images
images

धान उत्पादन ४.३३ प्रतिशत बढ्यो, खेती हुने क्षेत्र घट्यो

धान उत्पादन ४.३३ प्रतिशत बढ्यो, खेती हुने क्षेत्र घट्यो

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अनुसार यो वर्ष धान उत्पादन ४.३३ प्रतिशतले वृद्धि भएको छ भने धानबाली भित्र्याइएको क्षेत्रफल ०.६१ प्रतिशतले कम भएको छ ।

सोमवार, पुस २३ २०८०
सोमवार, पुस २३ २०८०
  • धान उत्पादन ४.३३ प्रतिशत बढ्यो, खेती हुने क्षेत्र घट्यो
    images
    images

    काठमाडौँ / चालु आर्थिक वर्ष २०८०/८१ मा धान बालीको उत्पादन बढे पनि क्षेत्रफल भने घटेको सरकारी तथ्यांकले देखाएको छ । 

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अनुसार गत आर्थिक वर्षको तुलनामा यो वर्ष ४.३३ प्रतिशतले धान उत्पादन वृद्धि भएको छ भने कुल धानबाली भित्र्याइएको क्षेत्रफल गत आर्थिक वर्षको तुलनामा ०.६१ प्रतिशतले कम भएको जनाएको हो । 

    मन्त्रालयका अनुसार यो वर्ष देशभर ५७ लाख २४ हजार २३४ मेक्ट्रिक टन धान उत्पादन भएको छ । यो पछिल्लो चार वर्षको औसत उत्पादनको तुलनामा ५.०८ प्रतिशत र गत आव २०७९/८० को तुलनामा ४.३३ प्रतिशत धेरै हो । गत वर्ष देशभर ५४ लाख ४७ हजार टन धान उत्पादन भएको थियो । 

    उत्पादन बढे पनि क्षेत्रफल भने घट्यो ! 

    यो वर्ष धान रोपाइँ गरिएको क्षेत्रफल भने घटेको तथ्याङ्कले देखाएको छ । कुल धानबाली लगाइएको क्षेत्रफल गत वर्षको तुलनामा ०.६१ प्रतिशत अर्थात ८ हजार ८ सय हेक्टर कम हो। तर उत्पादकत्व बढेकाले धेरै धान फलेको मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले बताए। 

    ‘गत वर्षको तुलनामा चालु आर्थिक वर्ष धानको कुल उत्पादन ४.३३ प्रतिशतले वृद्धि भएको छ ।  यो पछिल्लो चार आवको औसतः उत्पादकत्व दरको तुलनामा ६.९२ प्रतिशतले बढी हो,’ रेग्मीले भने, ‘यसपालिको उत्पादन विगत चार वर्षको औसत उत्पादनको तुलनामा ५.०८ प्रतिशतले बढी हो।’ 

    गत वर्ष १४ लाख ४७ हजार हेक्टरमा धान खेती गरिएको थियो । धानबालीको औसतः उत्पादकत्वदर गत आवको तुलनामा ४.९७ प्रतिशतले बढेर ३.९८ मेट्रिक टन प्रतिहेक्टर पुगेको समेत मन्त्रालयको तथ्यांक छ । यो पछिल्लो चार आवको औसतः उत्पादकत्व दरको तुलनामा ६.९२ प्रतिशतले बढी हो ।

    आर्थिक बर्ष २०७९/८० र २०८०/८१ मा प्रदेश अनुसार मुख्य धान लगाइएको क्षेत्रफल, उत्पादन र उत्पादकत्वको विवरण 

    1.JPG

    स्रोत : कृषि तथा पशुपन्छी विकास मन्त्रालय

    धेरै धान फल्ने प्रदेश कोशी र कम फल्ने कर्णाली

    प्रदेशगत हिसाबमा यो वर्ष सबैभन्दा धेरै धान कोशी प्रदेशमा उत्पादन भएको छ भने, सबैभन्दा कम कर्णाली प्रदेशमा भएको छ। कोशी प्रदेशमा यो वर्ष १४ लाख ३५ हजार ५७८ मेट्रिक टन धान उत्पादन भएको छ भने कर्णालीमा एक लाख ४५ हजार ६३ मेट्रिक टन छ।

    यस्तै, बागमतीमा पाँच लाख ४ हजार ३४४, लुम्बिनीमा १३ लाख १० हजार ८२९, गण्डकीमा तीन लाख ९१ हजार ६२४, सुदूरपश्चिमममा पाँच लाख ९९ हजार १२५ र मधेसमा १३ लाख ३७ हजार ६७२ मेट्रिक टन धान उत्पादन भएको छ।

    कुन प्रदेशमा कति फल्यो धान ? 

    प्रदेश अघिल्लो वर्षको उत्पादन (मे.टन) यो वर्षको उत्पादन (मे.टन) उत्पादन वृद्धिदर
    कोशी १,३३६,०५७ १,४३५,५७८ ७.४५
    मधेस १,३८८,८४१ १,३३७,६७२ -३.६८
    बागमती ५००,४४६ ५०४,३४४ ०.७८
    गण्डकी ३९१,१२१ ३९१,६२४ ०.१३
    लुम्बिनी १,१५१,३१३ १,३१०,८२९ १३.८६
    कर्णाली १२९,४७३ १४५,०६३ १२.०४
    सुदूरपश्‍चिम ५८९,२२१ ५९९,१२४ १.६८
    जम्मा ५,४८६,४७२ ५,७२४,२३४ ४.३३

    स्रोत : कृषि तथा पशुपन्छी विकास मन्त्रालय

    चैते धानको उत्पादन कति ?

    नेपालमा मूख्य गरी धान बाली दुई सिजनमा लगाउने गरिन्छ । एक चैते र अर्को बर्खे । चालु आर्थिक वर्षमा १ लाख ४ हजार हेक्टर क्षेत्रफलमा चैते धान बाली लगाइएको मन्त्रालयले उल्लेख गरेको छ । 

    मुलुकभर चालु आर्थिक वर्षमा चैते धान ५ लाख २० हजार मेट्रिक टन उत्पादन भएको छ । चालु आर्थिक वर्षमा चैते र बर्खे गरी ५७ लाख २४ हजार २ सय ३४ मेट्रिक टन धान फलेको मन्त्रालयले जनाएको छ ।

    1.JPG

    स्रोतः कृषि तथा पशुपन्छी विकास मन्त्रालय

    बर्खे धानको उत्पादन कति ?

    चालु आर्थिक वर्षमा १३ लाख ३४ हेक्टर क्षेत्रफलमा बर्खे धान बाली लगाइएको मन्त्रालयले उल्लेख गरेको छ । यसरी हेर्ने हो भने चालु आर्थिक बर्षमा दुबै सिजन गरी देशभर १४ लाख ३८ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो । मुलुकभर चालु आर्थिक वर्षमा बर्खे धान ५२ लाख ३ हजार मेट्रिक टन उत्पादन भएको छ । 

    1.JPG

    स्रोतः कृषि तथा पशुपन्छी विकास मन्त्रालय

    किन बढ्यो उत्पादन ? 

    चालु आर्थिक बर्षमा धान उत्पादन र उत्पादकत्व बृद्धि हुनुमा उन्नत जातको बिउको उपलब्धता र त्यसको प्रयोग प्रमुख कारण भएको कृषि मन्त्रालयले जनाएको छ । 

    त्यस्तै, मन्त्रालयको अनुसार रोग किराको प्रकोपमा कमी, बाढी पहिरोबाट पर्ने नकारात्मक असरमा कमी, मलखादको उपलब्धतामा आएको सुधार, कृषि औजार र प्रविधिको प्रयोग र मौसमी अनुकूलतालाई मुख्य आधार मानिएको छ ।

    यस्तै, मधेश प्रदेशका केही जिल्लाहरूमा भने धान रोप्ने समयमा पर्याप्त वर्षा नभएका कारण उत्पादन र उत्पादकत्वमा ह्रास आएको मन्त्रालयले उल्लेख गरेको छ । नेपालको प्रमुख कृषि बाली धानको उत्पादन बढ्दा यसले समग्र अर्थतन्त्रको आकार वृद्धिमा ठूलो सहयोग पुर्‍याउँछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार