काठमाडौँ / माघको पहिलो हप्ता वितिसक्दा पनि नेपालमा पानी परेको छैन । जल तथा मौसम विज्ञान विभागले यस वर्षको हिउँदयाममा सरदरभन्दा बढी पानी पर्ने आँकलन गरेको भएपनि अहिलेसम्म हिउँदे वर्षा हुन सकेको छैन । विगतका हिउँदसँग तुलना गर्ने हो भने यतिबेला वर्षा हुनुपर्ने हो । हिमाली भेगमा हिउँ पर्ने र तराईमा शीतलहरसंगै हुस्सुको प्रभाव देखिनुपर्ने हो ।
मौसम पूर्वानुमान महाशाखाले यस वर्षको हिउँयाममा सरदरभन्दा बढी वर्षा हुने जनाएको थियो । तर अहिलेसम्म पानी नपर्दा यस वर्ष हिउँदमा पूर्वानुमान गरिएभन्दा विपरित हिउँद सुख्खा हुने हो कि ? भन्ने आँकलन गरिएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार आर्यालले प्रशान्त महासागरबाट उठ्ने जलवाष्प बोकेको हावा पश्चिमतिरबाट नेपाल छिरेपछि त्यसले हिउँदे वर्षा गराउने बताए । तर, भूमध्यरेखाको पूर्वी प्रशान्त महासागरमा यो वर्ष पानीको तापक्रम औसतभन्दा कम हुनपुग्यो, जसले हावाको बहावमा परिवर्तन गरेर पश्चिमी वायुलाई सक्रिय हुन दिएन । यसलाई प्राविधिक भाषामा ‘लालिना प्रणाली’ विकसित भएको भनिने उनले बताए ।
यो प्रणाली सक्रिय हुँदा नेपालमा पश्चिमबाट प्रवेश गर्ने वायुको प्रभाव घटेर वर्षा कम भएको विभागले जनाएको छ । नेपालमा पश्चिमी वायुका कारण हिउँदयाममा वर्षा हुन्छ । तर यसवर्ष पश्चिमी वायुको प्रभाव कम रहेकाले पानी नपरेको उनले बताए ।
“अहिले पश्चिमी वायुको प्रभाव निकै कम छ । वर्षा गराउने प्रणाली नेपाल नभित्रिएकाले हिउँदे वर्षा हुन सकेको छैन” मौसमविद् आर्यालल भने ।
नेपालमा हिउँदमा वर्षभरि हुने वर्षाको करिब चार प्रतिशत मात्र वर्षा हुने आँकलन गरिन्छ । बाँकी झण्डै ८० प्रतिशत वर्षा मनसुनमा, १२ प्रतिशत प्रि मनसुनमा र चार प्रतिशत पोष्ट मनसुनमा पानी पर्ने गरेको तथ्याङ्क छ ।
‘पछिल्ला केही वर्षलाई हेर्ने हो भने पानी नपर्ने, खडेरी पर्ने, पानी परे पनि धेरै पर्ने ट्रेन्ड जस्तै देखिएको छ । गतवर्ष पनि हिउँदे वर्षा कम भएको थियो’ उनले भने, ‘अहिलेसम्म पानी नपरे पनि आगामी दिनमा एकै दिन ३०÷४० मिलिमिटर वर्षा भएर हिउँदको कोटा पूरा हुन सक्छ ।’
उनले अझै करिब १ महिना विन्टर मनसुन बाँकी भएकाले पानी पर्ने सम्भावना हुनसक्ने बताए । उनका अनुसार विन्टर मनसुनको बाँकी रहेको एक महिनामा पनि पानी नपरेमा अनुसन्धानको विषय हुने बताएका छन् । सामान्यता मध्य मंसिरदेखि मध्य फागुनसम्म (१ डिसेम्बरदेखि फेब्रुअरी अन्तिमसम्म) का तीन महिनालाई हिउँदयाम मानिन्छ ।
हिउँदे वर्षा ढिलो हुँदा कृषिमा कस्तो असर पर्ला ?
हिउँद याममा पानी नपर्दा हिउँदे बालीनालीमा पनि त्यसको असर परेको छ । नेपालको कृषि प्रणाली परम्परागत रुपमा आधारित छ । किसानहरु वर्षायाम र हिउँदयाममा लगाउने खेतीपातीको बारेमा पूर्व जानकार हुन्छन् । तर वर्षाको आधारमा भने त्यति सरोकार राख्दैनन् ।
यतिखेर नेपालका अधिकांश स्थानमा हुने गहुँखेतीका लागि हिउँदे वर्षा महत्वपूर्ण हुन्छ । हिमाली र मध्यपहाडी क्षेत्रका अधिकांश खेतबारी हिउँदे वर्षामा निर्भर छन् । गहुँ, जौ, फापर, दलहन, र तेलहन बालीनालीका लागि हिउँदे वर्षा अमृत सरह हुने गर्छ ।
तर, हिउँद याममा पानी नपर्दा हिउँदे बालीनालीमा पनि त्यसको असर परेको छ । तीन महिनादेखि एक झर पानी नपर्दा किसानहरु उत्पादन घट्ने हो कि भन्ने चिन्तामा छन् ।
यता, कोसेबालीका हकमा भने फूल फुल्ने बेलामा वर्षा भएमा कतिपय बालीनालीलाई असर गर्न सक्त । हिउँदमा पानी नपरे बालीबाहेक पानीको मुहान सुक्नेलगायत प्रदूषण बढ्नेजस्ता असर पनि पर्ने विज्ञहरू बताउँछन् ।
सुख्खा बन्दै हिउँद : १८ बर्षमा ६ वटा हिउँदमा मात्रै सरदरभन्दा बढी बर्षा !
पछिल्लो १८ बर्षयताको हिउँदे बर्षको तथ्याङ्क अनुसार १८ बर्षमध्ये १२ बर्षका हिउँदमा सरदरभन्दा कम पानी परेको छ भने ६ वटा हिउँदमा मात्रै सरदरभन्दा बढी पानी परेको विभागले जनाएको छ । यस्तै, सरदर भन्दा कम पनि परेको १२ बर्षमा पनि ८ बर्ष वर्षका हिउँद भने गत वर्ष जस्तै अधिक खडेरीमै बितेका छन् ।
मौसम विभागको अनुसार गत वर्षको हिउँद पनि सुक्खा नै बितेको थियो । गत बर्षको हिउँदका महिनामा औसत वर्षाको २१ प्रतिशत हाराहारीमा मात्रै पानी परेको विभागले जनाएको हो । २०७९ सालको हिउँदमा १२.९ मिलिमिटर मात्रै वर्षा भएको थियो, जुन पछिल्लो डेढ दशकयताकै न्यून रहेको विभागले जनाएको छ ।
विभागको अनुसार सरदर वर्षाको ७५ प्रतिशतभन्दा कम पानी परेमा खडेरी मानिन्छ । गत वर्षको हिउँद चरम खडेरीमा बितेको थियो । हालसम्म विभागले यस बर्ष बर्षाको सम्भावना रहेको भन्दै आएपनि अहिलेसम्मको प्रवृत्तिले यो वर्षको हिउँदमा पनि खडेरी लम्बिने देखिएको छ । यो वर्ष असोजमा वर्षा थामिएयता देशका धेरै स्थानमा पानी छिट्याएको पनि छैन । उच्च हिमाली क्षेत्रमा समेत फाट्टफुट्ट बाहेक हिउँ नपरेको विभागले जनाएको छ ।
स्रोत : जल तथा मौसम विज्ञान विभाग