images
images

यी हुन् चार महिनामा नेपालले आयात र निर्यात गरेका प्रमुख १० वस्तु (सुचीसहित)

यी हुन् चार महिनामा नेपालले आयात र निर्यात गरेका प्रमुख १० वस्तु (सुचीसहित)

प्रमुख १० प्रकारका वस्तु आयातमा मात्रै १ खर्ब ४२ अर्ब ३० करोड रुपैयाँ भन्दा बढी मुलुकबाट बाहिरिएको छ ।

सोमवार, मंसिर ११ २०८०
सोमवार, मंसिर ११ २०८०
  • यी हुन् चार महिनामा नेपालले आयात र निर्यात गरेका प्रमुख १० वस्तु (सुचीसहित)

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को चार महिनामा नेपालले कुल ५ खर्ब १२ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गर्दा कुल निर्यात ५० अर्ब ५६ करोड रुपैयाँको मात्रै छ । 

    भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चार महिनामा ४ खर्ब ६१ अर्ब बढिको व्यापार घाटा हुँदा नेपालमा आयात हुने प्रमुख १० वस्तुको सूचीमा विलासिता वस्तु सुन समेत छ । प्रमुख १० प्रकारका वस्तु आयातमा मात्रै १ खर्ब ४२ अर्ब ३० करोड रुपैयाँ भन्दा बढी मुलुकबाट बाहिरिएको छ ।

    विभागको तथ्याङ्क अनुसार अघिल्ला वर्षहरुमा जस्तै सो वर्ष पनि धेरै आयात हुने प्रमुख वस्तुहरुमा पेट्रोलियम पदार्थ, खाने तेल, सुन, स्टिल्स, स्मार्टफोन, मेडिकल सामान र डाइमोनियम फोस्फेट लगायत छन् । नेपालबाट निर्यात हुने वस्तु पाम तेल, धागो, कार्पेट, अलैंची लगायत छन् ।

    यी हुन् नेपालले सबैभन्दा धेरै आयात गर्ने १० वस्तुहरू 

    विभागको तथ्याङ्क हेर्ने हो भने चालु आर्थिक बर्षको चार महिनामा पेट्रोलियम पदार्थ भित्रको डिजेल, पेट्रोल, एलपीजी ग्याँस र हवाई इन्धन आयातमा मात्रै ८५ अर्ब ४८ करोड रुपैयाँ बाहिरिएको छ । ५ खर्ब १२ अर्बको सामान आयात गर्दा १६.६९ प्रतिशत खर्च पेट्रोलियम पदार्थ आयातमै बाहिरिएको तथ्यांकले देखाएको छ । 

    डिजेल आयातमा बाहिरियो करिब साढे ४० अर्ब

    चार महिनाको अवधीमा करिब साढे ४० अर्ब रुपैयाँ बराबरको डिजेल आयात भएको छ । कात्तिक मसान्तसम्ममा ३ लाख ५९ हजार ६ सय किलोलिटर डिजेल आयात हुँदा नेपालबाट ४० अर्ब ३१ करोड २४ लाख ८८ हजार रुपैयाँ बाहिरिएको छ । यस्तै, सरकारले डिजेल आयातबाट १४ अर्ब ९१ करोड ४७ लाख ५२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

    २३ अर्ब ३७ करोडको फलाम तथा स्टील आयात

    नेपालमा फलामको खानी रहेको बताइएको भएपतिन त्यसको उत्खनन गर्न नसक्दा नेपालले वर्षेनी अर्बै रुपैयाँको फलाम आयात गर्नुपर्ने बाध्यता रहेको छ । चालु आवको ४ महिनामा २३ अर्ब ३७ करोड ८३ लाख ५ हजार रुपैयाँ बराबरको ३७ करोड ७६ लाख ४१ हजार १ सय ३७ किलोग्राम फलाम तथा स्टील आयात गरिएको छ । जसबाट सरकारले ३ अर्ब ३७ करोड ८८ लाख ५३ हजार रुपैयाँ राजस्व संकलन पनि गरेको छ । 

    २२ अर्ब ८७ करोडको पेट्रोल आयात

    पेट्रोलियम पदार्थको आयातमा चार महिनामा २ लाख २३ हजार ८ सय १० किलोलिटर पेट्रोल खपत भएको छ । चार महिनामा पेट्रोलियम पदार्थको आयातमा २२ अर्ब ८७ करोड २७ लाख ६१ हजार रुपैयाँ रकम बाहिरिएको छ । कात्तिकसम्ममा २२ अर्ब ८७ करोड रुपैयाँ बराबरको २ लाख २३ हजार ८ सय १० किलोलिटर पेट्रोल आयात भएको हो । यस्तै, उक्त रकम बराबरको पेट्रोलियम पदार्थको आयातबाट सरकारले १२ अर्ब ८८ करोड ७७ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । 

    एलपीजी ग्याँस आयातमा बाहिरियो १५ अर्ब ४५ करोड 

    पछिल्लो समय नेपाल विद्युतमा आत्मनिर्भर हुदै गएको भनिएता पनि घरायसी प्रयोगमा एलपीजी ग्याँसको खपत प्रभावकारी रुपमा भने घटाउन नसकिएको विभागको तथ्याङ्कले पुष्टि गरेको छ । पछिल्लो समय ग्याँसको खपत घट्दै गएपनि चार महिनामा १५ अर्ब ४५ करोड ८५ लाख ९७ हजार रुपैयाँ बराबरको १६ करोड ७९ लाख ९४ हजार ७ सय ५६ किलोग्राम ग्याँस आयात भएको छ । यस्तै, एलपीजीको आयातबाट सरकारले २ अर्ब ८८ करोड ३७ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । 

    स्मार्टफोन आयातमा बाहिरियो साढे ११ अर्ब 

    कात्तिक मसान्तसम्ममा ११ अर्ब ५३ करोड ९ लाख ५ हजार रुपैयाँ बराबरको ७ लाख ७१ हजार ३ सय २६ वटा स्र्माटफोन नेपालमा भित्रिएको छ । जसबाट सरकारले २ अर्ब १४ करोड ९२ लाख ३१ हजार रुपैयाँ राजस्व संकलन पनि गरेको छ ।

    ८ अर्ब ७१ करोडको मेडिकल सामान आयात 

    मेडिकल सम्बन्धि विभिन्न सामानहरुको आयातमा चार महिनामा ८ अर्ब ७१ करोड ४५ लाख ८३ हजार रुपैयाँ बाहिरिएको छ । कात्तिकसम्ममा ४७ लाख ६६ हजार २ सय ५९ किलोग्राम मेडिकल सामान आयात भएको विभागको तथ्याङ्क छ । यस्तै, मेडिकल सामानहरुको आयातबाट सरकारले ४५ करोड १४ लाख २५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । 

    डाइमोनियम फोस्फेटको आयातमा बाहिरियो ८ अर्ब ६२ करोड

    चार महिनामा ८ अर्ब ६२ करोड १७ लाख ७४ हजार रुपैयाँ बराबरको ९ करोड ८३ लाख १ सय ५० किलोग्राम रासायनिक पदार्थ (डाइमोनियम फोस्फेट) आयात भएका छ । 

    ८ अर्ब २० करोडको सुन आयात

    चालु आर्थिक वर्षको पहिलो चार महिनामा १ हजार केजी ५०० ग्राम सुन आयात भएको छ । विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको साउनदेखि कात्तिकसम्म ८ अर्ब २० करोड ८१ लाख ७० हजार रुपैयाँ बराबरको १ हजार केजी ५०० ग्राम सुन विभिन्न मुलुकबाट नेपाल भित्रिएको हो । उक्त सुन आयातबाट चार महिनामा १ अर्ब २३ करोड १२ लाख ३७ हजार रुपैयाँ राजस्व सङ्कलन भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।

    ६ अर्ब ८४ करोडको हवाई इन्धन आयात

    चालु आवको पहिलो ४ महिनामा ६१ हजार ६ सय ६४ लिटर हवाइ इन्धन आयात भएको छ । विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको साउनदेखि कात्तिकसम्म ६ अर्ब ८४ करोड ३ लाख ४२ हजार रुपैयाँ बराबरको ६१ हजार लिटर हवाइ इन्धन विभिन्न मुलुकबाट नेपाल भित्रिएको हो । उक्त हवाई इन्धन आयातबाट चार महिनामा ९० करोड ५ लाख ८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।

    ५ अर्ब ७६ करोडको कच्चा भटमास तेल आयात

    चार महिनामा नेपालले ५ अर्ब ७६ करोड ५८ लाख ७१ हजार रुपैयाँको ३ करोड ८० लाख ३ हजार १ सय ६८ लिटर कच्चा भटमासको तेल आयात गरेको छ । उक्त कच्चा भटमास तेल आयातबाट सरकारले १ अर्ब १७ करोड ५६ लाख २१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

    1.JPG

    यी हुन् नेपालले सबैभन्दा धेरै निर्यात गर्ने १० वस्तुहरू 

    चालु आर्थिक बर्षको चार महिनामा नेपालको प्रमुख १० वस्तुको कुल निर्यात रकम २५ अर्ब ३ करोड रुपैयाँ भन्दा बढी रहेको छ । जब कि चार महिनामा नेपालले विभिन्न मुलुकहरूमा जम्मा ५० अर्ब ५६ करोड रुपैयाँको वस्तु तथा सामान मात्रै निर्यात गरेको विभागको तथ्याङ्क छ ।

    ५ अर्ब २१ करोडको फलाम तथा स्टील निर्यात

    नेपालले चार महिनामा ५ अर्ब २१ करोड भन्दा बढिको फलाम तथा स्टील निर्यात निर्यात गरेको छ । विभागको तथ्याङ्क अनुसार आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्ममा कूल ५ अर्ब २१ करोड २७ लाख ५८ हजार रुपैयाँ बरारबरको ४ करोड ३१ लाख १० हजार २६६ किलो फलाम तथा स्टील विभिन्न मुलुकहरूमा निर्यात भएको हो । 

    तथ्याङ्क अनुसार नेपालले चालु आर्थिक बर्षको चार महिनामा सबैभन्दा धेरै फलाम तथा स्टील निर्यात गरेको छ । तर पनि यस बाट नेपाललाई नाफा भने हुन सकेको छैन । कारण नेपालबाट ५ अर्ब २१ करोडको फलाम तथा स्टील निर्यात हुदा नेपालमा विभिन्न मुलुकबाट २३ अर्ब ३७ करोडको फलाम तथा स्टील आयात भएको छ । 

    करिब चार अर्बको कपास तथा ऊनको धागो निर्यात

    नेपालले चार महिनामा करिब चार अर्ब रुपैयाँ बराबरको कपास तथा ऊनको धागो निर्यात गरेको छ । विभागको तथ्याङ्क अनुसार आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा कूल ३ अर्ब ९७ करोड ८० लाख ४१ हजार रुपैयाँ बराबरको १ करोड ६९ लाख ५४ हजार २२० किलो कपास तथा ऊनको धागो निर्यात भएको हो । 

    ३ अर्ब ९१ करोडको कार्पेट (गलैँचा) निर्यात 

    नेपालले चालु आर्थिक बर्षको चार महिनामा करिब चार अर्ब रुपैँया बराबरको कार्पेट विभिन्न मुलुकहरूमा निर्यात गरेको छ । चार महिनामा नेपालले ३ अर्ब ९१ करोड १९ लाख ३९ हजार रुपैँया बराबरको ६ लाख ७२ हजार ६८३ स्क्वायर मिटर कार्पेट निर्यात गरेको हो । नेपालले छिमेकी मुलुक भारत र चीन लगायत तेस्रो मुलुक अमेरिका, फ्रान्स, युएई, भेतनाम, थाइल्याड, टर्की, साइप्रस, फिन्लयाण्ड, जर्मनी, जापान, क्यानेडा लगायतका अन्य मुलुकहरूमा कार्पेट निर्यात भएको भन्सार विभागले जनाएको छ । 

    करिब ३ अर्बको फलफुलको जुस निर्यात

    नेपालले चालु आर्थिक बर्षको चार महिनामा करिब तीन अर्ब रुपैँया बराबरको फलफुलको जुस विभिन्न मुलुकहरूमा निर्यात गरेको छ । चार महिनामा नेपालले २ अर्ब ८४ करोड ९६ लाख ८३ हजार रुपैँया बराबरको २ करोड ९९ लाख ८५ हजार २६९ लिटर फलफुलको जुस निर्यात गरेको हो । 
     
    २ अर्ब १५ करोडको अलैँची निर्यात 

    चार महिनामा नेपालले २ अर्ब १५ करोड रुपैयाँ भन्दा बढिको अलैँची निर्यात गरेको छ । कात्त्किसम्ममा नेपालले २ अर्ब १५ करोड ६० लाख ९५ हजार रुपैयाँ बराबरको १७ लाख ३७ हजार ११० किलो अलैँची निर्यात गरेको हो । छिमेकी मुलुक भारत र युएई लगायतका देशहरुमा अलैँची निर्यात भएको भन्सार विभागले जनाएको छ । 

    १ अर्ब ८६ करोडको पाम तेल निर्यात

    चार महिनामा नेपालले १ अर्ब ८६ करोड रुपैयाँ भन्दा बढिको पाम तेल निर्यात गरेको छ । कात्त्किसम्ममा नेपालले १ अर्ब ८६ करोड २५ लाख १४ हजार रुपैयाँ बराबरको १ करोड ३५ लाख ९२ हजार १२ लिटर पाम तेल निर्यात गरेको हो । 

    १ अर्ब ३८ करोडको चिया निर्यात

    नेपालले चार महिनामा १ अर्ब ३८ करोड रुपैयाँ बराबरको चिया निर्यात गरेको छ । विभागको तथ्याङ्क अनुसार आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा कूल १ अर्ब ३८ करोड ५२ लाख ७९ हजार रुपैयाँ बराबरको ५ हजार ७१८ टन चिया निर्यात भएको हो । छिमेकी मुलुक भारत र चीनसँगै तेस्रो मुलुक अमेरिका, अस्ट्रेलिया, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, नेदरल्याण्ड, रसिया लगायतका देशहरुमा कालो चिया निर्यात भएको भन्सार विभागले जनाएको छ । 

    यसका साथै, यी मुलुकहरुमा ग्रीन टी अर्थात हरियो चिया र कफीको समेत राम्रो माग रहेको विभागले जनाएको छ । यसअवधिमा १० करोड ६५ लाख १९ हजार रुपैयाँ बराबरको हरियो चिया निर्यात भएकोमा १ करोड ५५ लाख ३६ हजार रुपैयाँ बराबरको कफी निर्यात भएको विभागले जनाएको छ ।

    १ अर्ब २९ करोडको कनिफेरस काठ निर्यात 

    नेपालले चार महिनामा १ अर्ब २९ करोड रुपैयाँ बराबरको कनिफेरस काठ निर्यात गरेको छ । विभागको तथ्याङ्क अनुसार आर्थिक वर्षको साउन महिनादेखि कात्तिक मसान्तसम्ममा कूल १ अर्ब २९ करोड ७६ लाख ४६ हजार रुपैयाँ बराबरको ८ लाख ७५ हजार ८२५ पिस कनिफेरस काठ निर्यात भएको हो । 

    १ अर्ब २७ करोडको बुनेको कपडा निर्यात

    नेपालले पछिल्लो ४ महिनामा एक अर्ब २७ करोडरुपैयाँ बराबरको बुनेको कपडा (सल, स्कार्फ, मफलर, पर्दा) निर्यात गरेको छ । यस अवधिमा १ अर्ब २७ करोड २७ लाख ६० हजार रुपैयाँ बराबरको ८ करोड ७५ लाख ८२५ पिस बुनेको कपडा विभिन्न मुलुकमा निर्यात भएको विभागले जनाएको छ ।

    १ अर्ब १५ करोडको सिमेन्ट क्लिंकर र लाइमस्टोन निर्यात

    नेपालले पछिल्लो ४ महिनामा एक अर्ब १५ करोड ९५ लाख रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर र यसको कच्चा पदार्थको रुपमा लाइमस्टोनको निर्यात गरेको छ । यस अवधिमा एक अर्ब १३ करोड रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर निर्यात भएको छ भने २ करोड ८७ लाख रुपैयाँ बराबरको लाइमस्टोनको भारत निर्यात भएको भन्सार विभागले जनाएको छ । 

    विभागको तथ्याङ्कअनुसार यस अवधिमा भारतमा ८ लाख ६ हजार टन सिमेन्ट र क्लिंकर निर्यात भएको छ भने एक करोड ३ लाख किलो लाइमस्टोन भारत निर्यात भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार