images
Logo
images
images
images

१५१ देशसँग नेपालको वैदेशिक व्यापार, २५ देशसँग मात्रै नाफा

१५१ देशसँग नेपालको वैदेशिक व्यापार, २५ देशसँग मात्रै नाफा

नेपालले विश्वका १५१ वटा देशसँग वैदेशिक व्यापार गर्दा अधिकांश देशसँगको व्यापारघाटा चुलिँदो अवस्थामा छ भने, निकै कम देशसँग मात्रै नाफामा छ ।

सोमवार, पुस ९ २०८०
सोमवार, पुस ९ २०८०
  • images
    images
    १५१ देशसँग नेपालको वैदेशिक व्यापार, २५ देशसँग मात्रै नाफा

    काठमाडौँ / नेपालले चालू आर्थिक वर्ष २०८०/८१ को ५ महिनाको अवधिमा (साउनदेखि मंसिरसम्म) १५१ वटा देशसँग वैदेशिक व्यापार गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्याङ्क अनुसार नेपालले साउनदेखि मंसिर समान्तसम्ममा विश्वका १५१ वटा देशसँग वैदेशिक व्यापार गरेको हो । 

    images
    images

    नेपालले विश्वका १५१ वटा देशसँग वैदेशिक व्यापार गर्दा अधिकांश देशसँगको व्यापारघाटा चुलिँदो अवस्थामा छ । त्यस्तै, निकै कम देशसँग मात्रै नेपालको व्यापार नाफामा छ । 

    विभागको तथ्याङ्कअनुसार नेपालले १५१ वटा देशसँग वैदेशिक व्यापार गर्दा २५ वटा देशसँग मात्रै नाफा कमाएको देखिन्छ । त्यसबाहेक अन्य देशसँग नेपालको व्यापारघाटा चुलिँदो अवस्थामा छ । व्यापार नाफा हुने २५ देशहरूमध्ये न्यु क्यालेडोनिया, चाड, डोमिनिका, अरुवा, बर्मुडा, किर्गिस्तान, बहमास, एन्टिगुवा एन्ड बर्मुडा र मौरिटानियामा निर्यात मात्र (आयात नभएको) भएको हुँदा व्यापार नाफामा देखिएको हो ।

    चालू आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालले सबैभन्दा बढी युनाइटेड स्टेट (अमेरिका) बाट नाफा कमाएको छ । नेपालले युनाइटेड स्टेटसंग १ अर्ब ८१ करोड ६६ लाख ८२ हजार नाफा कमाएको छ । सो अवधिमा युनाइटेड स्टेटबाट ५ अर्ब ४८ करोड ८९ लाख १८ हजार रुपैयाँको वस्तु आयात गर्दा नेपालबाट ७ अर्ब ३० करोड ५६ लाख १ हजार रुपैयाँको वस्तु निर्यात गरेको तथ्यांक छ ।

    त्यस्तै, डेनमार्कसंगको वैदेशिक व्यापार पनि सकारात्मक छ । नेपालले ५ महिनाको अवधीमा डेनमाकमा ४३ करोड ४२ लाख ३६ हजार रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । साथै, डेनमार्कबाट ११ करोड ८२ लाख ३७ हजार रुपैयाँको वस्तु आयात गरेको छ । जसमा नेपालले  ३१ करोड ५९ लाख ९९ हजार रुपैयाँ नाफा कमाएको छ ।

    यता, एन्टिगुवा–बारबुडा, अरुबा, बहामास, बर्मुडा, चाड, डोमिनिका, किर्गिजस्तान, मौरिटानिया र न्यू क्यालेडोनिया लगायत देशहरूबाट भने नेपालले कुनै वस्तु आयात गरेको छैन । तर, नेपालबाट ती देशहरूमा भने १ करोड ९३ लाख ९४ हजार रुपैयाँ बराबरकाो वस्तु निर्यात भएको छ ।

    यस्तै, नर्वेसँगको वैदशिक व्यापारमा नेपालले ५ करोड ७८ लाख ५६ हजार रुपैयाँ नाफा कमाएको छ । नर्वेमा ७ करोड ४ लाख २६ हजार रुपैयाँ बराबरको वस्तु निर्यात गर्दा १ करोड २५ लाख ७० हजारको वस्तु मात्र आयात गरेको छ ।

    मालदिभ्ससँग २ करोड ३१ लाख ६८ हजार नाफा गरेको विभागको तथ्यांकले देखाएको छ । पाँच महिनामा मालदिभ्समा नेपालले २ करोड ३७ लाख २१ हजारको सामान निर्यात गर्दा ५ लाख ५३ हजारको सामान मात्र निर्यात गरेको छ ।

    क्रोएसियासँग ७० लाख ६१ हजार रुपैयाँ नाफा गरेको छ । पाँच महिनाको अवधिमा ९० लाख ६६ हजारको सामान निर्यात गर्दा नेपालले २० लाख ५ हजारको सामान मात्र आयात गरेको छ भने मौरिसससँग नेपालले ५९ लाख ३६ हजार नाफा कमाएको छ । उक्त देशमा ६६ लाख ४५ हजारको सामान निर्यात गर्दा ७ लाख १० हजारको सामान मात्रै आयात गरेको छ ।

    ३५ देशबाट आयात मात्रै, निर्यात शून्य ! 

    व्यापार साझेदार देशमध्ये ३५ देशमा नेपालको निर्यात ‘शून्य’ रहेको छ । पाँच महिनामा अघिल्लो वर्षको यसै अवधिको तुलनामा आयात र निर्यात दुवै घटेको छ । 

    पाँच महिनामा एक सय ४२ देशबाट ६ खर्ब ४२ अर्ब २१ करोड रुपैयाँको वस्तु आयात गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३.३९ प्रतिशतले कम हो । अघिल्लो आवको यसै अवधिमा ६ खर्ब ६४ करोड ७५ लाखको वस्तु भित्रिएको थियो ।

    यस्तै, नेपालले एक सय १६ देशमा ६३ अर्ब २१ करोड रुपैयाँ मूल्यको वस्तु निर्यात गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६.०९ प्रतिशतले कम हो । अघिल्लो वर्षको यसै अवधिमा ६७ अर्ब ३० करोडको वस्तु निर्यात भएको थियो ।

    यी हुन् निर्यात शुन्य भएका ३५ देशहरू 

    1.JPG

    2.JPG

    निर्यातको हिस्सा ८.९६ प्रतिशत मात्रै

    पाँच महिनामा आयात र निर्यात गरी कुल सात खर्ब पाँच अर्ब ४२ करोडको वैदेशिक व्यापार हुँदा निर्यातको हिस्सा ८.९६ प्रतिशत मात्र रहेको छ । कुल व्यापारमा निर्यातको हिस्सा अघिल्लो वर्षको तुलनामा २.५ प्रतिशतले खुम्चिएको भन्सार विभागको तथ्यांकले देखाउँछ । पछिल्लो समयमा निर्यातको हिस्सा निरन्तर खुम्चिँदै गइरहेको छ ।

    पाँच महिनामा सबैभन्दा धेरै ५३ अर्ब ९० करोडको डिजेल र २८ अर्ब ५६ करोडको पेट्रोल आयात भएको छ । तेस्रो नम्बरमा रहेको एलपिजी ग्यास २० अर्ब ६५ करोडभन्दा बढी मूल्यको आयात भएको छ । यस्तै, १३ अर्ब ६० करोडको स्मार्ट फोन, नौ अर्ब ९७ करोडको सुन, आठ अर्ब ६६ करोडको हवाई इन्धन आयात भएको तथ्यांकले देखाउँछ । 

    सबैभन्दा धेरै निर्यात भएको वस्तु

    पाँच महिनाको अवधिमा सबैभन्दा बढी फलामे पाता पाँच अर्बभन्दा बढीको निर्यात भएको छ । सिन्थेटिक धागो चार अर्ब ८८ करोड, ऊनी गलैँचा तथा कार्पेट चार अर्ब ५३ करोड, तयारी कपडा चार अर्ब ११ करोड, जुस तीन अर्ब ४० करोड, अलैँची तीन अर्ब १० करोड, प्लाइउड दुई अर्ब ८९ करोडको निर्यात भएको छ । 

    यसैगरी, चिया एक अर्ब ८७ करोड, सिमेन्ट र क्लिंकर एक अर्ब ४९ करोड, पस्मिनाको सल एक अर्ब ४८ करोड, कुकुर–बिरालाको खाना एक अर्ब १९ करोड, पिना एक अर्ब १३ करोड, जडीबुटी एक अर्ब एक करोड, जुटको बोरा ९८ करोड, दाह्री काट्ने रेजर, ब्लेड ९४ करोड, सिआर सिट ८७ करोड, खयर कत्था ८४ करोडको निर्यात भएको भन्सार विभागले जनाएको छ ।

    यी हुन् अर्बमाथि निर्यात भएका १५ वस्तुहरू

    3.JPG

    व्यापार घाटा पौने ६ अर्ब

    आर्थिक मन्दीले बजारमा उपभोक्ताको माग बढ्न नसकेर आयात घटेपछि व्यापार घाटा पनि ३.०९ प्रतिशतले कमी आएको छ । पाँच महिनामा पाँच खर्ब ७९ अर्ब व्यापार घाटा भएको छ । अघिल्लो वर्षको यसै अवधिमा व्यापार घाटा पाँच खर्ब ९७ अर्ब ४४ करोड रुपैयाँ रहेको भन्सार विभागको तथ्यांक छ ।

    भारतसँग मात्रै साढे ३ खर्बको व्यापारघाटा ! 

    नेपालको वैदेशिक व्यापारमा करिब ६५ प्रतिशत हिस्सा ओगटेको भारतसँग ५ महिनाको अवधिमै साढे ३ खर्ब बढी व्यापारघाटा व्यहोरेको छ । विभागअनुसार नेपालले ३ खर्ब ९४ अर्ब ८० करोड ६ लाख ८४ हजार रुपैयाँको वस्तु आयात गर्दा नेपालबाट ४२ अर्ब ३ करोड २१ लाख ५१ हजार  रुपैयाँको वस्तु निर्यात भएको छ ।

    निर्यात अवस्था कमजोर हुँदा ५ महिनाको अवधिमा मात्रै नेपालले३ खर्ब ५२ अर्ब ७६ करोड ८५ लाख ३२ हजार रुपैयाँको व्यापारघाटा व्यहोरेको छ ।

    भारतपछि चीनसँग नेपालले ५ महिनाको अवधिमा १ खर्ब २४ अर्ब ५८ करोड ७७ लाख १३ हजार रुपैयाँ व्यापार घाटा व्यहोरेको छ । चीनबाट एक खर्ब २५ अर्ब ६२ लाख १२ हजार रुपैयाँको वस्तु आयात हुँदा १ अर्ब ३ करोड ३४ लाख ८६ हजार रुपैयाँ बराबरको वस्तु मात्रै निर्यात गरेको छ  ।

    यी हुन् व्यापार घाटा धेरै हुने प्रमुख देशहरू

    भारत र चीन पछि नेपालले सबैभन्दा धेरै व्यापार घाटा युनाइटेड अरब इमिरेट्ससँग भएको छ । ५ महिनामा युनाइटेड अरब इमिरेट्ससँग मात्रै नेपाललई ११ अर्ब आठ करोड रुपैयाँ घाटा भएको हो । उक्त देशबाट १२ अर्ब १८ करोड ५६ लाख ९ हजार रुपैयाँ बराबरको सामान आयात हुँदा १ अर्ब १० करोड ८६ लाख ९० हजार रुपैयाँ बराबरको निर्यात गरेको छ ।

    यस्तै, युक्रेनसँग आठ अर्ब १६ करोड, मलेसियासँग सात अर्ब १४ करोड, अर्जेन्टिनासँग पाँच अर्ब ६२ करोड, इन्डोनेसियासँग पाँच अर्ब ५४ करोड, फ्रान्ससँग चार अर्ब १८ करोड, थाइल्यान्डसँग तीन अर्ब ९५ करोड, जापानसँग तीन अर्ब १२ करोड, साउदी अरेबियासँग दुई अर्ब ९२ करोड, युकेसँग दुई अर्ब ४६ करोड, रसियासँग दुई अर्ब ४४ करोड, मोरोक्कोसँग दुई अर्ब ४४ करोड, सिंगापुरसँग दुई अर्ब ३९ करोड, अष्टेलियासँग ५ अर्ब ५३ करोड र साउदी अरेबियासँग दुई अर्ब ९१ करोड रुपैयाँ व्यापार घाटा भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार