काठमाडौँ / नेपाल धितोपत्र बोर्ड (सेबोन)मा नयाँ अध्यक्ष नियुक्तिँगै बुधबार नेप्से परिसूचक उकालो लागेको छ । नियामक निकाय सेबनले अध्यक्ष पाएसँगै लगानीकर्ताहरू उत्साहित हुँदा आज बजार उच्च अङ्कले उकालो लागेको हो ।
परिसूचक १.४६ प्रतिशतले बढेर आज २ हजार ७ सय ५६.३६ बिन्दुमा उक्लिएको छ । आज ठूला कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत ३.३१ प्रतिशतले बढेर ४ सय ८०.८९ बिन्दुमा उक्लिएको छ ।
बजार बढेसँगै आज कारोबार रकम समेत बृद्धि भएको छ । यो दिन कारोबार रकम ९ अर्ब ३१ करोड २९ लाख ३४ हजार रुपैयाँ नाघेको हो । बुधबार ३१६ ओटा कम्पनीको १ करोड ७१ लाख ८३ हजार ८५४ कित्ता सेयर ८९ हजार पटकमा खरिद बिक्री भएको छ । बजारमा उत्साहजक बृद्धिसँगै आज बजार पुँजीकरण रकम पनि ४५ खर्ब ७० अर्ब १३ करोड ६३ लाख रुपैयाँ नाघेको छ ।
व्यापार समूहका लगानीकर्ता मालामाल
बुधबार वित्त समूहबाहेकका सबै समूहको परिसूचकमा हरियाली छाएको छ । यो दिन सर्वाधिक बढी वित्त समूहको परिसूचक ९.२७ प्रतिशतले बढेको छ भने विकास बैंकको ३.१८ प्रतिशत, जीवन बिमाको २.८१ प्रतिशत, हाइड्रो पावरको १.६७ प्रतिशत, होटल्स तथा पर्यटन समूहको १.४४ प्रतिशत र निर्जीबन बिमा समूहको परिसूचक १.१८ प्रतिशतले उकालो लागेको छ ।
यसैगरी, लघुवित्त समूहको परिसूचक ०.९६ प्रतिशत, बेंकिङ उपसूहको ०.३१ प्रतिशत, लगानी समूहको ०.७९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ०.६३ प्रतिशत र म्यचुअल फण्डको ०.०९ प्रतिशतले बढेको छ ।
सात कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बृद्धि
बुधबार सातओटा कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बृद्धि भएको छ । आज विशाल बजार कम्पनी, कर्णाली डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सर्पोट माइक्रोफाइनान्स, सप्तकोशाी विकास बैंक र मानुषी लघुवित्तको सेयर मूल्यमा पोजेटिभि सर्किट लागेको हो ।
त्यस्तै, ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि आज ९.९९ प्रतिशतले बढेको छ भने सुपरमादी हाइड्रोपावर र लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)को सेयर मूल्य पनि आज ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको देखिन्छ ।
यता, मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने आज नेगेटिभ सर्किट लागेको छ । प्रतिकित्ता १९६ रुपैयाँले घटेर यो कम्पनीको सेयर मूल्य १ हजार ७ सय ६४ रुपैयाँमा झरेको हो ।
बुधबारको कारोबार रकममा सबैभन्दा बढी हिस्सा जानकी फाइनान्सको रहेको छ । यो कम्पनीको ३४ करोड १ लाख १२ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ३३ करोड १६ लाख ३९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।