काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को फागुन महिनामा सुनको मूल्य ५.९३ प्रतिशतले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघको अनुसार चालु आर्थिक बर्षको फागुन महिनामा सुनको मूल्य अचाक्ली बृद्धि भएको हो ।
महासंघको अनुसार माघको अन्तिममा प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज अर्थात फागुन अन्तिम दिन प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार हुने भएको छ । माघको अन्तिमको तुलनामा सुनको मूल्य प्रतितोला ७ हजार रुपैयाँ अर्थात ५.९३ प्रतिशतले बढेको पाइएको हो ।
यता, फागनु १ को तुलनामा भने सुनको मूल्य प्रतितोला ७ हजार ३ सय रुपैयाँले बढेको छ । फागुन महिनाको १ गते प्रतितोला एक लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज फागुन २५ गते प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार हुने भएको हो । यस्तै, १ गते तोलामा १ लाख १७ हजार १५० रहेको तेजाबी सुनको मूल्य आज १ लाख २४ हजार ४०० रुपैयाँ कायम छ ।
यो महिना नेपाली बजारमा सुनको मूल्यले कीर्तिमान नै कायम गर्यो । फागुन २७ गते सुनको मूल्य तोलामा १ लाख २६ हजार रुपैयाँ पुगेको थियो । यो मूल्य तीन दिनसम्म स्थिर कायम भयो । नेपाली बजारमा अहिलेसम्म सुनको मूल्य प्रतितोला १ लाख २६ हजार रुपैयाँ पुगेको थिएन ।
चाँदीको मूल्य पनि बढ्यो !
महासंघका अनुसार पछिल्लो समय स्थानीय बजारमा सुनको मूल्य मात्रै नभई चाँदीको मूल्य पनि निरन्तर उकालो लागिरहेको छ । फागुन १ गते प्रतितोला एक हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज यो महिनाको अन्तिम दिन अर्थात फागुन ३० गते प्रतितोला एक हजार ४ सय ६५ रुपैयाँमा कारोबार हुने भएको छ । महासंघको अनुसार यो एक महिनामा चाँदीको मूल्य प्रतितोला ७० रुपैयाँले बढेको हो ।
किन बढिरहेको छ सुनको मूल्य ?
पछिल्लो केही समय यता सुनको मूल्य निरन्तर बढिरहेको छ । सुनको मूल्य बृद्धि हुनुमा नेपाली बजारले खासै भूमिका खेल्दैन । अन्तर्राष्ट्यि बजारमा भएको सुनको माग र आपूर्तिले मूल्य घटबढमा मूख्य भूमिका खेल्छ । तर, सुनको माग र आपूर्ति घटबढ हुनुमा भने धेरै पक्ष जिम्मेवार हुन्छ ।
अन्तराष्ट्रिय बजारमा मूल्यवृद्धि भएपछि नेपाली बजार पनि प्रभावित भएको महासंघले जनाएको हो । पहेँलो धातुको मूल्यले यतिबेला नेपाली बजारमा नयाँ कीर्तिमान कायम गरेको छ । गत फागुन २७ गते आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २६ हजार रुपैयाँ पुग्यो । यो अहिलेसम्मकै महँगो हो ।
मूल्यबृद्धिका कारण अहिले नेपाली बजार भने सुनसान रहेको छ । मङ्सीरदेखि फागुनसम्म विवाहको सिजन भएको कारण यो समयमा व्यापार बढ्छ । कोभिड अगाडिका बर्षहरूमा भने यो सिजनमा सुन अभावसमेत हुने गरेको व्यवसायीहरूले बताए । तर, पछिल्लो बर्षदेखि सुनको मूल्यमा उच्च बृद्धि भएका कारण व्यापार खस्किएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँभन्दा बढीले बृद्धि भएदेखि नै माग घटेको बताए ।
उनका अनुसार मङ्सीर महिनामा ४० प्रतिशत सुन खपत भएको भए पनि माघ र फागुनमा घटेर ३ प्रतिशतमा झर्यो । उनले भने, “बजार शून्य छ । अब विवाहको सिजन करिब करिब सकियो । विवाहको सिजनमै पनि कारोबार ५० प्रतिशतले घटेको छ । अब त हामीलाई २०८१ सालमा के होला भन्ने चिन्ता मात्रै छ ।”
मूल्य बढेको कारण खपत पनि घटिरहेको छ । “आर्थिक मन्दी छ । अधिकांश व्यापार व्यवसाय प्रभावित छन् । नेपालीहरूको क्रयशक्ति पनि कमजोर छ । सामान्य नेपालीको पहुँच बाहिर मूल्य पुगेकोले बजार सुनसान नै छ,”उनले भने, “आम्दानी छैन । मूल्य बढेको कारणले सुनमा भन्दा नक्कली गरगहनामा आकर्षण बढ्दो छ । सुनको गरगहना बनाउने ग्राहकहरूले नयाँ किन्नुको सट्टा पुरानो मासेर नयाँ बनाउँछन् ।” उनका अनुसार नयाँ बनाउनेभन्दा बिक्री गर्नेहरू फाट्टफुट्ट आइरहेका छन् ।
अब एक तोला सुनको गहना बनाउन झण्डै १ लाख ४४ हजार रुपैयाँ खर्च गर्नुपर्ने !
महासङ्घका अनुसार आज बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २५ हजार रुपैयाँ पर्नेछ । यो ज्याला र जर्ती बाहेकको मूल्य हो । यसमा ज्याला र जर्तीको खर्च जोड्दा सुनको भाउ प्रतितोला १ लाख ४३ हजार ७ सय ५० रुपैयाँ रुपैयाँ पुग्नेछ ।
सामान्यतयाः सुन पसलेहरूले गरगहनामा १० प्रतिशत जर्ती राख्ने गरेका छन् । पुराना गहनालाई नयाँ बनाउँदा भने यो खेर जाने व्यवसायीहरू बताउँछन् । त्यस्तै, १० प्रतिशत जर्ती र ५ प्रतिशत ज्यालाको पैसा थप लाग्ने उनीहरूको भनाइ छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका संस्थापक अध्यक्ष मणी शाक्यले सुनको मूल्यमा ज्याला र जर्तीको खर्च औसतमा १५ प्रतिशत लाग्ने बताए ।
“सामान्य, सादा डिजाइनको गरहगना बनाउने हो भने ज्याला र जर्तीको मूल्य ५र६ प्रतिशत पनि पर्छ । तर, अहिले विभिन्न डिजाइनको गरगहना लगाउने प्रचलन छ । सामान्य डिजाइन खासै रुचाइदैन । त्यसैले सुनको मूल्यको १५ प्रतिशत ज्याला र जर्तीको मूल्य जोडिन्छ” उनले भने, “अझै हिरा ज्वारा आदि जोड्ने भने १५ प्रतिशतभन्दा बढी लाग्छ ।”
सुनका गहनाको प्रकृतिअनुसार जर्ती र ज्यालाको दर पनि फरक उनको भनाइ छ । पछिल्लो समय सुनको मूल्य बृद्धि भएसँगै व्यापारमा पनि उच्च गिरावट आएको व्यवसायीहरू बताउँदै आएका छन् । सुनको मूल्य अचाक्ली बढेसँगै निम्नमध्यम वर्गीय परिवारका लागि सुनका गरगहना लगाउनु सपनाजस्तै बन्न पुगेको छ ।
अझै कति पुग्ला ?
हाल अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १.०६ प्रतिशतले बढेर प्रतिऔँस २ हजार १८०.४७ डलर कायम भएको छ । अब यो मूल्य बढेर २२ सय डलर पुग्ने अनुमान गरिएको छ ।
सुनको तौल प्रतिऔँस बराबर ३१.१ ग्राम हुन्छ । सुनबाहेक अन्य वस्तुमा भने प्रतिऔँस बराबर २८.३४ ग्रामले हिसाब गरिन्छ । त्यस्तै, प्रतितोला सुन ११.६६४ ग्राम बराबर हुन्छ । यदी, सुनको मूल्य प्रतिऔँश २२ सय डलर पुगेमा नेपालमा सुनको मूल्य प्रतितोला १ लाख ३० हजार रुपैयाँ पर्न जान्छ ।
नेपालमा रहेका सुनचाँदी व्यवसायी महासङ्घहरूले जुन दिन सुनको मूल्य तोक्ने हो, सोही दिन ११ बजेसम्म अन्तर्राष्ट्रिय बजारमा कायम हुने मूल्यलाई आधार लिन्छन् ।
सरकारले सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत् सुन र चाँदीको भन्सार दर १५ प्रतिशतले वृद्धि गरेको थियो । १५ प्रतिशत राजस्व र बैङ्कको ब्याजदरलगायतको खर्च गरी अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपालमा सुनको मूल्य झण्डै १८ प्रतिशत बढी रहेको शाक्यले जानकारी दिए ।
यस कारण अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपाली बजारमा सुनको मूल्य उच्च रहेको छ । अहिले नेपाल राष्ट्र बैङ्कले एक दिनमा २० किलोग्रामसम्म सुन आयात गर्न अनुमति दिँदै आएको छ ।