images
images

नेपाल चियामा आत्मनिर्भर, कफी आयात बढ्दा निर्यातमा छैन उत्साह

नेपाल चियामा आत्मनिर्भर, कफी आयात बढ्दा निर्यातमा छैन उत्साह

नेपाली कफीः न आत्मनिर्भर, न आशलाग्दो उत्पादन !

मंगलवार, मंसिर १२ २०८०
मंगलवार, मंसिर १२ २०८०
  • नेपाल चियामा आत्मनिर्भर, कफी आयात बढ्दा निर्यातमा छैन उत्साह

    काठमाडौँ / पछिल्लो समय नेपालमा कफी संस्कृतिको रूपमा विकास भएसंगै यसको प्रयोगकर्ताहरू पनि बढेका छन् । एक दशक अघिसम्म कुलिन वर्गको मात्र पेय पदार्थको रूपमा लिइने कफी आज हरेक भान्साको शोभा बनिसकेको छ । 

    विशेषगरी शहरी क्षेत्रमा बढ्दो कफी संस्कृतिले गर्दा कफीको आन्तरिक बजारमा पनि व्यापक वृद्धि भएको देखिन्छ । फलस्वरूप नेपाली कफी निर्यातभन्दा विदेशी कफी आयात हरेक वर्ष बढ्दो क्रममा रहेको पाइएको छ ।

    भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको चार महिनामा विभिन्न मुलुकहरूबाट नेपालमा साढे १४ करोड रुपैयाँ भन्दा बढिको कफी आयात भएको छ । 

    तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको कात्तिकसम्ममा १४ करोड ५१ लाख ५८ हजार रुपैयाँ बराबरको १५१.४३० मेट्रिक टन आयात भएको तथ्याङ्क छ । जुन गत आर्थिक बर्षको कात्तिकसम्मको तुलनामा ५५.९३ प्रतिशत बढि हो । गत आर्थिक बर्ष २०७९/८० को चार महिनामा ९ करोड ३) लाख ८६ हजार रुपैयाँ बराबरको ११३.५६९ मेट्रिक टन कफी आयात भएको थियो । 

    कफीको आयात बढ्दो, गत बर्षमै भित्रियो साढे ३२ करोडको कफी 

    नेपाली बजारमा कफीको माग बढेसँगै कफि आयात पनि बढीरहेको छ । गत आर्थिक वर्ष २०७९/८० मा ३२ करोड ५८ लाख ६६ हजार रुपैयाँको कफी आयात भएको थियो । यस्तै आर्थिक वर्ष २०७८/७९ मा १२ करोड ७५ लाख ९० हजार रुपैयाँको २७९.८६ मेट्रिक टन कफी आयात भएको थियो । २०७८/७९ मा भन्दा आर्थिक वर्ष २०७९/८० मा झण्डै तीन गुणले बढी हो ।

    त्यसैगरी, २०७८/७९ मा भन्दा आर्थिक वर्ष २०७९/८० मा १९ करोड ८२ लाख ७६ हजार रुपैयाँले कफी आयात बढेको देखिएको छ । योभन्दा अघिल्ला वर्षहरुमा भने आयातमा केही परिमाण घट्दै आएको पाइन्छ ।

    आर्थिक वर्ष २०७७/७८मा १० करोड ६७ लाख २१ हजार रुपैयाँको १९८.७६ मेट्रिक टन कफी आयात गरेको बोर्डले जनाएको छ । आर्थिक वर्ष २०७६/७७ मा ११ करोड ८८ लाख ४९ हजार ८८० रुपैयाँको २६६.१७ मेट्रिक टन आयात भएको छ। आर्थिक वर्ष २०७५/७६ मा ९ करोड ८० लाख १४ हजार रुपैयाँको १२६२.४१ मेट्रिक टन कफी आयात भएको छ ।

    निर्यातमा छैन उत्साह

    नेपालले चालु आर्थिक बर्षको चार महिनामा १ करोड ५६ लाख ४६ हजार रुपैयाँ बराबरको ११.५०५ मेट्रिक टन कफी विभिन्न मुलुकहरूमा निर्यात गरेको छ । गत आर्थिक बर्षको कात्तिकसम्ममा नेपालले २ करोड १३ लाख ९१ हजार रुपैयाँ बराबरको १२.७८४ मेट्रिक टन कफी निर्यात गरेको थियो । यसरी हेर्ने हो भने गत आर्थिक बर्षको कात्तिकसम्मको तुलनामा चालु आर्थिक बर्ष २६.८५ प्रतिशतले निर्यात कम भएको छ । 

    यस्तै, नेपालबाट आर्थिक वर्ष २०७९/८० मा १३ करोड ४ लाख ४१ हजार रुपैयाँको ७७.८६ मेट्रिक टन कफी निर्यात भएको छ । आर्थिक वर्ष २०७८/७९ मा ११ करोड ७० लाख ८५ हजार रुपैयाँको ६९.५१ मेट्रिक टन कफी निर्यात भएको छ । विभागको तथ्याङ्क अनुसार नेपालबाट निर्यात हुने कफीको परिमाणमा घटे पनि मूल्य बढ्दो रुपमा रहेको देखिन्छ ।

    त्यसैगरी, आर्थिक वर्ष २०७७/७८ मा ९ करोड ६० लाख ३ हजार रुपैयाँको ७२.४८ मेट्रिक टन कफी निर्यात भएको छ । आर्थिक वर्ष २०७६/७७ मा ५ करोड ७७ लाख २८ हजार १३० रुपैयाँको ४६.८९ मेट्रिक टन कफी निर्यात भएको छ । 
     
    विभागको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७१/७१  देखि आर्थिक बर्ष २०७५/७६ सम्ममा नेपालमा आयातको तुलनामा निर्यात बढी भएको छ । आर्थिक बर्ष २०७१/७२ मा नेपालबाट ९ करोड ९९१ लाख ७६ हजार रुपैयाँ बराबरको कफी निर्यात भएको थियो भने आयात २ करोड ४९ लाख ९१ हजार रुपैयाँको मात्रै भएको देखिन्छ । 

    त्यस्तै, आ.व. २०७२/७३ मा पनि कफी आयातको तुलनामा निर्यात बढी भएको भन्सार विभागको तथ्याङ्क छ । उक्त समयमा १० करोड ७९ लाख १ हजार रुपैयाँको कफी निर्यात भएको थियो भने ५ करोड ५५ लाख ४१ हजार रुपैयाँको मात्रै कफी आयात भएको थियो । 

    यस्तै, आ.व. २०७३/०७४ मा नेपालले ८ करोड ४५ लाख ३८ हजारको कफी निर्यात गरी ५ करोड ४ लाख २ हजार रुपैयाँ बराबरको आयात गरेको थियो । आव २०७४/७५ र २०७५/७६ मा पनि नेपालले आयातभन्दा बढी कफी निर्यात गरेको देखिन्छ ।

    1.JPG

    बर्सेनि घट्दै कफी उत्पादन क्षेत्र

    राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्याङ्क अनुसार नेपालमा कफी रोपण क्षेत्र बढ्दै गएको देखिन्छ भने उत्पादन घट्दै गएको देखिन्छ । आर्थिक वर्ष २०७०/७१ मा एक हजार ९११ हेक्टर जमिनमा ४२९ मेट्रिक टन कफी उत्पादन गरिएको थियो भने गत आव २०७९/८० मा ३ हजार ६५५ हेक्टर क्षेत्रमा ३९४.४ मेट्रिक टन कफी उत्पादन भएको थियो ।

    त्यसैगरी आर्थिक वर्ष २०७१/७२ मा २ हजार ३८१ हेक्टरमा ४६३ मेट्रिक टन, २०७२/७३ मा २ हजार ६१८ हेक्टरमा ४३४ मेट्रिक टन र २०७४/७५ मा २ हजार ६४६ हेक्टरमा ४४६ मेट्रिक टन कफी उत्पादन गरिएको थियो ।

    बोर्डको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५/७६ मा सबैभन्दा धेरै कफी उत्पादन भएको देखिन्छ । उक्त बर्षमा २ हजार ६५० हेक्टरमा ५१३ मेट्रिक टन कफी उत्पादन भएको थियो । यस्तै, २०७६/७७ मा २ हजार ७६१ हेक्टरमा ५३० मेट्रिक टन र आर्थिक वर्ष २०७६/७७ मा २ हजार ३६० हेक्टरमा २९६.५ मेट्रिक टन कफी उत्पादन गरिएको थियो । 

    २०७७/७८ मा ३ हजार ५२ हेक्टर क्षेत्रमा ३१४.५ मेट्रिक टन कफी उत्पादन भएको थियो । आर्थिक वर्ष २०७८/७९ ३ हजार ३४३ हेक्टर क्षेत्रमा ३५४.९ मेट्रिक टन कफी उत्पादन भएको थियो ।

    नेपाली कफीको मूल्य आयात मूल्यको तुलनामा झण्डै ३ गुणा बढी

    बोर्डका अनुसार नेपालमा उत्पादित कुल कफीको झन्डै २० प्रतिशत विदेश निर्यात भएको छ । नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा स्वाद र गुणस्तरको हिसाबले अन्य राष्ट्रको भन्दा बढी मूल्य प्राप्त गर्दै आएको छ । नेपाली कफी निर्यात हुँदा सरदर प्रतिकेजी १६ अमेरिकी डलरमा बिक्री हुँदै आएको बोर्डले जनाएको छ । 

    आयात मूल्यको तुलनामा झण्डै २–३ गुणा बढी मूल्यमा नेपाली कफी निर्यात हुँदै आएको बोर्डको भनाइ छ । मात्रात्मक रूपमा थोरै उत्पादन भए पनि नेपाली कफी स्वाद र गुणस्तरका हिसाबले विश्वका उत्कृष्ट कफीहरूसँग समतुल्य स्थान बनाउन सफल छ । स्पेसियालिटी कफीको रूपमा नाम कमाइसकेको नेपाली कफीको माग स्वदेश तथा विदेशमा उच्च रहेको छ ।

    उचित मूल्य पाए पनि कफी उत्पादन बढ्न सकेको छैन । नेपालमा कफी खेतीका लागि उपयुक्त वातावरण हुँदा पनि फस्टाउन सकेको छैन । बजारमा माग र निर्यातको सम्भावना उच्च रहे पनि विगतमा जति पनि कफी उत्पादन हुन नसकेको बोर्डले जनाएको छ ।

    1.JPG

    यस्तो छ कफी खेतीको इतिहास

    नेपालमा वि.स. १९९५ मा गुल्मी आँपचौर निवासी हीरा गिरीले बर्माबाट बीउ ल्याएर कफी खेतीको सुरुवात गरेका थिए । वि.संं २०३२ सालमा नगदे बालीको स्तरमा कफी खेतीका लागि प्रोत्साहन गरिएपछि वि.सं. २०४७ सालमा कृषकहरूको संगठन स्थापित भयो । वि.सं. २०४९ को ऐन अनुसार राष्ट्रिय चिया तथा कफी विकास बोर्डको स्थापना भयो ।

    मध्य पहाडका ४० जिल्लाहरूमा कफी खेती गरिएको छ । केही जिल्लाहरूमा भने व्यवसायिक रूपमा खेती गरेको पाइन्छ । पाल्पा, स्याङ्जा, पर्वत, अर्घाखाँची, कास्की, लमजुङ, तनहुँ, गोरखा, ललितपुर, धादिङ, मकवानपुर, म्याग्दी, सिन्धुपाल्चोक, काभ्रे आदि जिल्लामा कफी खेतीको विस्तार हुँदै गयो ।

    भौगोलिक, हावापानी र माटोको हिसाबले नेपालका मध्य पहाडी जिल्लामा अराबिका कफीको राम्रो सम्भावना देखिएपछि इलाम, संखुवासभा, झापा, पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर खोटाङ, उदयपुर, ओखलढुङ्गा, रामेछाप, सिन्धुली, नुवाकोट, प्यूठान, रोल्पा, दाङ, रुकुम, सल्यान, सुर्खेत, दैलेख डोटी, डडेलधुरा, रसुवा, खोटाङ र बैतडी जिल्लामा पनि व्यवसायिक कफी खेतीको सुरुवात भएको छ । यी बाहेक नेपालका अन्य मध्य पहाडमा पर्ने सबै जिल्लामा फाटफुट रूपमा कफी खेती भइरहेको छ ।

    रूपन्देहीको मणिग्राममा पहिलो कफी प्रशोधन केन्द्र ‘नेपाल कफी कम्पनी प्रा.लि’को २०४० मा स्थापना भएसँगैँ अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको बिक्री वितरण सुरू भयो । आर्थिक वर्ष २०५२/५३ मा १६ टन कफी हल्यान्ड पठाइएको थियो ।

    नेपालमा अरेबिका जातको कफीको उत्पादन गरिन्छ । करिब ८०० मिटर उचाइमा विषादीको प्रयोग बिना नै कफी खेती हुने भएकाले विश्व बजारमा अर्गानिक, र चिसो हावापानीमा उत्पादित कफीको रूपमा चिनिन्छ ।

    news.JPG

    चार महिनामा करिब १ अर्ब ३८ करोडको चिया निर्यात

    भन्सार विभागको तथ्याङ्क अनुसार नेपालले चार महिनामा १ अर्ब ३८ करोड रुपैयाँ बराबरको चिया निर्यात गरेको छ । आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा कूल १ अर्ब ३८ करोड ५२ लाख ७९ हजार रुपैयाँ बराबरको ५ हजार ७१८ टन चिया निर्यात भएको हो । 

    विभागको अनुसार छिमेकी मुलुक भारत र चीनसँगै तेस्रो मुलुक अमेरिका, अस्ट्रेलिया, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, नेदरल्याण्ड, रसिया लगायतका देशहरुमा कालो चिया निर्यात भएको छ । यसका साथै, यी मुलुकहरुमा ग्रीन टी अर्थात हरियो चिया र कफीको समेत राम्रो माग रहेको विभागले जनाएको छ । चार महिनामा १० करोड ६५ लाख १९ हजार रुपैयाँ बराबरको हरियो चिया निर्यात भएको छ ।

    चियामा आत्मनिर्भर, बर्सेनि २६ हजार मेट्रिक टनभन्दा बढी उत्पादन

    चालु आर्थिक बर्षको चार महिनासम्ममा मात्रै मुलुक झण्डै साढे चार खर्ब भन्दा बढीको व्यापार घाटा रहेको अवस्थामा नेपाली चिया क्षेत्र भने आत्मनिर्भर भई निर्यातमा समेत टेवा पु¥याएको छ । चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा करिब २० हजार हेक्टरमा चिया खेती हुन्छ । त्यति क्षेत्रफलमा वार्षिक २६ हजार मेट्रिक टन चिया उत्पादन हुन्छ । चिया खेतीमा १५ हजारभन्दा बढी किसान आबद्ध छन् । 

    नेपालमा वार्षिक करिब दुई करोड ८० लाख किलो चिया उत्पादन हुँदै आएको छ । उक्त परिमाणमध्ये ०.५ प्रतिशत चिया मात्र आन्तरिक बजारमा खपत हुने गरेको तथ्यांक छ । नेपालमा उत्पादित चियामध्ये करिब ९९ प्रतिशत कोशी प्रदेशमा उत्पादन हुन्छ । कोशीका इलाम, झापा, पाँचथर, धनकुटालगायत जिल्लामा मुख्य रूपमा चिया खेती हुने गरेको छ । तर, पछिल्लो समय दोलखा, रामेछाप, सिन्धुपाल्चोक, कास्की, लमजुङ, ललितपुर, गोरखा लगायत जिल्लामा चिया खेती विस्तार भएको छ ।

    नेपालमा आर्थिक वर्ष २०७८/७९ को २० हजार २ सय १९ हेक्टरमा चिया खेती भएकोमा २६ हजार ३ सय ७९ मेट्रिक टन उत्पादन भएको थियो । यस्तै, आर्थिक वर्ष २०७७/७८ मा  १६ हजार ९ सय २० हेक्टर क्षेत्रफलमा चिया खेती गर्दा २३ हजार ७ सय ४५ मेट्रिक टन र आर्थिक वर्ष २०७६/७७ मा १६ हजार ९ सय ५ हेक्टर क्षेत्रफलमा खेती हुँदा २४ हजार १ सय १८ मेट्रिक टन चिया उत्पादन भएको थियो ।

    ३ बर्षमा ११ अर्ब बढीको चिया निर्यात 

    नेपालले ३ बर्षमा ११ अर्ब १६ करोड ८६ लाख रुपैयाँ बराबरको चिया विभिन्न मुलुकमा निर्यात गरेको छ । आर्थिक वर्षमा २०७७/७८ मा ३ अर्ब ७९ करोड ७१ लाख मूल्य बराबरको ११ लाख ९ सय २० मेट्रिक टन चिया निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

    यस्तै, आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब ४३ करोड ४३ लाख रुपैयाँ बराबरको १२ लाख ४ सय ९४ मेट्रिक टन चिया निर्यात भएको थियो । यस्तै, आर्थिक बर्ष २०७९/८० मा ३ अर्ब ९३ करोड ७२ लाख ६७ हजार रुपैयाँको चिया निर्यात भएको थियो ।

    नेपाली चियाको मुख्य बजार भारत हो । पछिल्लो समय समुद्र पारका मुलुकमा पनि नेपाली चियाको माग बढिरहेको छ । नेपाली चिया जर्मनी, फ्रान्स, अस्ट्रेलिया, बेल्जियम, बुल्गेरिया, चेक रिपब्लिक, इटाली, जापान, भारत, चीन, अमेरिका, बेलायतलगायत देशमा निर्यात हुँदै आएको छ ।

    यस्तो छ नेपालमा चिया खेतीको इतिहास 

    नेपालमा चिया खेती हुन थालेको डेढ शताव्दी भइसकेको छ । वि.सं. १९२० मा कर्णेल गजराज सिंह थापाले चीनबाट उपहारस्वरुप प्राप्त भएको चियाको विरुवा इलामा रोपेपछि नेपालमा नेपालमा चियाखेतीको सुरुवात भएको मानिन्छ । नेपाली चियाको इतिहास लगभग एक सय ६० वर्ष पुरानो भएको बोर्डले जनाएको छ । 

    वि।सं। २००७ सालमा राणा शासनको अन्त्य भएर प्रजातन्त्र प्राप्ति भएपछि मात्रै नेपालमा चिया खेतीका लागि वातावरण बन्दै गयो । वि।सं। २०१६ मा झापाको रङ्गियाडाँडामा बुधकरण चिया बगानको नाममा नीजि स्तरमा पहिलो चिया बगान स्थापना गरियो । त्यसैगरि सरकारी स्तरमा वि।सं। २०२३ असोज २३ गते नेपाल चिया विकास निगमको स्थापना भयो । सुरुवाती चरणमा प्रशोधन कारखानाको अभावमा दार्जिलिङकै कारखानाहरुमा हरियो पत्ती बेच्नु पर्ने बाध्यता थियो । तर २०३५ सालमा इलाममा र त्यसको केही वर्षपछि झापाको सोक्तिममा प्रशोधन कारखाना खोलियो । 

    चिया उद्योगले राज्यको आर्थिक र सामाजिक विकासमा पुर्याएको योगदानलाई मध्यनजर गर्दै वि.सं. २०३९ सालमा तत्कालिन राजा वीरेन्द्रको शासनकालमा नेपाल सरकारले पूर्वाञ्चलका ५ वटा जिल्ला (झापा, धनकुटा, तेह्रथुम, पाँचथर र इलाम) लाई चियाक्षेत्र घोषणा गर्योे । चिया विकास निगम नाफामूलक संस्था भएकाले चिया क्षेत्रको थप विस्तार एवम विकासका लागि सरकारी स्तरकै गैरनाफामूलक संस्थाको अवश्यकता महसुस गरियो । फलस्वरूप वि.सं.२०५० जेष्ठ २० गते राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ऐन २०४९ मार्फत राष्ट्रिय चिया तथा कफी विकास बोर्डको स्थापना भयो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार