कर्णाली प्रदेश क्षेत्रफलको हिसाबले अन्य प्रदेशभन्दा ठूलो तथा भौगोलिक रुपमा विकट भएकोले यहाँका हरेक घर तथा वस्तीमा बिजुलीको सुविधा पुर्याउनु आफैमा चुनौतीपूर्ण रहेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कर्णाली प्रदेशको चालु आर्थिक वर्षको प्रादेशिक आर्थिक गतिविधि अध्ययनको अर्धवार्षिक प्रतिवेदनअनुसार चालु आर्थिक बर्षको पुष मसान्तसम्ममा ३३ के.भि.को विद्युत्प्रसारण लाईन ४९६ कि.मि पुगेको छ भने ११ के.भि.को विद्युत्प्रसारण लाईन ३ हजार १२१ कि.मि पुगेको देखिएको हो ।
गत अवधिमा भने ११ के.भि.को विद्युत्प्रसारण लाईन ३ हजार १०८ पुगेको थियो । आ.व. २०७९/८० सम्ममा यस प्रदेशमा १८.५४ मे.वा. विद्युत् उत्पादन भएको छ ।
यस प्रदेशमा हालसम्म कुनैपनि ठूला जलविद्युत् आयोजनाहरु सञ्चालनमा नरहेतापनि दैलेख जिल्लामा हाल २.१५ मेगावाट क्षमताको माथिल्लो पराजुली खोला, ४.२ मेगावाट क्षमताको लोहोरे खोला आयोजना निर्माणाधीन अवस्थामा रहेका छन् ।
त्यस्तै कालिकोट जिल्लामा १६ मेगावाट क्षमताको रुरुबन्चु खोला (पहिलो), १२ मेगावाट क्षमताको रुरुबन्चु खोला (दोश्रो), ४४० मेगावाट क्षमतको तिला (पहिलो), ४२० मेगावाट क्षमताको तिला (दोश्रो) जलविद्युत्आयोजनाको निर्माण कार्य भईरहेको छ ।
त्यसैगरी, खत्याड खोला जलविद्युत् आयोजना (०.५० मे.वा.) मुगु, सिमरुतु खोला जलविद्युत् आयोजना (०.२० मे.वा.) रुकुम पश्चिम, सानी भेरी जलविद्युत् आयोजना (०.३० मे.वा.) रुकुम पश्चिम, आँखे खोला जलविद्युत् आयोजना (०.७५ मे.वा.) डोल्पा, चुकेनी खोला जलविद्युत् आयोजना (०.९९ मे.वा.) जुम्ला, जल्दी गाड जलविद्युत् आयोजना (२१ मे.वा.) रुकुम पश्चिम, स्यार्पु जलविद्युत् आयोजना (३.३ मे.वा.) रुकुम पश्चिम, सौर्य ऊर्जा आयोजना (०.९९ मे.वा.) जुम्ला, सौर्य ऊर्जा आयोजना (०.३० मे.वा.) मुगु, सौर्य ऊर्जा आयोजना (०.६२ मे.वा.) डोल्पा र सौर्य ऊर्जा आयोजना (१ मे.वा.) हुम्लामा गरी जम्मा १७ ओटा लघु आयोजनाहरु निर्माणाधिन अवस्थामा रहेका छन् ।
कूल विद्यूत उत्पादन (मेगावाटमा)
यी हुन् कर्णाली प्रदेशका महत्वपूर्ण जलविद्युत आयोजना
यस प्रदेशमा हालसम्म कुनैपनि ठूला जलविद्युत् आयोजनाहरु सञ्चालनमा नरहेतापनि नेपालको विकासको लागि बहुआयामिक महत्व राख्ने चार महत्वपूर्ण जलविद्युत आयोजना निमार्णको क्रममा रहेका छन् ।
कर्णली प्रदेशका ठूला आयोजनाहरु सम्पन्न भएमा देशमा आवश्यक विद्युत्को परिपूर्ति हुनुको साथै ठुलो मात्रामा विद्युत निर्यातको सम्भावना रहेको छ ।
भारत र बंगलादेशमा विद्युत्आपूर्ति हुने निर्यातमुखी आयोजना समेत भएकोले समयममै विद्युत्उत्पादन गर्न सके यसले नेपालको विकासको लागि बहुआयामिक महत्व राख्ने विश्वास गरिएको छ ।
साथै रोजगारी सिर्जना हुन गई स्थानीय जनताहरु लाभान्वित हुने देखिन्छ । यी आयोजना निर्माण भई सञ्चालनमा आएमा विद्युत्को आन्तरिक माग परिपूर्ति गर्नुको साथै बाँकी बिजुली छिमेकी देशहरुमा बिक्रि गरी आर्थिक लाभ लिन सकिने हुँदा यी आयोजनाको सञ्चालनबाट समष्टिगत रुपमा समग्र देशको आर्थिक उन्नतिमा टेवा पुग्ने देखिन्छ ।
१) नलस्यागाड (नलगाड) जलाशययुक्त जलविद्युत आयोजना
नलस्यागाड (नलगाड) जलाशययुक्त जलविद्युत(४१७ मे.वा) आयोजना नेपालको कर्णाली प्रदेश अन्तर्गत जाजरकोट जिल्ला स्थित नलगाड नदीमा अवस्थित छ।
यस आयोजनाको निर्माण तथा सञ्चालक नलगाड हाइड्रोपावर कम्पनी रहेको छ। जुन विद्युत उत्पादन कम्पनीको सहायक कम्पनीका रुपमा सन् २०१७ मा स्थापित भएको थियो। हाल यस आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन पेस गरिने चरणमा छ।
प्रस्तावित आयोजनाले नलगाड नगरपालिकाको वडा नम्बर २, ५, ७, ८, र बारेकोट गाउँपालिकाको वडा नम्बर १, २, ५, ६, ७, ८ र ९ लाई प्रभाव पार्नेछ। यस आयोजना निर्माण सम्पन्न हुन ७ वर्ष ५ महिना लाग्ने अनुमान गरिएको छ भने आयोजनाको अधिकृत पुँजी रु. १ अर्ब र जारी पुँजी रु. ५० करोड रहेको छ।
यस आयोजनाले निर्माण चरणकोअवस्थामा स्थानीय स्तरमा रोजगारीका अवसरहरुको सिर्जना, स्थानीय बासिन्दाहरुको दक्षता तथा क्षमतामा वृद्धि, स्थानीय स्तरमा उत्पादन हुने सामानहरुका लागि बजार–व्यवसायहरुको अवसर सिर्जना तथा राजस्वमा वृद्धि हुने अनुमान गरेको छ भने सञ्चालन चरणमा उर्जाको उत्पादन, ग्रामीण विद्युतिकरणका अवसरहरु, ग्रामीण अर्थतन्त्रमा सुधार, स्थानीय पर्यटन विकासका अवसरहरु तथा शेयर लगानीमा अवसर हुनेछ।
२) माथिल्लो कर्णाली जलविद्युत आयोजना
माथिल्लो कर्णाली जलविद्युत आयोजना कर्णाली नदीमा प्रस्तावित रन अफ द रिभर जलविद्युत आयोजना हो। यो आयोजना दैलेख जिल्लाको आठबीस नगरपालिका वडा नं. १ सात्तलाको डाब र अछाम जिल्लाको केहि भाग समेत पर्दछ।
यो आयोजनाको विद्युत उत्पादन क्षमता ९०० मेगावाट रहेको छ। यो आयोजना निर्माण गर्ने जिम्मा नेपाल सरकारले भारतिय कम्पनी जीएमआरलाई दिएको छ।
यस आयोजनाबाट उत्पादन हुने अधिकांश विजुली बंगलादेश (५०० मेगावाट) र भारत (२९२ मेगावाट) दुवैतर्फ ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत निर्यात गर्ने तय गरिएको छ। बाँकी रहेको १०८ मेगावाट नेपाल सरकारले प्राप्त गर्नेछ।
लामो समयदेखि यो आयोजनाको कार्य गर्ने भनिएपनि उत्पादनको जिम्मा पाएको कम्पनीलेकार्य गर्न नसकी पटक–पटक म्याद थपिँदै आएको छ।
नेपालको ठूला आयोजनामध्येको यस आयोजना समयमै सम्पन्न भएमा देशमा आवश्यक विद्युतको परिपूर्ति हुनुका साथै ठूलो मात्रामा विद्युतनिर्यातको सम्भावना रहेको छ।
भारत र बंगलादेशमा विद्युत आपूर्ति हुने निर्यातमुखी आयोजना भएकोले समयममै विद्युत उत्पादन गर्नसके यसले नेपालको विकासका लागि बहुआयामिक महत्व राख्दछ।
३) बेतन कर्णाली जलविद्युत आयोजना
४३९ मेगावाट विद्युत क्षमताको बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजना हो। जुन कर्णाली प्रदेश सर्खेत जिल्लाको चौकुने गाउँपालिका वडा न.४, ५, ६ र पञ्चपुरी नगरपालिका वडा न. ७ साथै सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाको ढकारी गाउँपालिको वडा नं. ६, ७ र तुर्माखाद गाउँपालिकाका वडा न. ३, ४ र ५ को क्षेत्र भित्र अवस्थित छ।
जलविद्युतको उत्पादन वृद्धि गरी उर्जाको निरन्तर बढ्दो माग पुरा गर्न र विदेशबाट आयात गरिने विद्युतलाई प्रतिस्थापन गर्न यस्ता आयोजनाको प्रमुख भुमिका हुने देखिन्छ। साथै रोजगारी सिर्जना हुन गई स्थानीय जनताहरु लाभान्वित हुने देखिन्छ।
यो आयोजना निर्माण भई सञ्चालनमा आएमा विद्युतको आन्तरिक माग परिपूर्ति गर्नुको साथै बाँकी बिजुली छिमेकी देशहरुमा बिक्री गरी आर्थिक लाभ लिन सकिने हुँदा यस आयोजनाको सञ्चालनबाट समष्टिगत रुपमा समग्र देशको आर्थिक उन्नतिमा टेवा पुग्ने देखिन्छ।
४) फुकोट कर्णाली जलविद्युत आयोजना
प्रधानमन्त्रीको भारत भ्रमणमा फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजना भारतीय सरकारी कम्पनीले लगानी गर्ने सम्झौता भएको छ। यस आयोजनाको विद्युतउत्पादन क्षमता ४८० मेगावाट रहेको छ।
नेपालका तर्फबाट विद्युत उत्पादन कम्पनी लिमिटेड र भारतको सरकारी कम्पनी एनएचपीसीको संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर) बनाएर यस आयोजनाको निर्माण गर्ने गरी सम्झौता भएको छ।
एमओयूको मस्यौदाअनुसार एनएचपीसीको ५१ र भीयूसीएलको ४९ प्रतिशत लगानीमा फुकोट कर्णाली आयोजना बनाउने तयारी छ। यो आयोजना कालिकोटको पचाल झरना गाउँपालिका, रास्कोट नगरपालिका, सान्नी त्रिवेणी गाउँपालिका र खाँडाचक्र नगरपालिका हुँदै बग्ने कर्णाली नदीको खण्डमा निर्माण हुनेछ।
जलविद्युतको राष्ट्रिय उत्पादन वृद्धि गरी उर्जाको निरन्तर बढ्दो माग पुरा गर्न र विदेशबाट आयात गरिने विद्युतलाई प्रतिस्थापन गर्न यस्ता आयोजनाको प्रमुख भुमिका हुने देखिन्छ।
साथै रोजगारी सिर्जना हुन गई स्थानीय जनताहरु लाभान्वित हुने छन्। यो आयोजना निर्माण भई सञ्चालन भएमा विद्युतको आन्तरिक माग परिपूर्ति गर्नुको साथै बाँकी बिजुली छिमेकी देशहरुमा बिक्रि गरी आर्थिक लाभ लिन सकिने हुँदा यस आयोजनाको सञ्चालनबाट समष्टिगत रुपमा समग्र देशको आर्थिक उन्नतिमा टेवा पुग्ने देखिन्छ।