काठमाडौँ / नेपाल राष्ट्र बैंकले असार २०८१ सम्मको मासिक भुक्तानी प्रणाली सूचकांक सार्वजनिक गरेको छ । जसमा नेपालमा डिजिटल भुक्तानीको प्रचलनमा उल्लेखनीय वृद्धि भएको छ।
राष्ट्र बैंकको तथ्याङअनुसार, मोबाइल वालेट, इन्टरनेट बैंकिङ, डेबिट कार्ड, र कनेक्ट आईपीएस जस्ता डिजिटल भुक्तानीका माध्यमहरूको प्रयोगमा तीव्र वृद्धि भएको छ।
मोबाइल वालेटको प्रयोगमा पनि उल्लेखनीय वृद्धि भएको छ। असार २०८० मा २० करोड ८ लाखभन्दा बढी कारोबार भएकोमा, असार २०८१ मा यो संख्या ५०.२१ प्रतिशतले बढेर ३१ करोड २ लाखभन्दा बढी पुगेको छ।
कुल रकममा पनि ५३.९९ प्रतिशतले वृद्धि भई ३१ अर्ब ३० करोड २० लाख रुपैयाँ पुगेको छ। यो डेटाले मोबाइल वालेटको बढ्दो लोकप्रियता र यसको सहज प्रयोगबाट डिजिटल भुक्तानीको प्रवृत्ति कसरी बढिरहेको छ भन्ने देखाउँछ।
२०८१ असारसम्म आरटीजीएस प्रणालीमा कारोबार रकम ११६.२८ प्रतिशतले बढेर ६४ खर्ब ५१ अर्ब १६ करोड १० लाख रुपैयाँ पुगेको छ, जुन विगत वर्ष २०८० को असार महिनामा २९ खर्ब ८३ अर्ब ९३ करोड रुपैयाँ थियो। यसले ठूलो परिमाणमा धनराशि ट्रान्सफर गर्ने प्रविधिको उपयोगमा बृद्धि भएको संकेत गर्छ।
क्युआर मा आधारित भुक्तानीमा पनि उल्लेखनीय वृद्धि देखिएको छ। क्युआर को माध्यमबाट भएको कारोबारको संख्या ११३.२० प्रतिशतले बढेर २ करोड ८ लाख २५ हजार नाघेको छ भने कुल कारोबार रकम १०४.७७ प्रतिशतले बढेर ६१ अर्ब ७३ करोड ७० लाख रुपैयाँ पुगेको छ। यसले नेपाली बजारमा क्युआर कोड मार्फत भुक्तानी गर्ने चलनमा बढोत्तरी भएको देखाउँछ।
यस्तै, मोबाइल बैंकिङले पनि उच्च बृद्धि हासिल गरेको छ, जहाँ कारोबारको संख्या ५८.०३ प्रतिशतले बढेर ४५ करोड ६ लाख नाघेको छ भने कुल रकम ६०.१६ प्रतिशतले बढेर ३ खर्ब ७३ अर्ब ९७ करोड ८० लाख रुपैयाँ पुगेको छ।
E-Commerce मा पनि गत वर्षको तुलनामा ५४.४३ प्रतिशतले कारोबारको संख्या र ५०.९१ प्रतिशतले कुल रकममा बृद्धि भएको छ, जसले नेपालको E-Commerce बजारमा नयाँ उचाई हासिल भएको देखाउँछ।
एटीएम कार्ड प्रयोगबाट भएको नगद निकासीमा पनि वृद्धि देखिएको छ। असार २०८० मा ११ करोड ४२ हजारभन्दा बढी कारोबार भएकोमा, असार २०८१ मा यो संख्या १.५८ प्रतिशतले बढेर ११ करोड २ लाखभन्दा बढी पुगेको छ।
कुल रकममा पनि ४.९४ प्रतिशतले वृद्धि भई ९१ अर्ब २६ करोड १० लाख रुपैयाँ पुगेको छ। यो डेटा एटीएम (ATM) कार्ड मार्फत नगद निकासी गर्ने चलन अझै पनि प्रचलनमा रहेको देखाउँछ, यद्यपि डिजिटल भुक्तानी प्रणालीमा पनि उल्लेखनीय वृद्धि भएको छ।
यो बढ्दो लोकप्रियताले डिजिटल भुक्तानीको प्रयोगमा आएको परिवर्तनलाई अंगिकार गरेको छ, जसमा स्मार्टफोनको प्रयोगमा वृद्धि, सरकारको डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने नीति, र बैंक तथा वित्तीय संस्थाहरूले प्रदान गर्ने डिजिटल सेवाहरूमा सुधार जस्ता कारणहरू प्रमुख रहेका छन्।
डिजिटल भुक्तानीले नगदको प्रयोग घटाउने, पारदर्शिता बढाउने, र आर्थिक कारोबारलाई सहज बनाउने जस्ता महत्त्वपूर्ण फाइदाहरू प्रदान गर्दछ।
नेपाल राष्ट्र बैंकले आगामी दिनहरूमा डिजिटल भुक्तानी प्रणालीलाई अझ सुदृढ बनाउने र यसको पहुँचलाई देशव्यापी रूपमा विस्तार गर्ने लक्ष्य राखेको छ। यसले नेपालको अर्थतन्त्रलाई डिजिटल अर्थतन्त्रतर्फ उन्मुख गर्न मद्दत गर्नुका साथै बैंकिङ प्रणालीको डिजिटल भुक्तानी उत्साहजनक सुरुवातकाे थालनी हुने अपेक्षा गिरएकाे छ ।
डिजिटल भुक्तानी प्रणालीको उपयोगमा भएको यो वृद्धि नेपालमा नगद रहित कारोबारको वृद्धि र यसको प्रभावकारिता तर्फको सकारात्मक संकेत हो ।