बर्ष दशैं असोजको सुरुमै थियो भने यो वर्ष कात्तिकको पहिलो साता पुगेको छ । यसले दशैँका लागि आवश्यक वस्तु गत बर्ष भदौमै आयात भएको र यो वर्ष असोजमा मात्रै आएका कारण पनि यस्तो परिदृष्य देखिएको पुष्टि गरेको हो । यद्यपि, असोज आउँदै गर्दा यी सबै संकुचनका खाडल भरेर आयातको आँकडाले बृद्धिको बाटो समातेको छ । यसले सरकारको भन्सार महसुलमा पनि सुधार भएको छ । असोज मसान्तसम्म सरकारले आयातित वस्तुको भन्सार महशुलमार्फत ४१ अर्ब १९ करोड ४२ लाख ६९ हजार राजस्व संकलन गरेको छ । तर यो साल आयात भएका वस्तुहरुको भन्सारबापत सरकारले औसतमा आयातित मूल्यको १०.१ प्रतिशतका दरले राजस्व पाएको छ ।

    विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा देखिएको आयात–निर्यातमा गिरावटको सिलसिला चालू आर्थिक वर्षको पहिलो दुई महिनामा समेत देखिएको थियो । चालु आर्थिक बर्षको साउन महिनामा आयातमा १.५६ प्रतिशत र निर्यातमा ८.६५ प्रतिशतको गिरावट आएको थियो । यस्तै, भदौसम्मको अवधिमा आयातमा ५.०६ प्रतिशत र निर्यातमा ७.७९ प्रतिशतको गिरावट आएको थियो । जसका कारणले मुलुकको राजस्व संकलनमा पनि प्रत्यक्ष असर पार्दै आइरहेको थियो । असोजमा दशैं÷तिहारलगायतका पर्वलाई लक्षित गरेर वस्तु तथा सामानको आयात वृद्धि भएसँगै आन्तरिक अर्थतन्त्रमा सुधारको संकेत देखिएको हो । 

    नेपालको अर्थतन्त्र आयातित वस्तुमा लगाइने करमा निर्भर रहँदै आएको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७९/८० साउनदेखि असोजसम्मको तीन महिनाको अवधिमा चार खर्ब रूपैयाँको वस्तु तथा सामान आयात भएको थियो । चालु आवको सोही अवधिमा गरिएको आयातमा १.६९ प्रतिशतले वृद्धि भएर चार खर्ब सात अर्ब रूपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको छ । चालु आवको असोजमा मात्रै विदेशी मुलुकबाट डेढ खर्ब रूपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको छ ।

    मासिक आयातमा आएको परिर्वतन (प्रतिशतमा)

    साउन २०७९

    -१२.९

    भदौ२०७९

    -१३.१

    असोज२०७९

    -२२.३

    कात्तिक२०७९

    -२३.३

    मंसिर२०७९

    -२९.८

    पुस२०७९

    -२०.५

    माघ२०७९

    -१४.६

    फागुन२०७९

    -१३.७

    चैत२०७९

    -९.४

    वैशाख २०८०

    -

    जेठ२०८०

    -

    असार २०८०

    -१६.८

    साउन२०८०

    -१.५

    भदौ२०८०

    -८.२९

    असोज२०८०

    ११

    आयात बढेपनि खुम्चियो निर्यात 

    चालु आवको तीन महिनाको अवधिमा नेपालमा आयात गरिने वस्तु तथा सेवामा केही बढे पनि नेपालबाट विदेशी मुलुकमा हुने निर्यात भने अझै पनि खुम्चिएकै छ । ३ महिनामा ४० अर्ब ८७ करोड ४८ लाख ९१ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान विभिन्न मुलुकहरूमा निर्यात भएको छ । जुन अघिल्लो आर्थिक बर्षको सोहि अवधीको तुलनामा २.२६ प्रतिशतले कम हो । अघिल्लो आ.व.को सोहि अवधीमो ४१ अर्ब ८२ करोड १ लाख ९२ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान निर्यात भएको थियो ।

    वैदेशिक व्यापार पनि बढ्यो

    चालु आर्थिक वर्षको तीन महिनामा वैदेशिक व्यापार चार खर्ब ४८ अर्ब ६३ करोड रूपैयाँको भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने चार खर्ब ४२ अर्ब ८१ करोड रूपैयाँ बराबरको भएको थियो । गत आवको तीन महिनाको तुलनामा चालु आवमा वैदेशिक व्यापार १।३१ प्रतिशतले बढेको छ ।  

    चालु आर्थिक वर्षमा नेपालबाट निर्यात हुने भन्दा आयात हुने वस्तु तथा सामान धेरै हुँदा वैदेशिक व्यापार घाटा भने बढेको बढ्यै भएको छ । चालु आर्थिक वर्षको साउनदेखि असोजसम्मको अवधिमा वैदेशिक व्यापार घाटा १.३१ प्रतिशतले वृद्धि भएर तीन खर्ब ६६ अर्ब ८८ करोड रूपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा वैदेशिक व्यापार घाटा भने तीन खर्ब ५९ अर्ब १७ करोड रूपैयाँ रहेको छ । गत आर्थिक वर्षको कुल वैदेशिक व्यापारमा आायतको हिस्सा ९०.५६ प्रतिशत र निर्यातको हिस्सा ९.४४ प्रतिशत रहेको थियो । 

    चालु आवको तीन महिनामा आयातको हिस्सा ९०.८९ प्रतिशत र निर्यातको हिस्सा भने ९.११ प्रतिशत रहेको छ । विभागका अनुसार आव २०७९/८० मा समग्रमा वैदेशिक व्यापारमा तीव्रतापूर्वक गिरावट आएको थियो । आव २०७९/८० मा मुलुकको आयात, निर्यात दुवैमा उच्च गिरावट आएको थियो । गत आवमा वैदेशिक व्यापार साढे तीन खर्ब रूपैयाँले खुम्चिएको थियो । आव २०७८/७९ मा मुलुकको कुल वैदेशिक व्यापार २१ खर्ब २० अर्ब रूपैयाँ रहेकोमा आव २०७९/८० मा खुम्चिएर १७ खर्ब ६८ अर्बमा झरेको थियो ।

    सरकारी आम्दानी र खर्चको अवस्था कस्तो ? 

    शोधनान्तर स्थिति, व्यापार घाटाको अवस्था, विदेशी मुद्रा सञ्चिति तथा रेमिट्यान्स आम्दानी जस्ता कुरालाई कुनै पनि देशको बाह्य आर्थिक सूचकका रूपमा लिइन्छ । कुनै पनि देशको अर्थतन्त्र बलियो छ भन्ने थाहा पाउन राजस्व आम्दानी र सरकारी खर्चको विवरण, पुँजिगत खर्च तथा मूल्यवृद्धि लगायतका विषयलाई पनि हेर्नुपर्ने हुन्छ । यस्ता कुरालाई अर्थतन्त्रका आन्तरिक सूचक भन्ने गरिन्छ ।

    यता, अर्थ मन्त्रालयले चालु आवको असोज मसान्तसम्मको अवधिमा एक खर्ब ४५ अर्ब आठ करोड रूपैयाँ भन्सार राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । सो अवधिसम्म भन्सार विभागले लक्ष्यको ७४.९५ प्रतिशत अर्थात एक खर्ब आठ अर्ब ७५ करोड रूपैयाँ मात्रै भन्सार राजस्व संकलन गरेको छ । 

    यस्तै, महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी तथ्यांक अनुसार कात्तिक १२ गतेसम्मको अवधिमा संघीय सरकारले सबै शीर्षकमा राजस्व बापत दुई खर्ब ४४ अर्ब रूपैयाँ संकलन गरेको छ । जबकि सरकारले सोही अवधिमा कुल राजस्व संकलन गर्ने लक्ष्यका साथ १६.६१ प्रतिशत मात्रै संकलन गरेको हो । त्यसैगरी सरकारले चालु आवको हालसम्मको अवधिमा सबै शीर्षकमा खर्चबापत कुल लक्ष्यको १७.२८ प्रतिशत अर्थात् तीन खर्ब दुई अर्ब रूपैयाँ खर्च गरेको छ ।

    भारतसँग हुन्छ सबैभन्दा धेरै व्यापार

    नेपालको सबैभन्दा धेरै वैदेशिक व्यापार भारतसँग हुने गरेको छ । पहिलो तिन महिनामा भारतबाट २ खर्ब ५० अर्ब ६१ करोड १० लाख २० हजार रुपैयाँको वस्तु आयात भएको छ । नेपालबाट २६ अर्ब २४ करोड ९७ लाख ९ हजार  रुपैयाँको वस्तु निर्यात हुँदा व्यापार घाटा २ खर्ब २४ अर्ब ३६ करोड १३ लाख ११ हजार रुपैयाँ देखिएको छ । यस्तै, चीनबाट ७९ अर्ब ८२ करोड ५ लाख ५० हजार रुपैयाँको वस्तु आयात हुँदा नेपालबाट मात्र ७३ करोड २३ लाख ६३ हजार रुपैयाँको वस्तु निर्यात भएको छ ।

    कुन वस्तुको आयात कति ? 

    कुल आयातको १४.३८ प्रतिशत हुने डिजेल, पेट्रोल र खाना पकाउने ग्यासलाई छाड्ने हो भने फलाम सबैभन्दा धेरै आयात हुने वस्तु हो । दोस्रो स्थानमा स्मार्टफोन सबैभन्दा धेरै आयात भएको छ । वितेको ३ महिनामा ६ लाख ४२ हजार ४१५ थान स्मार्टफोट आयात भएको थियो ।

    यसप्रकार लागि नेपालले ९ अर्ब ४३ करोड १९ लाख खर्च गरेको छ । तर यस तथ्यांकले आश्चर्यलाग्दो आँकडा प्रस्तुत गरेको छ । नेपालमा आयात भइरहेका सबै स्मार्टफोनको औसत लागत मूल्य प्रतिगोटा १४ हजार ६८२ रुपैयाँ पर्छ । यसमा प्रतिगोटा औसत २ हजार ७३८ रुपैयाँ राजस्व तिर्नु परेको देखिन्छ ।

    यसरी भन्सारबाट बाहिर आउँदासम्म एउटा स्मार्ट फोनको औसत मूल्य १७ हजार ४२० रुपैयाँ हुन्छ । तर अहिले बजारमा उपलब्ध फोनहरुको औसत बजार मूल्य ३५ देखि ४० हजार हाराहारी हुने व्यवसायी बताउँछन् । यसले नेपालमा भित्रिने स्मार्ट फोनमा आयातकर्ता र खुद्रा ब्यापारीले मिलेर दोब्बर वा त्योभन्दा धेरै नाफा खाने गरेको देखिन्छ ।

    पेट्रोलियम, फलाम र स्मार्टफोनपछि चौंथो ठूलो आयातको वस्तु ‘डायमोनियम फोस्फेट’ हो । यो पदार्थ रसायनिक मल र कृषिसम्बन्धि विभिन्न मलखाद उत्पादनमा प्रयोग हुन्छ । पछिल्लो समय यसलाई पशुपालनका लागि पनि गलत ढंगले प्रयोग गर्न थालिएको गुनासाहरु आउन थालेका छन् ।

    त्यसपछिको स्थान भने सुनले लिन्छ । अहिले नेपालमा १ तोला (११.६६३८१२५ ग्राम) सुनको भाउ १ लाख १७ हजार छ । अर्थात १ ग्रामको १० हजार रुपैयाँभन्दा महँगो पर्छ । तर यही पहेँलो धातुको आयातका निम्ति नेपालले पछिल्ला ३ महिनामा मात्रै ७ अर्ब ३५ करोड २० लाख ९३ हजार रुपैयाँ खर्च गरेको छ ।

    यसबाट नेपालमा ९ क्विन्टल (७७ हजार २०४ तोला) भन्दा धेरै सुन आयात भएको छ । यसरी हेर्दा औपचारिक बाटोबाटै प्रत्येक महिना औसत ३ क्लिन्टलका दरले नेपालमा सुन भित्रिरहेको देखिन्छ । सुनपछि औषधि र त्यसपछि हवाई इन्धनको आयातमा नेपालले बढी पैसा खर्च गरेको छ ।

    बाह्य क्षेत्रमा पनि सुधार

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको भदौसम्मको तथ्यांक अनुसार बाह्य क्षेत्रमा भने सुधार देखिएको छ । तथ्याङ्क अनुसार भदौसम्म शोधनान्तर बचत ५३ अर्ब ६१ करोड रुपैयाँ छ भने चालु खाता २३ अर्ब ५० करोडले बचतमा छ । वैदेशिक मुद्राको सञ्चिति ऐतिहासिक उचाइ १५ खर्ब ९८ अर्ब ९० करोड रुपैयाँ छ । रेमिटेन्स एक खर्ब १२ अर्ब रुपैयाँ भित्रिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार