images
images

हिमपहिरो पन्छाउन थालियो, माथिल्लो मनाङ क्षेत्र आवतजावतमा जोखिम

हिमपहिरो पन्छाउन थालियो, माथिल्लो मनाङ क्षेत्र आवतजावतमा जोखिम

बुधवार, फागुन २३ २०८०
बुधवार, फागुन २३ २०८०
  • हिमपहिरो पन्छाउन थालियो,  माथिल्लो मनाङ क्षेत्र आवतजावतमा जोखिम
    images
    images

    मनाङ / ङिस्याङ गाउँपालिका-१ ढुकुरपोखरीमा आइतबार आएको हिमपहिरालाई पन्छाउन थालिएको छ । हिमपहिराका कारण माथिल्लो मनाङ र तल्लो मनाङ आवतजावतमा समस्या हुने जनाइएको छ ।  प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले ढुकुरपोखरीमा आएको हिमपहिरा पन्छाउन थालिएको जानकारी दिए । 

    उनले भने, “हिमपहिरो गएको स्थानसम्म पुग्नै समय लाग्यो । सवारीसाधन जानसक्ने अवस्था छैन । सुरक्षाकर्मी पनि हिँडेर पुग्ने हो । अहिले एक्साभेटर र सुरक्षाकर्मीसहितको टोलीले हिउँ फाल्ने काम गरिरहेका छन् ।”

    उनका अनुसार आइतबार भारी हिमपात भएपछि उक्त क्षेत्रमा हिमपहिरो गएको हो । प्रजिअ लामिछानेले भने, “ मनाङ पर्यटकीय क्षेत्र भएकाले पर्यटक आउने याम सुरु भइसकेको छ । आज बेलुकीसम्म बाटो खुलाउने प्रयासमा छौँ ।” 

    माथिल्लो मनाङ क्षेत्र आवतजावतमा जोखिम हुँदा यात्रा नगर्न सुझाव दिइएको उनले बताए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङका प्रमुख ढकबहादुर भुजेलले दैनिकरूपमा यहाँ ५० देखि ६० पर्यटक आउन थालेका जानकारी दिए । 

    उनले भने, “ पर्यटक आउने याम सुरु भइसकेको छ । दैनिकरूपमा पर्यटक आगमन बढ्न थालेको छ । भारी हिमपातसँगै आएको हिमपहिराले जोखिम भने बढाएको छ । बाटो नै नछेकिए पनि जोखिम भने छ । सचेत भएर उक्त क्षेत्र पार गर्न आग्रह गर्ने गरेका छौँ ।”

    समय सकिनलाग्दा परेको भारी हिमपातले किसानलाई राहत मिलेको छ । हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नुका साथै मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा अन्नपूर्ण पदमार्गमार्फत पर्यटक आउने गर्छन् । 

    अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौतारामा रहेको छ । अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच जिल्ला जोडिएको छ । 

    काठमाडौँबाट बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् र पदमार्गमार्फत मनाङका विभिन्न स्थानको अवलोकनसहित यात्राको सुरुआत गर्दछन् । दुई समयमा मनाङमा पर्यटक घुम्न आउने गर्दछन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार