images
images

‘नेपाली जनताले बंगलादेशको स्थिति नेपालमा चाँडै आओस् भनेर अपेक्षा गरिरहेका छन्’

‘नेपाली जनताले बंगलादेशको स्थिति नेपालमा चाँडै आओस् भनेर अपेक्षा गरिरहेका छन्’

बुधवार, साउन २३ २०८१
बुधवार, साउन २३ २०८१
  • ‘नेपाली जनताले बंगलादेशको स्थिति नेपालमा चाँडै आओस् भनेर अपेक्षा गरिरहेका छन्’
    images
    images

    काठमाडौँ / बंगलादेशमा विगत एक महिनादेखि जारी आन्दोलनले हिंसात्मक रूप लिएसँगै शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश नै छाडेकी छन् । उनी अहिले भारतको शरणमा रहेकी छन् । 

    बंगलादेशमा पछिल्लो एक महिनाको आन्दोलनमा ३ सयभन्दा धेरैको ज्यान गएको  बताइएको छ । हसिनाले प्रधानमन्त्री पद त्यागेर देश छाडेसँगै त्यहाँ सेनाले शासन सत्ता नियन्त्रणमा लिएको थियो । 

    आन्दोलनरत पक्षले सैनिक शासन पनि स्वीकार नगर्ने बताएसँगै अहिले सहमतिमा नोबेल पुरस्कार बिजेता डा.मोहम्मद युनुसलाई सरकार प्रमुख नियुक्त गरिएको छ । 

    बंगलादेशको विकसित घटनाक्रमबाट नेपालमा पर्नसक्ने असरको बारेमा साक्षत्कार कार्यक्रम गरेको छ । साक्षत्कार कार्यक्रममा रिपोर्टर्स क्लबका सभापति ऋषि धमलाले नेताहरुले जनतालाई अवमूल्यान गर्न नहुने बताए । 

    उनले नेपालका नेताहरुले बंगलादेशको घटनाबाट पाठ सिक्नुपर्ने र इमानदार भएर देश र जनताको पक्षमा काम गर्नुको विकल्प नरहेको बताए । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई देश र जनताको पक्षमा काम गर्ने मौका रहेको पनि उनले बताए । उनले जनतालाई डेलिभरी दिनसक्ने गरी काम गर्न सरकारलाई आग्रह गरे । 

    ‘अहिले कांग्रेस–एमालेलाई मौका आएको छ । दुई तिहाइ बहुमतको सरकार छ । केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुन्छ । कांग्रेसका सभापति शेरबहादुर देउवा सारथी हुनुहुन्छ । सरकारले जनतालाई डेलिभरी दिनुपर्यो । जनताको माग सम्बोधन गर्नुपर्यो,’– उनले भने । 

    साथै, अहिले राजनीतिक दल र नेताहरुले समानुपातिकको नाममा नातागोता, सालासाली र आफ्ना मान्छेलाई सांसद बनाउने गरेको धमलाले टिप्पणी गरे । अब योग्य मान्छेलाई समानुपातिकमा मौका दिनुपर्ने उनको भनाइ छ । 

    उनले प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै भ्रष्टाचारीलाई कारबाही गर्न खुट्टा नकमाउन अनुरोध गरे । उनले भ्रष्टाचारी जुनसुकै दलको भएपनि कारबाहीको दायरामा ल्याएर इतिहासमा नाम लेखाउन आग्रह गरे । 

    राजनीतिक विश्लेषक, प्रा.डा. सुरेन्द्र केसीले नेपाली जनताले बंगलादेशको स्थिति नेपालमा चाँडै आओस् भनेर अपेक्षा गरिरहेको टिप्पणी गरे । प्रा.डा. केसीले आफूले भने बंगलादेशको घटनालाई उत्साहको रुपमा नलिएको बताए । 

    ‘अब नेपालमा बंगलादेशमा घटेको घटनाको असर कुन रुपमा आउने होला ? भन्ने धेरैको जिज्ञासा देखियो । कतिको त अपेक्षा नै चाँडोभन्दा चाँडो त्यस्तै भइहालोस् भन्ने छ । मेरो विचारमा यो उत्साहप्रद कुरा किमार्थ होईन,’– उनले भने । 

    बंगलादेशमा शेख हसिनाको शासकीय शैली विगतदेखि नै आलोचित रहँदै आएको उनको भनाइ छ । हसिनाले पारिवारिक विरासतमा उक्त जिम्मेवारी पाएको उनले टिप्पणी गरे । 

    आफ्नो कार्यकालमा उल्लेख्य राम्रा उपलब्धी हासिल गर्न सकेको, राम्रा सडकहरु बनेको, मुलुकको उत्पादन र उत्पादकत्वको रुझानलाई अभूतपूर्व रुपमा विकास गरेको भएपनि हसिना निरङ्कुश शासक बन्दा अहिलेको परिस्थिति आएको उनको भनाइ छ । 

    साथै, हसिनाको कूटनीतिका दृष्टि भारततर्फ झुक्दा बंगलादेशका कट्टरपन्थीहरुलाई राम्रो नलागेको पनि उनले बताए । प्रा.डा केसीले अब नेपाली जनताले पनि आफूलाई परिमार्जन गर्न जरुरी रहेको बताए । 

    उनले नेताहरुले के–का लागि राजनीति गरेका रहेछन् ? भन्ने कुरा प्रष्ट भइरहेको बताउँदै जनताले चाँडै बंगलादेशको जस्तो उथलपुथल चाहेको दाबी गरे । तर, उनले त्यस्तो प्रकारको जनभावनालाई ‘उत्तेजक दृष्टिकोण’ को संज्ञा दिए । नेपालीहरुले बंगलादेशको जस्तै दुर्घटना ननिम्त्यिाएर त्यसबाट पाठ सिक्नुपर्ने उनको सुझाव छ । 

    ‘अब हामीले पनि आफूलाई परिमार्जन गर्न जरुरी छ । किनभने हामीले धरै कुरा देख्यौं नि त । नेताहरुले के–का लागि राजनीति गरेको रहेछ ? के–का लागि बलीवेदीमा चढाइएको रहेछ भन्ने कुरा त हामीले राम्रोसँग देख्यौं नि,’ उनले भने, ‘नेताहरुले राजनीतिलाई ब्राण्डिङ गरेर उद्योग गरेको रहेछन् भन्ने कुरा त नाङ्गो भइसक्यो । त्यही भएर नेपाली जनता पनि चाँडै बंगलादेशको जस्तो हुनपर्यो, नेताहरुलाई कुट्न पर्यो भन्न थालेका छन् । मैले देख्दा यो अलि उत्तेजक दृष्टिकोण हुन्छ । त्यो कुरा होईन, बंगलादेशबाट हामीले सिक्ने हो ।’ 

    बंगलादेशका लागि पूर्व नेपाली राजदूत डा.वंशिधर मिश्रले शेख हसिनाले बंगलादेशलाई चमत्कारिक विकासको गतिमा आगडि बढाएको बताए । हसिनाको शासन कालमा कंगाल देशबाट बंगलादेश विकसित देशतर्फ अगाडि बढेको उनको दाबी छ । ‘विकासको दृष्टिले बंगलादेश पहिलोको जस्तो छैन । शेख हसिनाले छोटो समयमा नै धेरै परिवर्तन गरिन् । उनी आफैं पनि बलिदानी परिवारको छोरी हुन्,’– मिश्रले भने । 

    साथै, केही बंगलादेशीामा रहेको हिंसाको प्रवृत्ति, संस्कृति र बदलाको भावनाले अहिलेको घटना घट्न पुगेको उनको दाबी छ । उनले आरक्षणको कारणले अहिलेको घटना नभएको दाबी गरे । ‘यो कुनै आरक्षण र युवा विद्यार्थीको कारणले भएको घटना होईन । विद्यार्थी निहुँ भए,’– उनले भने ।

    हसिनाको पालामा बंगलादेशले मुहार फेरेपनि उनी उत्तिकै निरङ्कुश बन्दै गएको मिश्रको आरोप छ । बंगलादेशमा हसिनाको शासनकालमा अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको गुञ्जायस नै नरहेको बताए ।  सरकारको विरुद्धमा लेख्नेहरु बेपत्ता बनाइने र महिनौंपछि लाश फेला पर्ने जस्ता घटना बंगलादेशमा भइरहेने उनले बताए । 

    ‘बंगलादेशमा चमत्कारिक विकास पनि भयो, रोजगारीका अवसरहरु सिर्जना भए । भोकमरीमा रहेका १८ करोड जनतालाई खुवाउने स्थिति पनि बनाए । अर्कोतिर बोल्न, लेख्न पाउने स्वतन्त्रता छैन, जुन मिडिया थोरै बोल्थ्यो, बेपत्ता हुन्थ्यो । एक महिनापछि मृत अवस्थामा फेला पर्ने, कोही त फर्किँदै नफर्किने । मोहम्मद युनिस नोबेल पुरस्कार बिजेता, उहाँ त गौरव हो नि । उनले पनि थुनामा जानुपर्ने भयो । वुद्धिजिवी निसास्सिएर बस्नुपर्ने भयो,’– उनले भने । 

    साथै, बंगलादेशको सबै क्षेत्रमा भ्रष्टाचार व्याप्त रहेको उनले सुनाए । नेपाली विद्यार्थी बंगलादेश अध्ययनको क्रममा जाँदा एयरपोर्टदेखि नै पीडित हुनुपरेको उनले सुनाए । सन् २००९ मा सत्तारोहण भएपछि हसिना निरङ्कुश शासक बन्दै गएको उनको आरोप छ । उनले हसिनाको सत्तारोहणपछि बंगलादेशमा भएका तीन वटा निर्वाचन केवल औपचारिकतामात्रै रहेको बताए । ‘बंगलादेशको तीन वटा चुनाव सन् २०१४, २०१९ र २०२४ को चुनाव चुनाव नै होईन,’– उनले भने । 

    साथै, नेपालमा राजनीतिक परिवर्तन भएपनि आर्थिक–सामाजिक परिवर्तन हुन नसकेको उनको भनाइ छ । मिश्रले नेपालका नेताहरु एकदमै पाखण्डी बनेको, एकथोक बोलेर अर्कोथोक गरेको आरोप लगाए । 

    बंगलादेशको घटनाबाट पाठ सिकेर अब नेपालका नेताहरुले जनताले चाहेको सुशासनको कुरालाई बिर्सन नहुने उनको भनाइ छ । जनतालाई दिएको वचन, वाचा र जल्दाबल्दा समस्यालाई सम्बोधन गर्नेगरी नेताहरुले आफूलाई करेक्सन गर्न आवश्यक रहेको उनले बताए । 

    ‘हाम्रोमा राजनीतिक परिवर्तन त भयो । तर, आर्थिक–सामाजिक परिवर्तन भएन । नेताहरु पाखण्डी भए । बोल्ने एकथोक, गर्ने अर्कोथोक,’– उनले भने । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार