images
images

५ महिनाको वैदेशिक व्यापार : यी हुन् बढी आयात–निर्यात भएका वस्तुहरू

५ महिनाको वैदेशिक व्यापार : यी हुन् बढी आयात–निर्यात भएका वस्तुहरू

१ खर्ब ११ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थको आयात हुँदा १३ अर्ब २४ करोड रुपैयाँ बराबरको बिजुली निर्यात !

शुक्रवार, पुस १३ २०८०
शुक्रवार, पुस १३ २०८०
  • images
    images
    ५ महिनाको वैदेशिक व्यापार : यी हुन् बढी आयात–निर्यात भएका वस्तुहरू

    काठमाडौँ / चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो पाँच महिनामा वैदेशिक व्यापारका सबै सूचक नकारात्मक देखिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको साउन महिनादेखि मंसिर मसान्तसम्मको तथ्याङ्क अनुसार वैदेशिक व्यापारका सबैजसो सूचक नकारात्मक देखिएका हुन् ।

    images
    images

    भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्याङ्क अनुसार नेपालको आयात, निर्यात, व्यापार घाटा, वैदेशिक व्यापार र कूल व्यापारमा आयातको र निर्यातको हिस्सा पनि नेपालको पक्षमा देखिँदैन । तथ्याङ्कअनुसार नेपालको आयात ३.३९ प्रतिशत र निर्यात ६.०९ प्रतिशत घटेको छ । यसका साथै, व्यापार घाटा ३.०९ प्रतिशत र कूल वैदेशिक व्यापार ३.६४ प्रतिशत खुम्चिएको विभागले जनाएको छ ।

    यसका साथै, कूल वैदेशिक व्यापारमा निर्यात हिस्सा २.५० प्रतिशतले खुम्चिएको छ । यस्तै, कूल वैदेशिक व्यापारमा आयातको हिस्सा भने ०.२५ प्रतिशतले बढेको छ । जुन, नेपालका लागि नकारात्मक विषय हो ।

    किन घट्यो आयात ?

    गत बर्षसम्म सरकारले विदेशी मुद्रा सञ्चितिमा परेको चाप कम गर्न आयात नियन्त्रणका लागि लगाएको प्रतिबन्ध र आयातका लागि प्रतीतपत्र (एलसी) खोल्दा नै नगद मार्जिन बैंकमा राख्नुपर्ने व्यवस्थाका कारण आयात घटेको बताइएको थियो । तर, गाडी, मोटरसाइकल, मोबाइल र मदिरामाको आयातमा लगाइएको प्रतिबन्ध सरकारले गत पुस १ गतेबाट खुला गरिसकेको छ भने एलसी खोल्दा चाहिने नगद मार्जिनको प्रावधान पनि गत माघ ५ गतेबाट हटाएको छ । यसका बाबजुद पनि आयात भने घटेको देखिएको छ । 

    चालु आवको ५ महिनामा पेट्रोलियम पदार्थ, कच्चा पाम र सोयाबिन तेलको आयातमा कमी आउँदा समग्र आयात व्यापार घटेको तथ्याङ्क छ । विभागको तथ्याङ्क अनुसार ५ महिनामा यस्ता वस्तुहरू ६ खर्ब ४२ अर्ब २० करोडको आयात भएको छ । यो रकम आर्थिक वर्ष ०७९/८० को पहिलो ५ महिनाको तुलनामा ३.३९ प्रतिशतले कमी हो ।

    ५ महिनामा ६ खर्ब ६४ अर्ब ७४ करोडको वस्तु आयात भएको छ । समग्र आयातमा कमी हुनुको प्रमुख कारण पेट्रोलियम र क्रुड खाने तेलको आयातमा कमी आउनु रहेको सरोकारवाला बताउँछन् ।

    नेपालको मुल आयातमा पेट्रोलियम पदार्थको ठूलो हिस्सा छ । चालु आवको ५ महिनामा १ खर्ब ११ अर्ब ७६ करोडको डिजेल, पेट्रोल, हवाई इन्धन र ग्यास आयात भएको छ । तर, गत आर्थिक बर्षको ५ महिनामा  १ खर्ब १७ अर्ब २ करोडको पेट्रोलियम आयात भएको थियो । गत आर्थिक वर्षको पहिलो ५ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा सवा ५ अर्बको पेट्रोलियम पदार्थ, २२ अर्ब १५ करोड रुपैयाँको क्रुड पाम र सोयाबिन तेलको कच्चा पदार्थ आयात घटेको भन्सार विभागको तथ्यांक छ । 

    यस्तै, पहिलो ५ महिनामा ७ अर्ब २१ करोडको क्रुड सोयाबिन र ५ अर्ब ६५ करोडको क्रुड पाम तेल आयात भएको छ । जब कि गत बर्षको सोहि अवधीमा २० अर्ब ६८ करोडको क्रुड सोयाबिन, १४ अर्ब ३३ करोडको क्रुड पाम तेल आएको थियो । यसरी हेर्ने हो भने पेट्रोलियम, क्रुड सोयाबिन र पाम तेलको आयात घट्दा समग्र आयात व्यापारमा प्रभाव परेको देखिन्छ ।

    यता, पेट्रोलियम पदार्थको आयात घट्नुको मुख्य कारण विद्युतीय गाडीको आयात बढ्नु रहेको सरोकारवालहरू बताउछन् । सरकारले विद्युतीय गाडी आयात प्रोत्साहनको नीति लिएसंगै, गत बर्षको ५ महिनाको तुलनामा झन्डै ३ गुणाले बढेको तथ्याङ्क छ । तथ्याङ्क अनुसार पाँच महिनामा ३ हजार ६ सय ७५ थान विद्युतीय कार, जिप, भ्यान आयात भएका छन् । गत आर्थिक वर्षको यही अवधिमा १ हजार ३ सय ५३ थान विद्युतीय कार, जिप र भ्यान आएका थिए ।

    यी हुन् चालु आर्थिक बर्षको ५ महिनामा धेरै आयात भएका वस्तुहरू 

    3.JPGनिर्यात ६३ अर्ब रूपैयाँमा खुम्चियो

    अर्थतन्त्रमा देखिएका समस्याको प्रत्यक्ष असर समग्र वैदेशिक व्यापार परेको छ । चालू आर्थिक वर्षमा आर्थिक गतिविधि बढेर व्यापार वृद्धि हुने अपेक्षा गरिएको भए पनि पाँच महिनामा निर्यात खुम्चिएको छ । 

    चालू आर्थिक वर्षको पहिलो ५ महिनामा ६३ अर्ब २० करोड ७४ लाख रुपैयाँको निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालबाट ६७ अर्ब ३० करोड ४५ लाख रुपैयाँको निर्यात भएको थियो । जुन, चालू आर्थिक वर्षको तुलनामा ६.०९ प्रतिशतले कम हो ।

    यी हुन् चालु आर्थिक बर्षको ५ महिनामा अर्ब माथि निर्यात भएका वस्तुहरू 

    4.JPG

    नेपालबाट निर्यात हुने कतिपय वस्तु तथा सेवाले निर्यात व्यापारमा केही आशा जगाएको छ । चालू आवको पहिलो पाँच महिनाको समीक्षामा नेपालको निर्यात व्यापारमा केही वस्तुको निर्यात तथ्यांकले आशा जगाउन सफल भएको हो । नेपालबाट भारतीय सीमावर्ती क्षेत्रमा सिमेन्ट र क्लिंकर निर्यात सुरु भएको डेढ वर्ष हुँदै छ । ५ महिनामा १ अर्ब ४९ करोड भन्दा बढिको सिमेन्ट र क्लिंकर निर्यात भएको छ ।

    यस्तै, नेपालबाट ०७८ कात्तिकदेखि भारतमा व्यावसायिक रूपमा बिजुली निर्यात सुरु भएको थियो । चालू आर्थिक वर्षको साउनदेखि २० मंसिरसम्म अर्थात ५ महिनामा १३ अर्ब २४ करोड रुपैयाँको बिजुली निर्यात भएको छ ।

    वैदेशिक व्यापारमा घट्दै निर्यातको हिस्सा

    5.JPG

    वैदेशिक व्यापारको आकार ७ खर्ब हुँदा व्यापार घाटा झण्डै ६ खर्ब ! 

    मंसिरसम्म वैदेशिक व्यापारको आकार ७ खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ । यो गत आवको यसै अवधिको तुलनामा ३.६४ प्रतिशत कम हो । सो आवको मंसिरसम्म ७ खर्ब ३२ अर्ब रुपैयाँ बराबको वैदेशिक व्यापार भएको थियो ।

    यसअवधिमा व्यापार घाटा भने ५ खर्ब ७९ अर्ब रुपैयाँ बराबर रहेको छ । यो गत आवको यसै अवधिमा ३.०९ प्रतिशत घटेको छ । अघिल्लो वर्षको यसै अवधिमा ५ खर्ब ९७ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा थियो । वैदेशिक व्यापारमा आयात–निर्यात रेसियो १०.१६ रहेको छ ।

    भारतसँग मात्रै साढे ३ खर्बको व्यापारघाटा 

    नेपालको वैदेशिक व्यापारमा करिब ६५ प्रतिशत हिस्सा ओगटेको भारतसँग ५ महिनाको अवधिमै साढे ३ खर्ब बढी व्यापारघाटा व्यहोरेको छ । विभागअनुसार नेपालले ३ खर्ब ९४ अर्ब ८० करोड ६ लाख ८४ हजार रुपैयाँको वस्तु आयात गर्दा नेपालबाट ४२ अर्ब ३ करोड २१ लाख ५१ हजार  रुपैयाँको वस्तु निर्यात भएको छ ।

    निर्यात अवस्था कमजोर हुँदा ५ महिनाको अवधिमा मात्रै नेपालले३ खर्ब ५२ अर्ब ७६ करोड ८५ लाख ३२ हजार रुपैयाँको व्यापारघाटा व्यहोरेको छ ।

    भारतपछि चीनसँग नेपालले ५ महिनाको अवधिमा १ खर्ब २४ अर्ब ५८ करोड ७७ लाख १३ हजार रुपैयाँ व्यापार घाटा व्यहोरेको छ । चीनबाट एक खर्ब २५ अर्ब ६२ लाख १२ हजार रुपैयाँको वस्तु आयात हुँदा १ अर्ब ३ करोड ३४ लाख ८६ हजार रुपैयाँ बराबरको वस्तु मात्रै निर्यात गरेको छ  ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार